राष्ट्रिय सभाबाट बिदा हुन लागेका सांसदले के भने?
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले आफ्नो कार्यकालको अनुभव सुनाउँदै सभाको गरिमा बढाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल सकिंदै छ। उनीहरूको ठाउँमा नयाँ सांसद चुनिएर आइसकेका छन्। कार्यकाल सकिंदै गरेका सांसदले राष्ट्रिय सभामा आफ्नो अनुभव सुनाएका हुन्।
सांसद अनिता देवकोटाले राष्ट्रिय सभा विज्ञ र स्थायी सभा भएकाले देश तथा जनताको पक्षमा काम गर्न सकेको धारणा राखिन्। उनले कुन सांसदले कति वटा पुल बनाए, कति किलोमिटर सडक निर्माण गरे, भन्ने आधारमा मूल्यांकन गर्न नहुने बताइन्। “के-कस्ता राम्रा कानून निर्माण गरे र त्यसमा के-कस्तो भूमिका निर्वाह गरे भन्ने आधारमा मूल्यांकन गरिनु राम्रो हुन्छ,” देवकोटाले भनिन्।
सांसद भैरवसुन्दर श्रेष्ठले संविधानप्रदत्त मौलिक हक कार्यान्वयनमा जान नसकेको तथा आवश्यक कानून निर्माण हुन नसकेको गुनासो गरे। उनले कर्णाली प्रदेशको विकास र समृद्धिको अभियानलाई थप व्यवस्थित बनाउन र यथेष्ट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए।
सांसद जितेन्द्रनारायण देवले संविधान निर्माणका क्रममा राष्ट्रिय सभाका सन्दर्भमा उठेको विषयलाई स्मरण गराउँदै पार्टीका शीर्ष नेताहरूको धारणा स्पष्ट हुन नसकेको गुनासो गरे। उनले राष्ट्रिय सभाको कामकारबाहीबारे सञ्चारमाध्यमले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै प्रतिनिधि सभाको बैठक चलेका दिन आफूहरूको कामकारबाहीको समाचार कम आउने गरेको बताए।
सांसद रमेशजंग रायमाझीले राष्ट्रिय सभाले सहज रूपमा कानून निर्माण गरेको, समितिले पनि प्रभावकारी काम गरेको जानकारी दिंदै आफूले सदनमा जनताको पक्षमा नै उभिने प्रयास गरेको बताए। संविधान र संघीय शासन प्रणालीलाई कार्यान्वयन गराउन आफूले सक्दो भूमिका निर्वाह गरेको उनको भनाइ थियो।
सांसद रामचन्द्र राईले जनसरोकारका विषयमा इमानदार भएर आफ्ना कुरा राखे पनि सरकारको तर्फबाट सम्बोधन हुन नसकेको बताए। सांसद बिना पोखरेलले आफ्नो कार्यकालमा देश र जनताको पक्षमा सकेसम्म भूमिका निर्वाह गर्ने प्रयास गरेको बताइन्।
सांसद विमला राई पौड्यालले राष्ट्रिय सभालाई सिकाइको एउटा विश्वविद्यालयको संज्ञा दिंदै आफूले धेरै कुरा सिक्न पाएको बताइन्।