ब्यांकर पक्राउको निजी क्षेत्रका तीन संस्थाद्वारा विरोध
निजी क्षेत्रका प्रमुख तीन संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले ब्यांकर पक्राउको विरोध गरेका छन्।
धितो मूल्यांकनलाई आधार बनाएर दिइएको कर्जामा खोट देखाउँदै नेपाल प्रहरीले केही दिनअघि तत्कालीन सेञ्चुरी ब्यांकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम सहित वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र असिस्टेन्ट जनरल मेनेजर राजेश भण्डारी सहित १० जना कर्मचारीलाई पक्राउ गरेको थियो। उनीहरूलाई कमसल धितोमा बढी ऋण दिएको आरोप लगाइएको छ।
निजी क्षेत्रका तीन संस्थाले विज्ञप्ति जारी गरेर ब्यांक तथा वित्तीय संस्थाहरूले विद्यमान ऐन तथा केन्द्रीय ब्यांकबाट जारी भएका निर्देशनहरूको अधीनमा रही निक्षेप संकलन तथा कर्जा लगानी गर्ने कार्य गरिरहेको र लगानी सम्बन्धी निर्णय गर्दा तोकिएका सिद्धान्त, विधि एवं नियमको पालना गरेको दाबी गरेका छन्।
विद्यमान कानूनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका ब्यांक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरूलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण थुन्नु गलत भएको तीनै संस्थाले जनाएका छन्। ‘पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको हो कि भन्ने देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
यस्ता कार्यले ब्यांकरहरूको कार्यदक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवं मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्न जाने हुँदा त्यसको असर समग्र अर्थतन्त्रको वृद्धि विकासमा हुन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।