आगलागीमा भैंसी जोगाउँदा आफ्नै ज्यान गयो
गोठमा आगलागी हुँदा भैंसी र बाख्रा जोगाउने क्रममा बर्दियामा एक जनाको ज्यान गएको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका-४, मैनवारका लक्षिराम जैसीको गोठमा गएराति आगलागी भएको थियो। गोठमा रहेका गाईभैंसीलाई पराल हाल्न जाँदा टुकीबाट आगो सल्किएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले बताए।
उनका अनुसार गोठभरि पराल थियो। त्यसमा सल्किनै बित्तिकै गोठभरि आगो फैलिएको हो।
आगलागी भएपछि गोठमा रहेका भैंसी र बाख्रा जोगाउन खोज्दा जलेर उनको मृत्यु भएको मेयर लम्सालले बताए। “भैंसी र बाख्रा बाहिर निकाल्न खोजेका थिए, त्यही क्रममा आगोमा जलेका रहेछन्,” उनले भने।
गोठमा एक भैंसी र १० बाख्रा थिए। त्यसमध्ये भैंसी र दुई बाख्रा बाहिर निकाल्न पाएको मेयर लम्सालले बताए। आठ बाख्रा पनि जलेर मरेका छन्।
स्थानीय बासिन्दासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोलीले आगो निभाएको थियो। आगो नियन्त्रणपछि गोठमा पूर्ण रूपमा जलेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि गुलरियास्थित बर्दिया जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।