जब घरले नै खेद्छ
‘जीवनमा पहिलो चोटि म आफ्ना छोराछोरीको मायाले रोएँ। आफू पराजित भएको अनुभव गरें। यहाँभन्दा उँभो चढ्न सिंढी छैन। टेक्ने अखेटो छैन, समाउने हाँगा छैन।’
महाकालीपारि भारतको उत्तराखण्ड विशेष गरेर कुमाउँ र गढवालका बासिन्दाले देउडा नाच जनाउन झोडा शब्दको प्रयोग गर्दा रहेछन्। झोडाबारे गूगलमा भेटिएको सूचना यति मात्र हो।
पूर्वी नेपालमा भने प्रचलित शब्द हो, झोडा। यही शीर्षकको नाटक हेरियो गत साता काठमाडौंस्थित शिल्पी नाटकघरमा। इलामस्थित चुलाचुली रंगमञ्चको यो प्रस्तुति पूर्वमा मञ्चनपछि राजधानीमा भित्रिएको हो।
नाटकघरमा वितरित ब्रोसरबाट थाहा लाग्यो- यो नाटकको कथाको आधारशिला रहेछ, गणेश रसिकको उपन्यास आकाशगंगाको ओतमुनि। नाम मात्र सुनेका तर नाटक नहेरेका केही साथीले सोधे, “के रहेछ झोडा भनेको?”
झोडा नबुझ्ने नेपाली जमात ठूलै छ। अझ अंग्रेजीमा अभ्यस्त शहरी युवापुस्ता त यसबारे अनभिज्ञ रहनु अस्वाभाविक भएन। नाटक हेरेर फर्केको साँझ रसिकको उपन्यास फेरि पल्टाएँ।
उपन्यासमा पात्र मार्फत रसिक भन्छन्, ‘झोडा भनेको पहिलाको चारकोसे झाडी। झोडा भनेको सखुवाको ठूला ठूला मान्छे छिर्न नसकिने बाक्लो जंगल। जंगलमा मान्छे पसेपछि त्यो झोडा। जंगलको सखुवाको छायामा उम्रिएको मकै, तोरी, सनपाट, धानको बोट, उम्रिएपछि त्यो जमीन झोडा।’
छलफलका क्रममा झोडाको ऐतिहासिक पक्ष खुलाउँदै निर्देशक तथा परिकल्पनाकार चेतन आङ्थुपो थप्छन्, “पूर्वी मधेशमा बस्ने आदिवासी धिमालले जंगललाई झार भन्छन्। धिमाल भाषामा दुई खोलाबीच फैलिएको जंगललाई झोरा भनिने रहेछ। त्यहीं झोरा शब्दबाट अपभ्रंश हुँदै झोडा बन्न पुगेको हुनुपर्छ।”
उपन्यासको प्रारम्भमै एउटा घतलाग्दो कथानक भेटिन्छ, ‘मान्छे त्यस्तो जात हो, त्यसलाई मरुभूमिमा फालिदिए पनि त्यहीं उम्रिन्छ। हिउँमा फालिदिए पनि त्यहीं झाँगिन्छ। निर्जन जंगलमा फालिदिए पनि त्यहीं फल्छ।’
बहुत सटीक लाग्छ यो सन्दर्भ। प्रतिकूलतामा मान्छे बाँचेकै छ। राणाकालमा मासिन्यामा वर्गीकरण गरेर मासिदिए पनि हुन्छ भन्ने सोच राखी चरम दमन र हत्या गरियो, तामाङ लगायत केही जातिलाई। तर आततायी यो शृंखला झेलेर पनि अस्तित्वमा रहिरहे उनीहरू।
खोरिया फाँडेर बसोबास गर्न पहाडबाट औल झरेकाहरू पनि औलो, अभाव, गर्मी, सर्पबिच्छी, हात्ती, बाघ, भालु लगायत जंगली जनावरको डर, प्रहरी, प्रशासनको दमनका बावजूद बाँच्न सफल भए। सोमाली मूलकी बेलायती कवि वार्सन सिरेको कविता ‘घर’ ले भने झैं- ‘कसैले पनि आफ्नो घर छाड्दैन, घरैले नखेदेसम्म।’
गरीबीले पहाडबाट नखेदेको भए अनिश्चित भविष्य र भूगोलमा विचरण गर्ने थिएनन् होला, मान्छेहरू। गरीबीबाट खेदिएकाहरूले तराईका घना जंगल फाँड्न थाले, नयाँ आवादी र बसोबास गर्न थाले।
किन बसाइँ जाने? ‘धानको भात खान,’ कथावाचक पात्र भन्छ, ‘परिवारलाई सुखसँग पाल्न र केटाकेटीको भविष्य बनाउन।’
यही आशाले उनीहरू झोडा फाँड्ने काममा संलग्न रहे। उपन्यास बडो दृश्यात्मक पाराले लेखिएको छ। घटनाले व्यथित बनाउँछ। झोडामा पुगेकाहरू जसोतसो बसोबासको जोहो गर्छन् तर प्रहरी प्रशासन आएर उनीहरूको छाप्रो भत्काइदिन्छ, आगो झोसिदिन्छ। पुरुषलाई समातेर जेल पुर्याइन्छ, हत्या गरिन्छ।
यता, नाबालक छोराछोरी लिएर गृहिणीहरू असुरक्षित रात काट्न बाध्य हुन्छन् भोकभोकै, चिन्तासुर्तामा। यस्तै हतास मनोदशा दर्शाएका छन् उपन्यासकार रसिकले, ‘आगो र धुवाँको तुवाँलोले पँखेटा फिंजाएर छपक्क छोपेको छ झोडालाई। जीवनमा पहिलो चोटि म आफ्ना छोराछोरीको मायाले रोएँ। आफू पराजित भएको अनुभव गरें। यहाँभन्दा उँभो चढ्न सिंढी छैन। टेक्ने अखेटो छैन, समाउने हाँगा छैन।’
झोडा नयाँ सपनाको संसार थियो। चुनौतीको संसार त छँदै थियो। अनि झोडा विद्रोहको संसार पनि थियो। ‘झोडा भनेको साँचो अर्थमा अहिले सुतेको बाघ हो,’ बिम्बमा बोल्छन् एक पात्र।
आफ्नो जमीन वैधानिक बन्ने आशमा स्थानीय सरकारका भरौटेहरूलाई रकम दिन बाध्य थिए झोडा फाँडी बस्नेहरू। झोडामा शिक्षकहरूको संलग्नता देखाइएको छ, गाउँलेहरूलाई सचेत बनाउन। त्यही सचेतना बढेपछि उनीहरू महसूस गर्छन्, ‘झोडा भनेको हामी जस्ता निमुखा जनताका लागि बाँच्ने थलो हो भने हाम्रा आदरणीय नेताजीहरूका लागि दुहुनो गाई हो।’
अनि त प्रहरी-प्रशासनका उर्दी र आदेशलाई अवज्ञा गर्न थाल्छन्, उनीहरू। यही क्रममा शिक्षक लगायत झोडावासीलाई ‘अराष्ट्रिय’ तत्त्व भनेर निशाना बनाइन्छ। यसरी हेर्दा झोडा परिवर्तनको पुञ्ज पनि देखिन्छ। कालान्तरमा झोडाहरू पनि पञ्चायत व्यवस्था विरुद्धको विद्रोहका भावभूमि बने।
झोडामै किशोरावस्थासम्म रहेकी थिइन्, तारा उदासी न्यौपाने। “झोडामा सबैका पीडा थिए। त्यसमा पनि घरमूली साथमा नहुँदा महिला र बालबालिका डरत्रास र असुरक्षामा हरदम अधमरा बाँचिरहेका हुन्थे,” न्यौपाने भन्छिन्, “यी कैरन सुनाउँदा अहिले मेरा आफ्नै नानीहरू पत्याउँदैनन्।”
अढाई दशक पहिले कामको सिलसिलामा केही वर्ष इलाममा रहँदा घरबेटी दिदीले गाउने एउटा गीत सम्झन्छु यतिखेर, ‘मैले पनि चिनेको छु हाम्रो घर भत्काउनेलाई, हात्ती लगाई कुल्चाएर हाम्रो बास उठाउनेलाई।’ अहिले गम्दा त्यो झोडावासीकै पीडा जस्तो लाग्यो।
झोडामा बस्नेहरूले प्रहरी-प्रशासनबाट पाएको सास्तीको एउटा पाटो प्रतीत हुन्छ र रहेछ प्रतिशोधको संकल्प। विद्रोहको थलो बनेको छ झोडा, उपन्यासको अन्त्यतिर। एक पात्र साधु जेठान अठोट लिंदै सुनाउँछन्, ‘अब हामीले सबै त्यागेर आफ्नो मन विचार र संकल्पलाई पहाड जस्तै दह्रो बनाउनुपर्छ, ज्वाइँ। मास्टरहरूले हामीलाई बाँकी कामको नासो छोडेर गए। अब हामीले यो अभियानलाई अगाडि बढाउनुपर्छ। यही झोडाको माटोमा बसौं। यही माटोका निम्ति मरौं।’
उपन्यासमा छोटा र सरल वाक्य छन्। स्थानीय लवज, माझ किराँतको संस्कृति झल्काइएको छ। मेलापर्वका सन्दर्भ र पल्टने चरित्र छन्। पहिले पहिले पल्टनमा गएका लाहुरेलाई नामले भन्दा पल्टनको नम्बरले सम्बोधन गरिन्थ्यो। उपन्यासमा पचपन्ने, छेपन्ने आदि सैनिक पात्रहरूले यो नयाँ पक्ष उजागर गर्छन्। त्यही आधारमा उनीहरूका जहानलाई पचपन्नी, छेपन्नी भनेर डाकिने गरिंदो रहेछ।
यही उपन्यासका दृश्यात्मक घटनाहरूले नाटकमा प्रवेश पाएका छन्। झोडा फाँडी आवादी गरिबस्नेहरूको कथाकहरको आँखीझ्याल हो, यो नाटक। पहाडी लिम्बूका किपट खोसिएको एउटा कष्टकर इतिहास छ। त्यही वेला तराईमा झोडा खुलाइएको रहेछ।
एकै समय घटित यी घटनाको सोझो सम्बन्ध छ। किपट खोसिएर आक्रोशित लिम्बूलाई मत्थर पार्न तराईमा झोडा फाँड्ने विकल्प दिइयो। सरकारी आँखाबाट हेर्दा पहाडका गरीबलाई सहज जीवनयापन गराउन चालिएको कदम देखिन्छ। खोरिया फाँडेर बसोबासका लागि अवसर दिएको देखिन्छ। तर झोडामा पहुँच बढाउनेहरू पनि एकैनासका र एउटै वर्गका मात्र थिएनन्।
तत्कालीन दरबार निकट व्यक्तिहरू अधिकांश मौजा र झोडाका असली हकदार बनेका थिए। सत्ता नजीक रहेका धेरै पूर्व सैनिकहरूले झापा, मोरङ, सुनसरीमा निकै मौजा जोडे। नाटकमाथि गरिएको बहसका क्रममा मानवशास्त्री जनक राई यसरी खोल्दै थिए, झोडाको अन्तर्य।
सुनिन्छ, मोरङको महारानी झोडा लगायत थुप्रै झोडाहरू थिए त्यसवेला। एक झोडा र अर्को झोडालाई छुट्याउन रूख काटेर स्तम्भ जस्तो बनाइन्थ्यो। दुवेढुंगा समेत भनिने यस्ता विभाजन रेखा देख्न सकिन्छ, नाटकघरको प्रवेशद्वारनिर। नाटकभित्र पनि यसको बिम्बात्मक प्रयोग भएको छ।
बाँसका लाठाहरू बजारेर नाचगान मार्फत प्रदर्शन गरिएको छ। विद्रोह र प्रतिशोधको जीवन्त संगम देखिन्छ यसमा। चरा, नदीखोलाको आवाज, हात्ती लगायत जंगली जनावरको आवाजले झोडा फँडानी ताकाको इतिहास मञ्चमा सग्लै उभिएको भान हुन्छ।
उपन्यासले माझ किरातको कथा भन्छ भने नाटकमा लिम्बुवान क्षेत्रको कथा समेटिएको छ। नाटकमा धिमाल जातिको नाचगान, हाटमेला र वेशभूषा समेत देखाइएको छ। यसबाट झोडा फँडानीमा विविध जनजातिहरू एकताबद्ध भएरै संलग्न थिए भन्ने बुझिन्छ।
रसिकको उपन्यास नै झोडाको इतिहास उधिन्ने पहिलो प्रामाणिक आधार बन्यो। झोडाबारे थप बुझ्न भीम लिम्बूको रातो किताबले सघाएको निर्देशक आङ्थुपो सुनाउँछन्। स्थानीय पाकाहरूसँग सोधखोज गरी झोडा नाटक बनेको खुलाउँछन् उनी। सीमित प्रामाणिक स्रोतका बावजूद महत्त्वपूर्ण काम भएको छ। यस नाटकले कलाका अन्य विधामा पनि अरू धेरै काम गर्न ढोका खोलेको छ।
नाटक मञ्चन भइरहँदा शिल्पी थिएटर बाहिर कलाकारहरूले बनाइरहेका विभिन्न क्यानभासमा झोडासँग जोडिएका जग्गाविवाद, संघर्ष आदिका जीवन्त चित्रहरू कोरिएका छन्। जमीनसँग जोडिएका कैयौं संघर्षगाथा छन्। कैयौं दशक बितिसके भूमिसुधारका योजनाहरू लागू भएका। तर भूमिहीन र सुकुम्बासीको समस्या ज्यूँका त्यूँ छ, उनीहरूका नाममा लाउके र राजनीतिक नेतृत्व तथा उच्च ओहोदामा रहेकाहरूले फाइदा उठाइरहेका छन्।
यस विषम परिस्थितिमा झोडा नाटकको प्रदर्शनबाट ओझेलमा परेको एउटा कहरपूर्ण इतिहासको झलक पाएका छौं। पक्कै पनि अब साहित्य, संगीत, सिनेमा, चित्रकला र अन्य माध्यमबाट झोडाको इतिहास अरू उधिनेछन्, इतिहासको गर्तमा दफन भएका अरू रहस्यहरू उद्घाटित हुनेछन्। चिन्तन मन्थनका नयाँ अध्याय खुल्नेछन्, अनि थपिनेछन् अनुसन्धानका अरू आयामहरू क्रमशः।