दाहालको भनाइमा देउवाको प्रतिक्रिया : एक पार्टीका नेताले अर्को पार्टीप्रति टीकाटिप्पणी गर्नु सामान्य
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टीकाटिप्पणी गर्नु सामान्य भएको प्रतिक्रिया दिएका छन्।
शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले भने, “एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टीकाटिप्पणी गरिहाल्छन्, सामान्य रूपमा लिनुपर्छ।”
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका क्रियाकलापले गठबन्धनमा शंका-उपशंका गर्ने ठाउँ बनेको बताएका थिए। उनले कांग्रेससँग तिक्तता बढ्दै जानुका तीन वटा कारण देखाएका थिए। दाहालको भनाइलाई लिएर सोधिएको प्रश्नमा कांग्रेस सभापति देउवाले सामान्य रूपमा लिनुपर्ने जवाफ दिएका हुन्।
उनले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको जिकिर गरेका छन्। “गठबन्धनमा कुनै समस्या छैन, गठबन्धन टुट्दैन,” देउवाले भने।
त्यस्तै, राष्ट्रिय सभाको अध्यक्षका विषयमा सोधिएको प्रश्नमा पनि सभापति देउवाले गठबन्धनमा छलफल गरिने बताए। “कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुंगो लाग्छ,” उनले भने।
भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन देउवा चितवन पुगेका हुन्। भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी शुक्रबार भरतपुर पुगेका छन्।
त्यस्तै, प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार नै भरतपुर पुगेका थिए। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ।
नारायणी नदी किनारमा शुक्रबार दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।