वाफ च्याम्पियनशिपमा नेपाल उपविजेता, फाइनलमा जोर्डनसँग पराजित
वाफ महिला च्याम्पियनशिपको फाइनलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा पराजित भएको छ।
गएराति साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा पाँच-तीन गोलले पराजित भएको हो। जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको छ। नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो।
निर्धारित समयमा दुवै टोलीले दुई-दुई गोल गरेपछि खेल टाइब्रेकरमा गएको थियो। त्यसपछि भएको पेनाल्टी शूटआउटमा नेपालको एक प्रहार जोर्डनकी गोलरक्षक स्रेरिन आइसलबेले रोकेकी थिइन्।
पेनाल्टी शूटआउटमा जोर्डनका पाँचै खेलाडीले गोल गरे। नेपालका तर्फबाट पनि गीता राना, दीपा शाही र हीरा भुजेलले गोल गरे। चौथो नम्बरमा आएकी अमृता जैसीले गोल गर्न सकिनन्।
यसअघि नेपालले पहिलो हाफमै गोल गरेको थियो। नेपालका लागि सविता राना मगरले खेलको २९औं मिनेटमा गोल गरेकी थिइन्।
त्यस्तै, खेलको ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याइन्। त्यसपछि खेलको ८९औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गरेको थियो। जोर्डनका लागि साराह अबु साबाहले गोल गरेकी थिइन्।
खेलको अतिरिक्त समयमा नेपालले पेनाल्टी पायो। नेपालका लागि गीता रानाले गोल गरेपछि खेल दुई-दुईको बराबरीमा पुगेको थियो।
पेनाल्टी शूटआउटमा पराजित भएसँगै नेपाल उपविजेतामै सीमित बनेको छ। फीफा वरीयतामा नेपाल १०५औं स्थानमा छ भने जोर्डन ७४औं स्थानमा छ।