नेपालको रोमाञ्चक जित
त्रिदेशीय टी-२० शृंखलामा लगातार दुई खेल हारेको नेपालले पहिलो जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको हो। नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले १७७ रन मात्रै बनाउन सक्यो।
नामिबियाका लागि जेजे स्मितले अर्धशतक प्रहार गरे। उनले २६ बलमा ६ चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, जान फ्रिलिंकले ३७, जेपी कोजले २५ र मिचेल भानले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र करण केसीले दुई-दुई तथा अभिनास बोहराले एक विकेट लिए।
यसअघि ब्याटिङको निम्तो पाएको नेपालले आठ विकेटको क्षतिमा १८० रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे। उनले ३७ बलमा ५५ रन बनाए।
त्यस्तै, आरिफ शेखले ३१, गुल्सन झाले २६, अनिल साहले २३, दीपेन्द्रसिंह ऐरीले १६ र रोहित पौडेलले १० रन बनाए। नामिबियाका लागि बेन शिकांगोले तीन, ज्याक ब्रसेलले दुई, जान निकोल र बेर्नाड स्कजले एक-एक विकेट लिए।
यो जितसँगै नेपालले दुई अंक जोडेको छ भने फाइनलको सम्भावना जीवितै छ।
यो शृंखलामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्स पनि प्रतिस्पर्धा गरिरहेको छ। अहिलेसम्म नेदरल्यान्ड्स दुई खेल जितेर चार अंक सहित अंकतालिकाको शीर्षस्थानमा छ। नामिबियाको दुई अंक छ।
प्रतियोगिताको पाँचौं खेलमा शनिबार नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्नेछन्।