यी हुन्, कांग्रेससँग तिक्तता बढ्नुका तीन कारण : दाहाल
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेससँग तिक्तता बढ्दै जानुका तीन कारण खुलाएका छन्।
माओवादी स्थायी समितिको बैठकले गरेका निर्णयलाई लिएर सत्तारूढ गठबन्धनका विषयमा चर्चापरिचर्चा शुरू भएको छ। फागुन १६ मा सम्पन्न स्थायी समिति बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले सार्वजनिक गरेका थिए। बैठकपछि माओवादी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनेका थिए, “अहिले हाम्रो पार्टीले पनि उम्मेदवारी दिने निर्णय गरेको छ।”
यससँगै सत्तारूढ गठबन्धनबारे टीकाटिप्पणी शुरू भएका हुन्। राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहालले पनि बिहीबार स्पष्ट पारेका छन्। गृहनगर भरतपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दाहालले भने, “स्थानीय समितिका अत्यधिक बहुमत सदस्यले राष्ट्रिय सभा अध्यक्ष छोड्नु हुँदैन भन्ने सुझाव राख्नुभएको छ, औपचारिक ढंगले लिखित निर्णय भइसकेको छैन।”
राष्ट्रिय सभाका सदस्यको चुनाव हुँदा आफूले अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई सघाउने वचन दिएको पनि दाहालले स्मरण गरे। “यदि सिटौलाजी आउने हो भने सकारात्मक ढंगले सोच्न सकिन्छ भनेकै हो,” दाहालले भने, “तर त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रमहरू अहिले भिन्न ढंगले अगाडि गए।”
माओवादी राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुग्नुमा उनले कांग्रेसलाई नै दोष दिएका छन्। यसका तीन वटा कारण देखाएका छन्।
पहिलो, कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यमा माओवादी उम्मेदवार हार्नु। दाहालले भने, “एउटा कोशीमा माओवादीको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसकै कारणले भयो, कोशी प्रदेशका नेता-कार्यकर्ता पनि आक्रोशित स्थितिमा हुनुहुन्छ।”
दोस्रो, कांग्रेस महासमिति बैठकले गठबन्धनलाई लिएर गरेको निर्णय। यसले पनि शंका पैदा गरेको दाहालको भनाइ छ। “भर्खरै सम्पन्न कांग्रेस महासमिति बैठकले गरेको निर्णयमा पनि केही चिज आवश्यक नभएको लाग्छ। गठबन्धन राम्रै गइराखेको थियो। राम्रो लाने कुरामा हामी प्रतिबद्ध थियौं, छौं अहिले पनि,” दाहालले थपे, “जुन पार्टीको भोटबाट, समर्थनबाट नेपाली कांग्रेस एक नम्बर पार्टी भएको त्यही पार्टीसँग गठबन्धन गर्दैनौं भनेर अहिले बोल्नुपर्ने जरुरी के थियो? यसले पनि देशभर एउटा तरंग पक्कै पनि पैदा गरेको छ।”
तेस्रो, कांग्रेस महासमिति बैठकमा धर्मनिरपेक्षता र ‘जनयुद्ध’ शब्दमा भएको बहस। यसमा पनि प्रधानमन्त्री दाहालले कांग्रेससँग असन्तुष्टि प्रकट गरे। “धर्मनिरपेक्षताको विषयमा पनि जसरी चर्चापरिचर्चा भयो। या जनयुद्धकै बारेमा बेमौसमको बाजा, बोल्नै नपर्नेमा वेलामा किन बोल्या हो, प्रश्न त उठेको छ,” दाहालले भने।
यति भन्दाभन्दै पनि प्रधानमन्त्री दाहालले गठबन्धन भत्किने अवस्थामा नपुगेको जिकिर गरे। “ठूलै अन्तर परिहाल्यो, परिहाल्छ भन्ने ठाउँमा पुगेको स्थिति छैन,” दाहालले भने।
उनी भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन भरतपुर पुगेका हुन्।