टिपरले बोलेरोलाई ठक्कर दिंदा दुई यात्रुको मृत्यु, पाँच घाइते
दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी-३, पुरानो मालपोत अगाडि शुक्रबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १ ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसलाई ठक्कर दिएको थियो। बस दुर्घटना हुनबाट जोगिएको उनले बताए।
त्यसलगत्तै टिपरले मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। टिपरको ठक्करबाट बोलेरोमा सवार झापाको कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र ४४ वर्षीया गीता खनालको घटनास्थलमै मृत्यु भएको दाहालले बताए।
दुर्घटनामा पाँच जना घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक दाहालले बताए। घाइते यात्रुको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।