अनिशले जिते खुला म्याराथनको उपाधि (तस्वीरहरू)
पर्वतका अनिश थापा मगरले प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको उपाधि जितेका छन्।
महाशिवरात्रि तथा नेपाली सेनाको २६१औं स्थापना दिवसका अवसरमा आयोजित खुला म्याराथन प्रतियोगितामा मगर प्रथम भएका हुन्। उनले दुई घण्टा २२ मिनेट ५९ सेकेन्डमा ४२.१९५ किलोमिटर दूरी पूरा गर्दै तीन लाख रुपैयाँ नगद र यामाहाको मोटरसाइकल पुरस्कार पाएका छन्।
त्यस्तै, सशस्त्र प्रहरी बलका सहायक प्रहरी हवल्दार किरणसिंह बोगटी दुई घण्टा २३ मिनेट १५ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भएका छन्। उनले दुई लाख रुपैयाँ नगद पुरस्कार पाएका छन्।
नेपाली सेनाका प्युठ राजन रोकाया तेस्रो भएका छन्। दुई घण्टा २४ मिनेट २६ सेकेन्डमा दूरी पूरा गर्दै उनले एक लाख रुपैयाँ नगद पुरस्कार पाएका छन्।
यसैगरी २१ किलोमिटरको महिलातर्फ हाफ म्याराथनमा धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भएकी छन्। उनले एक घण्टा १६ मिनेट २२ सेकेन्डमा दूरी पूरा गर्दै स्कूटर र २५ हजार रुपैयाँ पुरस्कार पाएकी छन्।
यस्तै, नेपाल प्रहरी क्लबकी राममाया बुढा एक घण्टा १७ मिनेट २६ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भएकी छन्। उनले ६० हजार रुपैयाँ नगद पुरस्कार पाएकी छन्।
नेपाल प्रहरी क्लबकै राजपुरा पछाईं एक घण्टा १९ मिनेट ३७ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भएकी छन्। उनले ३५ हजार रुपैयाँ नगद पुरस्कार पाएकी छन्।
वार्षिकोत्सवको अवसरमा शनिबार नेपाली सेनाले विभिन्न प्रतियोगिता गरेको थियो। त्यसमा विजयी खेलाडीलाई प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, रक्षासचिव किरणराज शर्मा, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, महारथी राजेन्द्र क्षत्री, बलाधिकृत रथी अशोकराज सिग्देल, काठमाडौं महानगरका सहायक निर्देशक अनिता श्रेष्ठ र एमएडब्लू राइड्स प्रालिका महाप्रबन्धक दीपक रौनियारले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन्।