कुशलको अर्धशतकमा नेपालले बनायो १८० रन
कुशल मल्लले अर्धशतक प्रहार गरेपछि नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ।
त्रिदेशीय टी-२० शृंखला अन्तर्गत शुक्रबार नामिबियासँगको खेलमा नेपालले आठ विकेटको क्षतिमा १८० रन बनाएको हो। नेपालका लागि मल्लले अर्धशतक प्रहार गरे। उनले ३७ बलमा ५५ रन बनाए।
त्यस्तै, आरिफ शेखले ३१, गुल्सन झाले २६, अनिल साहले २३, दीपेन्द्रसिंह ऐरीले १६ र रोहित पौडेलले १० रन बनाए। नामिबियाका लागि बेन शिकांगोले तीन, ज्याक ब्रसेलले दुई, जान निकोल र बेर्नाड स्कजले एक-एक विकेट लिए।
यो शृंखलामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्स पनि प्रतिस्पर्धा गरिरहेको छ। अहिलेसम्म नेदरल्यान्ड्स दुई खेल जितेर चार अंक सहित अंकतालिकाको शीर्षस्थानमा छ।
त्यस्तै, नामिबियाको दुई अंक छ। नेपालले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन।