सुक्खा नै सकियो हिउँद, सरदरको तुलनामा २१ प्रतिशत मात्रै पानी पर्यो
यस वर्षको हिउँद सुक्खाप्रायः बितेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको हिउँदमा सरदरको तुलनामा २१ प्रतिशत मात्रै पानी परेको छ।
विभागले डिसेम्बरको शुरूदेखि फेब्रुअरी अन्तिमसम्मका तीन महीनालाई हिउँद अवधि मान्छ। फेब्रुअरी महीना बिहीबारबाट सकिएको छ। मार्च १ देखि ‘प्रि-मनसुन’ अवधि शुरू हुन्छ।
विभागको तथ्यांक अनुसार यस वर्षको हिउँद (मंसीर १५ देखि फागुन १७ गतेसम्म) अवधिमा नेपालमा सरदर १२.५ मिलिमिटर मात्रै पानी परेको छ। सामान्यतया हिउँदको अवधिमा ६०.१ मिलिमिटर पानी पर्नुपर्ने हो। तर हिउँदे वर्षा गराउने पश्चिमी वायु सक्रिय हुन नसक्दा यस वर्षको हिउँद वर्षाविहीन भयो।
यस अवधिमा देशभरि औसतको तुलनामा कम पानी परेको छ। खास गरी पश्चिमका तुलनामा पूर्वी तराईमा पानी परेन।
त्यसो त पछिल्ला वर्षमा हिउँद सुख्खा हुँदै आएका छन्। २०६२ सालयताका ६ हिउँदमा मात्रै सरदरभन्दा बढी पानी परेको छ भने बाँकी तुलनात्मक रूपमा सुक्खा नै बितेका छन्। गत वर्ष पनि हिउँदमा १२.९ मिलिमिटर मात्रै पानी परेको थियो।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईं हिउँद शुरू हुनुअघि यस वर्ष पर्याप्त पानी पर्ने अनुमान गरिए पनि त्यस्तो नभएको बताउँछन्। विभागले गत मंसीरमा हिउँदको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने आकलन सार्वजनिक गरेको थियो। मौसमविद् हुमागाईं भन्छन्, “पश्चिमी वायु सक्रिय नभएकाले यस वर्ष विभागको हिउँद अवधिको वर्षाको अनुमान मिलेन।”
भूमध्यसागरबाट जलवाष्प बोकेको हावा इरान, अफगानिस्तान, पाकिस्तानको बाटो हुँदै नेपाल छिर्न पाएमा हिउँदमा पानी पर्छ। यो जलवाष्प बोकेको हावा अरू कारणले बिथोलिएमा कमजोर भएर पानी पर्न सक्दैन।
हिउँदे वर्षा नहुँदा यस वर्ष हिउँदे बाली सप्रिन पाएन। खोलानालामा पानीको बहाव समेत घट्दा विद्युत् उत्पादन घटेको विद्युत् उत्पादकहरूले बताउँदै आएका छन्।
नेपालमा हुने वार्षिक वर्षामध्ये करीब ८० प्रतिशत मनसुनको वेला (सामान्यतया जेठ-असोज)को अवधिमा हुन्छ। बाँकी वर्षा मनसुन शुरू हुनुअघि (प्रि-मनसुन) तथा पछिका महीना र हिउँदमा हुन्छ। नेपालमा वार्षिक रूपमा पर्ने पानीको औसतमा तीनदेखि चार प्रतिशत मात्रै हिउँदमा पर्छ।