शानदार जितसँगै नेपाल फाइनलमा
नेपालले नेदरल्यान्ड्स विरुद्ध शानदार जित हासिल गर्दै फाइनलको यात्रा तय गरेको छ।
त्रिदेशीय टी-२० शृंखला अन्तर्गत शनिबार त्रिवि मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको हो। नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा १४.२ ओभरमै सजिलै पूरा गरेको हो।
नेपालका लागि रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२, आसिफ शेखले आठ, दीपेन्द्रसिंह ऐरीले चार र कुशल मल्लले दुई रन बनाए।
नेदरल्यान्ड्सका लागि भिभियन किंमाले तीन र आर्यन दत्तले एक विकेट लिए। अन्य बलरले राम्रो प्रदर्शन गर्न सकेनन्।
यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा १२० रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि म्याक्स उडले ३१, टिम भानले २४, रिलोफ भानले २३ र स्कट इडवार्डस् १८ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपाली बलरले शुरूआतदेखि नै नेदरल्यान्ड्सलाई दबाबमा राखे। करण केसीले पहिलो ओभरमै दुई विकेट लिए। त्यस्तै, प्रतिश जीसीले तीन, कुशल मल्लले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। नेदरल्यान्ड्सका दुई खेलाडी रन आउट भए।
यो जितसँगै नेपालकाे पनि चार अंक जोडेको छ भने रनरेटमा पनि सुधार भएको छ। रनरेट सुध्रिएसँगै नेपाल फाइनलमा पुगेको हो।
अहिले नेदरल्यान्ड्सको चार अंक नै छ। रनरेटका आधारमा नेदरल्यान्ड्स शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।
नामिबियाकाे भने दुई अंक छ। नेदरल्यान्ड्सको रनरेट ०.३१०, नेपालको ०.२९३ र नामिबियाको माइनस ०.७०० छ।
समूह चरणको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्स र नामिबिया भिड्नेछन्। नेदरल्यान्ड्सले जितेमा फाइनलमा पुग्नेछ भने नामिबियाले जितेमा रनरेटका आधारमा फाइनल पुग्ने टोली तय हुनेछ।
अंकतालिकाको शीर्षस्थानमा रहेका दुई टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
*फाइनलमा प्रवेश हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।