मनाङ जोड्ने सडक दुई दिन बन्द रहने
हिमालपारिको जिल्ला मनाङलाई जोड्ने बेंसीशहर-चामे सडक दुई दिन बन्द हुने भएको छ।
नासों गाउँपालिका-९, दानाक्यु नजिकै सडक मर्मतका लागि आज दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्म सडक बन्द हुने भएको हो। सडकको ढलान भत्किएर अत्यन्तै जोखिम रहेको र वैकल्पिक सडक नभएकाले मर्मतका क्रममा यातायात पूर्ण रूपमा ठप्प हुने जिल्ला प्रशासन कार्यालय, मनाङले जनाएको छ।
डुम्रे-बेंसीशहर-चामे सडक योजना कार्यालयका इन्जिनीयर सुमन अधिकारीले दानाक्यु नजिकै कल्भर्टको वरिपरि भत्किएको र बाटामा ढुंगा निस्किएकाले मर्मत गर्न लागिएको बताए। सवारीसाधन सञ्चालनमा समस्या हुन थालेपछि मर्मतका लागि सडक नै बन्द गर्नुपरेको अधिकारीले बताए।
नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले दानाक्युमा सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको बताए। विशेष गरी आफ्ना पालिकाका नागरिक र मनाङवासीलाई सडकका कारण धेरै दुःख भएको उनको भनाइ छ। यो स्थानमा रहेको काठेपुल २०७७ असारमा आएको बाढीले बगाएको थियो। त्यसपछि पटक पटक काठेपुल राखे पनि भत्किंदै आएको थियो।
२०७८ चैतमा बेंसीसहर चामे सडक बन्द गरेर कल्भर्ट राखिएको थियो। अहिले कल्भर्ट राखिएको वरिपरि तथा ढलान गरिएको भागमा ढुंगा खसेर भत्किएको छ।
मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली-तनहुँ शाखाले बेंसीशहर-चामे सडक निर्माण अघि बढाएको थियो। नेपाली सेनाले २०६९ सालमा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो। कुल ६५ किलोमिटर सडकमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ।