गण्डकीका ७४ कलाकारका कलाकृति प्रदर्शनीमा
पोखरामा शुरू भएको ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ मा सबै जिल्लाका कलाकारका कलाकृति राखिएका छन्।
पोखराको नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र गण्डकी प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा प्रदर्शनी शुरू भएको हो। सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा शुरू भएको प्रदर्शनी फागुन २३ गतेसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटा जिल्लाका कलाकारका ७४ वटा कला प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले बताए। हरेक दिन बिहान ११ देखि साँझ ६ बजेसम्म कलाकृति अवलोकन गर्न सकिनेछ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानको काम व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको बताए। “हामी आएपछि परम्परागत शैलीमा सञ्चालन हुँदै आएका कामकारबाहीलाई थप व्यवस्थित बनाउन लागेका छौं,” उपकुलपति लामाले भने, “‘जाति-जनजातिको कला आज हामी देख्न पाउँदैनौं, केही अपवाद बाहेक घरभित्र थन्किएको छ। समुदायमा थन्किएको छ। सुषुप्त हुन थालेको छ। त्यसलाई पुनर्जागरण गर्ने भनेका छौं।”
प्रदेश हुँदै स्थानीय तहसम्म पुग्ने तयारी रहेको उनले बताए। उपकुलपति लामाले भने, “स्थानीय कला प्रदेश हुँदै केन्द्र र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने तथा अन्तर्राष्ट्रियबाट केन्द्र हुँदै प्रदेश अनि स्थानीय तहमा ल्याउनेछौं।”
प्रादेशिक प्रदर्शनीमा सामेल ललितकलालाई पुरस्कार समेत प्रदान गरिने गण्डकी प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव श्रेष्ठले बताए। प्रदर्शनीमा उत्कृष्ट हुने एक जनालाई ५० हजार पुरस्कार प्रदान गरिनेछ।
चित्रकलातर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला-हस्तकला, विद्यार्थी ललितकला विधामा पनि पुरस्कारको व्यवस्था गरिएको सदस्यसचिव श्रेष्ठले बताए।
प्रदर्शनी मार्फत छानिएका चित्रलाई २०८१ जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराइनेछ। राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट कलालाई एक लाख नगद र विधागत उत्कृष्टलाई ६० हजार नगद पुरस्कारको व्यवस्था गरिनेछ। राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिस्पर्धा हुनेछ।