इटहरीमा आगलागी, एक जनाको मृत्यु
गएराति इटहरी-६ स्थित बीपी चोकमा आगलागी हुँदा घरभित्रै जलेर एक जनाको ज्यान गएको छ।
शनिबार राति ११:४५ बजे घरमा आगलागी हुँदा ५२ वर्षीया गोपीमाया कटवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय, इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीले बताए। सुतेको अवस्थामा आगलागी भएकाले उनको ज्यान गएको चौधरीको भनाइ छ।
सँगै रहेको पूजाकोठाबाट आगो सल्केको हुन सक्ने प्रहरीको अनुमान छ। आगलागीको कारण खुल्न नसकेको चौधरीले बताए। मृतक कटवालको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
छोराबुहारी छेउको कोठामा सुतेका थिए। आमा एक्लै कोठामा सुतेको र भित्रबाट चुकुल लगाएकाले पनि तत्काल बचाउन नसकिएको देखिएको प्रहरी निरीक्षक चौधरीले बताए। कोठामा रहेका लत्ताकपडा, सरसामान पनि जलेका छन्।
मध्यराति आगलागी भएका कारण प्रहरीले ढिलो गरी मात्रै जानकारी पाएको जनाइएको छ। राति नै दमकलले आगो नियन्त्रणमा लिएकाले अन्य घर जोगिएको उनको भनाइ छ।