सफ्ट टेनिसमा आशिष र श्रेया विजयी
कोशी प्रदेशस्तरीय सफ्ट टेनिस प्रतियोगिताको एकलतर्फ आशिष बोहरा र श्रेया योञ्जन विजयी भएका छन्।
जिल्ला सफ्ट टेनिस संघ, मोरङले विराटनगरमा आयोजना गरेको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनलमा पुरुषतर्फ आशिषले आभाष बुढाथोकीलाई ४-२ को सेटमा पराजित गरेका हुन्। प्रतियोगितामा आभाष द्वितीय, मुकुन्द बुढाथोकी र अश्लेष ढकाल तृतीय भएका छन्।
यस्तै, महिला सिंगलमा प्रथम श्रेयाले रेजिना तामाङलाई ४-१ को सेटमा पराजित गरेकी छन्। प्रतियोगितामा रेजिना द्वितीय तथा अभिलाषा लामिछाने र श्रेया राई तृतीय भएका छन्।
महिला संयुक्ततर्फ श्रेया योञ्जन र श्रेया राईको जोडी प्रथम, अभिलाषा लामिछाने र रेजिना लामाको जोडी द्वितीय भएको छ। श्रेया उपाध्याय र याना राजभण्डारी तथा मुस्कान मुन्दडा र रिया गुप्ताको जोडी तृतीय भएका छन्।
पुरुष संयुक्ततर्फ आशिष बोहरा र आभाष बुढाथोकीको जोडी प्रथम, दीपेन्द्र थापा र मुकुन्द बुढाथोकीको जोडी द्वितीय भएको छ। अभिषेशअमन झा र अश्लेष ढकाल, जयन्द्रविक्रम राणा र अमित कार्की तृतीय भए।
भेट्रानतर्फ आयोजक संघका अध्यक्ष श्यामकुमार लामा र खेलका रेफ्री राजेश लामिछानेको जोडी प्रथम, अमिश रेग्मी र राजकुमार थापाको जोडी द्वितीय तथा राजेशकुमार बोहरा र रोशन राउतको जोडी तृतीय भएको छ।
कोशी प्रदेशस्तरीय प्रतियोगितामा ३० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, आठ हजार र ६ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।
विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्दै प्रदेश खेलकूद विकास बोर्डका सदस्य रितेश श्रेष्ठ र प्रदीप भगतले खेल र खेलाडी संरक्षणमा बोर्ड सक्रिय रहने बताए।