संघीयता विरोधीलाई उत्कृष्ट काम गरेर जवाफ दिनुपर्छ : दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय प्रणालीमा प्रदेश संरचना संघ र स्थानीय सरकारलाई जोड्ने महत्त्वपूर्ण सम्बन्ध सेतु भएको बताएका छन्।
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्रदेश बलियो भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र समुन्नत बनाउन सकिनेमा जोड दिए। संघीयताका नवीन र असल अभ्यासहरूको अनुकरण र अवलम्बन गर्नुपर्ने बताउँदै दाहालले भने, “नेपालको संघीयता अभ्यास उदाहरणीय बनाउनुपर्छ, त्यसका लागि हामी सबैले अन्तरमनदेखि नै संकल्प गर्न जरूरी छ।”
लुम्बिनी प्रदेशले विकास, समन्वय, सहकार्य लगायत विषयमा गरेको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयन र सेवा प्रवाहका दृष्टिले अझै परिश्रम गर्नुपर्नेमा जोड दिए। “आगामी दिनमा संघीयता कार्यान्वयन, विकास र समृद्धि एवं सेवा प्रवाहका दृष्टिले उत्कृष्ट काम गरेर संघीयता विरोधीहरूलाई व्यवहारले जवाफ दिनुपर्छ,” उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रले अथाह सम्भावना दिएको छ, त्यसलाई अवसरमा बदलेर मात्रै व्यवस्था विरोधीहरूका षड्यन्त्र निस्तेज पार्नुछ। यसका निम्ति सबैले साझा, समन्वयात्मक र सकारात्मक योगदान गरौं।”
प्रधानमन्त्रीले संविधान निर्माणको आठ वर्ष पूरा हुँदा समेत संघीयता कार्यान्वयनमा रुचि नदेखाउने, वित्तीय र प्रशासनिक अधिकारको हस्तान्तरण गर्न नचाहने प्रवृत्ति अहिले पनि विद्यमान रहेको बताए। आफू त्यसलाई तोड्न लगातार लागिरहेको उनको भनाइ थियो।
प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, कथंकदाचित् दिइहालेमा पनि सशर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान रहेको उल्लेख गर्दै उनले यस पटक त्यस्तो सोच र परम्परा तोड्ने बताए। अब रु. तीन करोडभन्दा साना योजनाहरू सीधै प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिने बताए।
संघीय कानूनहरू निर्माणमा सरकार लागिरहेको बताउँदै दाहालले भने, “संघीय शिक्षा ऐनको मस्यौदा संसद्मा प्रस्तुत भइसकेको छ। संघीय निजामती सेवा ऐन दर्ताको प्रक्रियामा छ। प्रहरी ऐन लगायत अन्य ऐनहरू पनि छिटै संसद्मा प्रस्तुत हुँदै छन्।”
विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलनको नेतृत्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रदेश सरकारले राम्रो काम गरेर देखाउनुपर्ने बताए।