‘सडक व्यवसायीमाथिको दमन मानव अधिकारको उल्लंघन’
सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था नगरी हटाउन खोज्नु मानव अधिकारको गम्भीर उल्लंघनको भएको अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले बताएका छन्।
काठमाडौं महानगरपालिकाले सडक व्यवसायीमाथि गरेको ज्यादती र बालिका बलात्कार लगायत मानव अधिकार उल्लंघनका घटनामा मानव अधिकारकर्मी तथा नागरिक समाजको भूमिकाबारे शुक्रबार पाटनमा आयोजित छलफल कार्यक्रममा बोल्दै वक्ताहरूले गम्भीर हुनुपर्ने बताएका हुन्। मानव अधिकार उल्लंघनका गम्भीर घटना दिनानुदिन बढिरहेको उल्लेख गर्दै अधिकारकर्मी डा. रेणु अधिकारीले नागरिक समाज जाग्नुपर्नेमा जोड दिइन्।
काठमाडौं महानगरको टोलीले फागुन १६ गते राति सडक व्यवसायीलाई मरणासन्न हुने गरी कुटपिट गरेको थियो। नगर प्रहरीको कुटपिटबाट सडक व्यवसायी गम्भीर घाइते भएका छन्। यस घटनाप्रति अधिकारकर्मीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महानगरले सडक व्यवसायीलाई व्यवस्थापन नगरी विस्थापन गर्न नहुने अधिकारीको भनाइ थियो।
त्यस्तै, मानव अधिकारकर्मी सोम निरौलाले सडक व्यापार बन्द गराउनु गलत भएको बताए। सडक व्यापार बन्द हुँदा व्यवसायीलाई मात्र आर्थिक संकट नभई देशलाई नै घाटा हुने निरौलाको भनाइ थियो।
अर्का वक्ता विदुर सुवेदीले कसैले पनि साना व्यवसायीको गाँस खोस्ने कार्य गर्न नहुने बताए। “महानगर भनेको मेयर बालेन साहको मात्र होइन, सबैको हो,” सुवेदीले भने, “त्यसैले सबैले आफ्नो जीविका चलाउन पाउनुपर्छ। साना व्यवसायीको गाँस खोसिनु हुँदैन।”
मेयर साहको गलत कार्यले थोरै खर्चमा जीविका चलाउनेहरूको जीवन नै असुरक्षित भएको उनको भनाइ थियो। स्थानीय सरकारलाई नभएको अधिकार प्रयोग गरेर दमन भइरहेको सुवेदीको जिकिर थियो। “मेयरको गलत कदम विरुद्ध काठमाडौंका बासिन्दाले आवाज उठाउनुपर्छ,” उनले भने।
नागरिक समाजले आवाज उठाएर सबैलाई जागृत गर्नुपर्नेमा कानून व्यवसायी अनिता न्यौपानेले जोड दिइन्। शहरको विकाससँगै मानव अधिकारको पनि सुरक्षा गरिनुपर्ने न्यौपानेको भनाइ थियो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महानगरको कदम तानाशाही शासन जस्तो भएको औंल्याए। “सडक व्यवसायीलाई हटाउँदै गर्दाको नगर प्रहरीको ज्यादतीलाई नजर अन्दाज गर्नुहुँदैन,” वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, “माइतीघरमा गएर धर्ना बस्न पनि तयार छौं तर सीमान्तीकृत समुदायमाथिको महानगरको दमन सहन सक्दैनौं।”
सडक व्यवसायीलाई दुःख दिने र उनीहरूको गाँस खोस्ने महानगरको कदमको विरुद्ध नागरिक समाज जाग्नुपर्ने सहभागीहरूको भनाइ थियो। उनीहरूले नागरिकमाथि दमन नगर्न महानगरलाई सचेत गराएका छन्। महानगर नसच्चिए सबैले विरोधमा उत्रिनुको विकल्प नभएको उनीहरूको भनाइ थियो।