मोटोपनसँग जुध्दै संसारका एक अर्ब मानिस
विश्व स्वास्थ्य संगठनसँग मिलेर एक हजार ५०० अनुसन्धाताले गरेको अध्ययनमा संसारका एक अर्बभन्दा अधिक मानिसमा मोटोपना रहेको देखिएको छ।
द ल्यान्सेटले सन् २०२२ सम्मको तथ्यांक केलाउने क्रममा विश्वका झन्डै ८८ करोड वयस्क मानिस तथा १६ करोड ९० लाख बालबालिकामा मोटोपनको समस्या रहेको देखिएको हो।
महिलाको हकमा टोंगा र अमेरिकन सामोआमा मोटोपन उच्च देखिन्छ भने पुरुषको हकमा अमेरिकी सामोआ र नाउरु क्षेत्रमा मोटोपन उच्च देखिन्छ, जहाँ लगभग ७० देखि ८० प्रतिशत वयस्कमा मोटोपन रहेको छ। संसारका लगभग १९० देशमा मोटोपनको समस्या देखिएको छ।
वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सञ्जालले मोटोपन नियन्त्रण गर्ने प्रयासमा तत्काल ठूलो परिवर्तनको आवश्यकता रहेको बताएको छ। मोटोपनले हृदय रोग, टाइप-२ मधुमेह र केही क्यान्सरको जोखिम बढाउन सक्ने मात्र नभई कैयौं गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने देखिएको छ।
विश्वव्यापी मोटोपनको दरमा केही तथ्य :
- अमेरिका पुरुषको हकमा १०औं र महिलाको हकमा ३६औं स्थानमा आउँछ।
- भारत महिलाको हकमा १९औं र पुरुषको हकमा २१औं स्थानमा आउँछ।
- चीन महिलाको हकमा ११औं र पुरुषको हकमा ५२औं स्थानमा आउँछ।
स्वस्थ खानाले नै मोटोपन बढेको पाइएको छ। “मोटोपन देखिएका राष्ट्रमध्ये धेरैमा यो अस्वस्थ खानाको तुलनामा स्वस्थ खानाको उपलब्धतामा निर्भर रहेको देखिन्छ,” इम्पेरियल कलेज लन्डनका वरिष्ठ अनुसन्धाता प्राध्यापक माजिद इज्जती भन्छन्।
खानाका कारणले नै मोटोपनको समस्या देखिएको अध्ययनहरूको निष्कर्ष छ। “केही घटनामा अस्वस्थकर खानालाई बढावा दिने आक्रामक मार्केटिङ अभियान भएका छन्, अर्कातिर स्वस्थ खानाको लागत र उपलब्धता अधिक समस्याग्रस्त हुन सक्छ,” प्राध्यापक इज्जती भन्छन्।
वर्षौंदेखि विश्वव्यापी तथ्यांक केलाउँदै आएका प्राध्यापक इज्जतीले मोटोपनको अवस्थामा आएको परिवर्तनले आफू आश्चर्यचकित भएको बताएका छन्। उनका अनुसार धेरै देशले मोटोपनको समस्या सामना गरिरहेका छन्, जबकि न्यून तौल भएका मानिसलाई ठूलो चिन्ताका रूपमा हेरिने क्षेत्रको संख्या घट्दै गएको छ।
सन् १९९० देखि २०२२ सम्मको तथ्यांक केलाइएको ल्यान्सेटको प्रतिवेदनमा बालबालिका र किशोरकिशोरीमा मोटोपन हुने दर चार गुणाले बढेको देखिएको छ। त्यस्तै, वयस्कमा मोटोपन हुने दर पनि बढेको देखिन्छ, जस अनुसार महिलाको मोटोपन दोब्बर भएको देखिन्छ भने पुरुषमा झन्डै तीन गुणाले बढेको देखिन्छ।
यसैगरी, कम तौल भएका वयस्कको दर ५० प्रतिशतले घटेको पाइएको छ। अनुसन्धाताका अनुसार विशेष गरी विपन्न समुदायमा भने कम तौलको समस्या चिन्ताको विषय नै रहेको छ।
“यो नयाँ अध्ययनले आहार, विहार र पर्याप्त हेरचाह गर्दै वयस्क अवस्था हुनुभन्दा अघिदेखि नै मोटोपनबाट बच्न र मोटोपनलाई व्यवस्थापन गर्नुपर्ने विषयलाई महत्त्वका साथ उजागर गरेको छ,” विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयस भन्छन्।
सरकार र समुदायले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने उनी बताउँछन्। “खास गरी यस विषयमा निजी क्षेत्रको सहयोगको अपेक्षा देखिन्छ किनभने आफ्ना खाद्य उत्पादनहरू स्वस्थ छन् भन्नेमा निजी क्षेत्र जवाफदेही हुनुपर्छ,” उनी भन्छन्।
यस अध्ययनका लेखक मद्रास डायबिटिज रिसर्च फाउन्डेशनकी डा. प्रदीपा गुहा एकातिर विश्वव्यापी समस्याका रूपमा देखाएको मोटोपन र न्यून तौल दुवैका कारणले कुपोषण हुने जोखिम बढ्दै गएको बताउँछिन्। “जलवायु परिवर्तन, कोभिड-१९ महामारीका कारणले भएको समस्या र युक्रेन युद्धका कारण गरीबी र पोषणयुक्त खाद्यान्नको मूल्य आकाशिंदा मोटोपन र न्यून तौल दुवैले गर्दा हुने समस्या बढ्ने देखिन्छ,” उनी भन्छिन्।
विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा एक हजार ५०० भन्दा बढी अनुसन्धाताको सञ्जालमा पाँच वर्ष वा माथिका करीब २२ करोड मानिसको उचाइ र तौलको ‘बडी, मास, इन्डेक्स’ मार्फत विश्लेषण गरेको थियो।
(बीबीसीबाट महेश्वर आचार्यले गरेको अनुवाद।)