कुख्यात ‘बिकिनी किलर’ लाई जेल पुर्याउने त्यो फोटो
‘मभन्दा २५-३० मिटर पर सडकपारि साइबरको ढोकाछेउ शोभराजलाई देखें। मन आत्तियो। काँपेका हातले उनीतिर क्यामेरा तेर्स्याएँ। उनी साइबरबाट निस्किएर मोटरसाइकलमा हुइँकिए।’
“यो फोटोको मान्छे चार्ल्स शोभराज हुन्। नेपालमै छन् अहिले। फोटो खिच्नुपर्यो,” पासपोर्ट साइजको एउटा पुरानो फोटो दिंदै सल्लाहकार सम्पादकले भन्नुभयो।
त्यसभन्दा अघि चार्ल्स शोभराजको नाम सुनेको पनि थिइनँ। अरू ‘असाइनमेन्ट’ जस्तै सामान्य रूपमा लिएर सहज भावमा ‘हुन्छ’ भनें।
२०६० भदौको कुरा हो यो। अंग्रेजी दैनिक द हिमालयन टाइम्समा कार्यरत थिएँ म।
फोटो खिच्ने जिम्मेवारी आएपछि शोभराज को रहेछन् भनेर बुझ्नु थियो। चाबहिल मैजुबहालमा ट्राभल एजेन्सीमा काम गर्ने, अंग्रेजीमा राम्रो दखल भएका साथीलाई शोभराजबारे जानकारी खोज्न भनें। फोटो देखाउनासाथ उनले झटपट भनिहाले, “यो त खतरनाक अपराधी हो। यसले धेरै मान्छे मारेको छ।”
मेरो त सातो गयो। मन ढक्क फुल्यो।
त्यसपछि शोभराजबारे थप कुरा इन्टरनेटबाट खोतल्न हामी साइबर क्याफेमा पस्यौं। शोभराजबारे समाचारहरू पढ्यौं। फोटाहरू हेर्यौं। फ्रान्सेली नागरिक उनी ‘बिकिनी किलर’ का रूपमा कुख्यात रहेछन्। उनीबारे बुझेपछि मलाई हेक्का भयो, कुख्यात हत्याराको फोटो खिच्ने कति जोखिमयुक्त काम दिइएको रहेछ!
मेरो व्यावसायिक फोटो पत्रकारिताको यात्रा सन् २००१ मा राजधानी दैनिकबाट शुरू भएको थियो। त्यसको अर्को वर्ष नै द हिमालयन टाइम्समा गएको थिएँ। फोटो पत्रकारिता शुरू गर्दैगर्दा भर्खरै दरबार हत्याकाण्ड भएको थियो। माओवादीको सशस्त्र युद्ध जारी थियो। त्यही वेला राजा ज्ञानेन्द्रको प्रतिगमन विरुद्ध सात दलीय गठबन्धनको सडक आन्दोलन पनि चलिरहेको थियो। त्यस वेला फोटो पत्रकारहरूले सबैभन्दा धेरै यही आन्दोलनको फोटो खिच्नुपर्थ्यो। त्यसै क्रममा न्यूजरूमबाट शोभराजको फोटो खिच्ने कुरा आएको थियो।
सल्लाहकार सम्पादकले काठमाडौंको क्यासिनोमा शोभराजलाई देख्नुभएको रहेछ। नेपालमा दुई विदेशी महिलाको हत्या गरेको अभियोग लागेका उनले विभिन्न देशमा महिला पर्यटकको ज्यान लिएका थिए। इन्टरपोलले उनी विरुद्ध रेडकर्नर नोटिस नै जारी गरेको थियो।
त्यस्ता कुख्यात अपराधीलाई सामुन्नेमा देखेपछि सशंकित हुँदै सरले सोध्नुभएछ, “तिमी चार्ल्स हौ?”
तिनले ‘होइन’ भनेछन्।
उहाँले केही दिन तिनको पिछा गरेपछि उनी शोभराज नै भएको पक्का भयो। त्यसपछि मलाई बोलाएर ठमेलको एक होटलमा शोभराज बसेको बताउँदै फोटो खिच्न ‘असाइन’ गर्नुभएको थियो।
शोभराज नेपालमा गुपचुप बसिरहेको देशी-विदेशी मिडिया कतै पनि आएको थिएन। कुख्यात अपराधीको फोटो खिच्नुपर्ने कुरोले मन चिसो भए पनि ‘स्कूप’ मार्नुपर्छ भन्ने लाग्यो। फोटो खिच्ने लगाव गहिरो थियो। अरूले भन्दा नयाँ र राम्रो गर्नुपर्छ भन्ने महत्त्वाकांक्षा पनि थियो।
पहिलो दिन ठमेल पुगेर उनी बसेको भनिएको होटल अगाडि दिनभर कुरें। तर उनी देखिएनन्।
अर्को दिन पनि होटल वरपर टहलिंदै खल्तीमा भएको शोभराजको तस्वीर निकालेर विदेशीहरूको अनुहारसँग मेल खान्छ कि भनेर हेर्दै बसें। गोरो अनुहार देख्यो कि शोभराज हो कि भन्ने लाग्थ्यो। उनी नदेखिएपछि त्यो दिन निराश भएर साँझ फर्किएँ।
तेस्रो दिन पनि त्यही होटल अगाडिको शौचालय नजिकै अडेस लागेर बसेको थिएँ। दिनहुँ त्यहाँ गएर दिनभर बस्न थालेपछि वरपरका मानिसले शंकालु नजरले हेर्न थालेका थिए। किन बसेको भन्ने प्रश्न आउँदा साथी कुरेको भनेर टारिरहेको थिएँ।
मध्यदिउँसो चिया खान मन लागेर त्यस होटलभन्दा थोरै अगाडि बढें। त्यही वेला तीन-चार जना विदेशीको हुल देखें। शोभराज त्यहाँ पनि हुन सक्छन् भनेर केही अगाडिसम्म पिछा गर्दै गएँ। तर त्यहाँ थिएनन्। फर्केर पहिले बसेकै ठाउँमा आइपुगेको मात्र के थिएँ, शोभराजलाई होटलको गेट अगाडि देखें। के गरूँ भनेर एकछिन त अत्तालिएँ। क्यापले आधा अनुहार ढाकेकोे थियो। उनी साइबर छिरे। डेढ/दुई मिनेटभित्रै बाहिर निस्किए। साइबरबाट निस्किँदै गर्दाको उनका ६/७ स्न्याप फोटा खिच्न भ्याएँ।
मभन्दा २५-३० मिटर पर सडकपारि साइबरको ढोकाछेउ शोभराजलाई देखें। मन आत्तियो। काँपेका हातले उनीतिर क्यामेरा तेर्स्याएँ। उनी त्यो साइबरबाट निस्किएर मोटरसाइकलमा हुइँकिए। मैले ६/७ स्न्याप खिच्न भ्याएँ। क्याप लगाएका शोभराजको अनुहार प्रस्ट नआए पनि पहिचानका लागि काफी थियो। तर थप तस्वीर खिच्न सकिन्छ कि भनेर मोटरसाइकलबाट उनको पिछा गरें।
लैनचौरबाट दरबारमार्ग हुँदै त्रिचन्द्र कलेज पुग्दा उनको मोटरसाइकललाई ओभरटेक गरें। मेरो र शोभराजका आँखा जुधे। उनको आँखामा फोटो पत्रकारले पछ्याइरहेको छ कि भन्ने आभास पाएँ। उनको मोटरसाइकल भद्रकालीबाट शहीदगेट हुँदै नयाँ सडकतिर लाग्यो। म अनामनगरस्थित कार्यालयतर्फ मोडिएँ।
सम्पादक राम प्रधानलाई फोटाहरू देखाएँ। उहाँ दंग पर्नुभयो। शोभराज काठमाडौंमा रहेको र उनको फोटो खिच्न लागेको कुरा न्यूजरूममा गोप्य राखिएको थियो। सम्पादक र सल्लाहकार सम्पादकलाई मात्र थाहा थियो। त्यसभन्दा बाहिर शोभराजबारे जानकारी खोज्न तिनै साथीलाई मात्र भनेको थिएँ।
२०६० भदौ ३१ गते द हिमालयन टाइम्स र अन्नपूर्ण पोस्ट् नेपाली दैनिकको पहिलो पृष्ठमा मैले खिचेको फोटो सहित ब्यानर न्यूज छापियो- ‘द सर्पेन्ट लिभिङ इन्कग्निटो इन ठमेल’ र ‘चार्ल्स शोभराज काठमाडौंमा’ शीर्षकमा।
सम्पादकले फोटो छाप्न पठाउनुअघि फोटो क्रेडिटबारे सोध्नुभएको थियो। तर मैले नाम राख्न चाहिनँ। त्यस वेला क्रेडिट नराख्दा नै ठीक होला जस्तो लाग्यो। निकै डराएको थिएँ।
बजारमा पत्रिका गएपछि मलाई धेरै जनाले फोन गरे। फोटो कसको भन्ने जानकारी नभए पनि त्यो फोटो पक्कै तिमीले नै खिचेका हौ भन्न थाले। त्यस वेला द हिमालयन टाइम्समा फोटो खिच्ने जुझारु फोटो पत्रकारका रूपमा मलाई नै लिन्थे। त्यसैले सबैले अनुमान गरे। तर मैले टारिरहें।
त्यसपछि अफिसमा प्रहरीहरू आए। फोटो क्रेडिट हालेको भए सीधै मसँग सोधपुछ गर्थे होला। मेरो नाम नभएकाले सम्पादकसँग कुरा गरे। शोभराज काठमाडौंमा रहेकोबारे बेखबर प्रहरी पत्रिकामा एक्कासि फोटो देख्दा आत्तिएछ। सम्पादकसँग लामै कुराकानी गरेर फर्कियो।
फोटोमा नाम नभएकाले केरकारबाट जोगिएँ। नाम नभएकाले नै धम्कीहरूबाट पनि बचें भन्ने लाग्छ।
त्यसपछि प्रहरीले ठमेलका सबै क्यासिनोमा छापा मार्यो। तेस्रो दिन दरबारमार्गस्थित रोयल क्यासिनोबाट शोभराजलाई पक्राउ गर्यो। उनलाई अदालत लगियो। यस प्रकरणको फलोअप फोटो निरन्तर खिचिरहें।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा पनि समाचार आउन थाले। नेपालमा शोभराज रहेको फोटो कसले खिचेको थियो भनेर सोधखोज भएछ। केही मिडियाले पैसा दिन्छौं, अन्तर्वार्ता दिनुपर्यो भने। तर आफूलाई सार्वजनिक गर्न चाहिनँ। केही समय त मेरो फोटो हो भनेर दाबी पनि गरिनँ। त्यसो गर्ने स्थिति पनि थिएन। शोभराजका आपराधिक गिरोहहरू छन् भनेको सुनिन्थ्यो। उनीहरूले आक्रमण गर्न सक्थे। त्यसैले आफ्नो कामको प्रचार गरिनँ। खासमा आफ्नो फोटो वा समाचारले प्रभाव पार्यो भने आफ्नो प्रचार गर्नु पनि पर्दैन। समय आएपछि काम गर्ने व्यक्तिको खोजी स्वतः हुन्छ।
मैले खिचेको एउटा फोटोका कारण पक्राउ परेका शोभराज नेपालको जेलमा १९ वर्ष दुई महीना थुनामा बसेर गत वर्ष रिहा भए। उनी जेलबाट छुट्दा पनि फोटो खिच्छु भनेर दुई दिनसम्म धाएँ। तर खिच्न पाइएन। उनी जेल पस्दादेखि थुनामुक्त भएर फ्रान्स फर्कंदासम्म मेरो मनमा लागेको एउटै कुरा छ– उनलाई पक्राउ गर्न मद्दत पुर्याएको त्यो फोटो उनले खोजे कि खोजेनन् होला? उनलाई यो फोटोको कथा थाहा भयो कि भएन होला? थाहा भयो भने त्यो फोटो कसले खिच्यो भनेर चासो राखे कि राखेनन् होला? लेखपढमा उनको रुचि छ भन्ने सुनिन्थ्यो। शायद थाहा पाए कि!
फोटो पत्रकारका दुःख
सशस्त्र द्वन्द्वका वेला धेरै फोटाहरू खिचियो। अनेक घटना भोगियो। २०६० सालतिर हुनुपर्छ, माओवादी छापामारले राष्ट्रिय अनुसन्धानका एक प्रहरी अधिकृतलाई गोली हानी मारेको केही बेरमा म फोटो खिच्न पुगेको थिएँ। उनको परिवार भावविह्वल भएर रुँदै गरेको तस्वीर खिच्ने क्रममा प्रहरी अधिकृतका बुबाले बेस्सरी गालीगलौज गरेर गालामा मलाई एक मुक्का हाने। त्यसपछि लखेटे। क्यामेरा देख्दा प्रहरीले माओवादीको मान्छे ठान्ने, माओवादीले सीआईडी सम्झेर क्यामेरा थुत्ने। यस्ता घटना काठमाडौं उपत्यका बाहिर हुन्थे।
हामी फोटो पत्रकारलाई खास गरी आन्दोलनमा सकस हुन्थ्यो। ज्यान जोगाउन हम्मेहम्मे हुन्थ्यो। त्यस्तो जोखिमका बीच पनि काम गर्ने बेग्लै उत्साह थियो। हवाई फायर, अश्रुग्यास प्रहार, ढुंगा हानाहान भइरहेको ठाउँबाट पनि हामी ‘एक्सन’ फोटाहरू निकाल्थ्यौं।
२०६२/६३ को आन्दोलनमा धेरै दौडियौं। प्रहरीको धरपकडबाट धेरै साथीका क्यामेरा फुटे। प्रहरीले प्रेसलाई धेरै दमन गर्थ्यो। प्रेस लेखेको देख्दादेख्दै प्रदर्शनकारीको लहरमा अन्धाधुन्ध लाठी बजार्थ्यो। कति ठाउँमा त एक्लै हुँदा पनि कुटाइ खाइन्थ्यो। यति हुँदा पनि एक्सनको फोटो खिचियो कि खिचिएन भनेर अन्त्यमा हेर्थ्यौं। भने जस्तो फोटो भएन भने कुटाइ खाएकोभन्दा बढी दुःख लाग्थ्यो।
आन्दोलनमा समाचार संकलन गर्न जानेहरू त परिचय लुकाएर पनि लेख्थे। तर हामीले फील्डमा क्यामेरा नझिकी काम हुँदैनथ्यो। मिडियाको मान्छे भनेपछि प्रहरीले दमन गर्थ्यो। हामीलाई प्रहरीले आन्दोलनकारीलाई कुटेको, सवारीसाधन तोडफोड गरेको आदि घटनाको ‘एक्सन’ चाहिन्थ्यो, तर प्रहरी जवानहरू चाहिं फोटो पत्रकारले हामीले कुटपिट गरेको फोटो मात्र खिच्छ भनेर हामीलाई एक्लैदुक्लै भेट्दा झुक्याएर कुट्थे। त्यस्तो जोखिमबीच हामीलाई नयाँ फोटो खोज्ने हुटहुटी हुन्थ्यो। जुन फोटो पहिले कहिल्यै खिचिएको थिएन, त्यस्तो फोटो खिच्न मिहिनेत गर्थ्यौं।
खासमा समाचार मात्र खोज हुँदैन, फोटो पनि खोज हुन्छ। नयाँ सूचना वा जानकारी दिने फोटो नै ‘खोज फोटो’ हो। पहिला कतै नआएको सन्देश वा सूचना हुनुपर्छ। तर यहाँ त उही समाचारमा नयाँ एंगल दिएर फोटो खिच्नुलाई पनि खोज फोटो भनिएको पाउँछु। हाम्रो पालाको तुलनामा अहिले खोज फोटो आइरहेको पाइँदैन। अहिले एक जनाले समाचार लेख्ने र त्यसै अनुसारको फोटो खिच्ने फोटो पत्रकारको संख्या धेरै छ।
समाचार कक्षमा पनि भोलि कुन फोटो छाप्ने, पर्सि कुन भनेर साताभरिको तयारी देखिंदैन। फोटो पत्रकारहरू आफूले खिचेको फोटो कसरी छापियो, कस्तो आकारमा छापियो, छापियो कि छापिएन भन्ने पनि चासो राख्दैनन्। फोटो खिचेर दिएपछि काम सकिएको ठान्छन्। यति मात्र हैन, अचेल सञ्चार संस्थाहरूमा फोटो पत्रकारहरूको बैठक भएको पाइँदैन। दुई दशकअघि यस्तो स्थिति थिएन।
फोटो खिचेर सम्पादकलाई दिंदैमा फोटो पत्रकारको जिम्मेवारी सकिंदैन। आफ्नो फोटो कस्तो आकारमा छापिनुपर्ने हो भन्ने पनि थाहा दिनुपर्छ। विगतमा सम्पादक र फोटो पत्रकारको लामै छलफल चल्थ्यो। आफूले खिचेको फोटो किन छापिएन, किन सानो आकारमा आयो भनेर डेस्क सम्पादकसँग स्वस्थ वादविवाद हुन्थ्यो। त्यसले धेरै कुरा सिकाउँथ्यो पनि।
नेपाली मिडिया क्षेत्र सानो छ। कसैले केही नयाँ काम गर्यो भने चाँडै फैलिन्छ। त्यसैले केही नमूना काम गरेमा मिडिया क्षेत्रमा स्थापित हुन गाह्रो छैन। मेरै कुरा गर्दा पनि त्यस वेला फोटो क्रेडिट नहाल्दा समेत एउटै फोटोले स्थापित बनायो। त्यसपछि मेरो काम मन पराएर धेरै अवसर आए। विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूलाई फोटाहरू बेचें। आर्थिक पाटो राम्रो भयो। काम गर्न हौसला पनि मिल्यो। एक हिसाबले, शोभराजको फोटो स्कूप गरेपछि मेरो पेशागत जीवन उकासियो। द हिमालयन टाइम्सको फोटो विभागको प्रमुख भएँ। अहिलेसम्म पनि छु।
दुई फोटा, दुई कथा
मेरो संग्रहमा एक लाखभन्दा धेरै फोटा भइसकेका छन्। त्यसमा पनि धेरै फोटा सशस्त्र युद्ध ताकाका छन्। कति फोटा भाग्दाभाग्दै खिचिएका थिए, कति फोटा लुकेर, कतिपय चाहिं एकै स्थानमा धेरै समय बिताएर। त्यसमध्ये केही फोटा सम्झिनुपर्दा दुई वटाको चर्चा यहाँ गर्छु।
एउटा फोटो हो, अमर लामा हत्याको। २०५० जेठ ३ गते लामाले चलाएको गाडी चितवनको दासढुंगामा त्रिशूली नदीमा खस्दा नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको निधन भएको थियो। लामा चाहिं गाडीबाट निस्किएर बाँचेका थिए। यसको १० वर्षपछि २०६० साउन ११ गते कीर्तिपुरमा उनै लामाको गोली हानेर हत्या भएको थियो।
संयोगले त्यस दिन म अरू काम नभएर ‘अफबिट’ समाचारमूलक फिचर फोटो खिच्न कीर्तिपुर नै पुगेको थिएँ। अपराह्न ४ बजेतिर एउटा फोन आयो- अमर लामालाई कीर्तिपुरको नयाँ बजारमा गोली हानेर ढालेको छ भनेर। अझै संयोग कस्तो थियो भने, नयाँ बजार नजिकै थिएँ म। मोटरसाइकल हुइँक्याएर छिनमै घटनास्थलमा पुगें।
म पुग्दा लामा सडकमा ढलेका थिए, उनको टाउकोबाट रगत बगीरहेको थियो। त्यस वेलासम्म प्रहरीहरू पनि आइपुगेका थिएनन्। फोटो खिच्नु कि प्रहरीलाई बोलाउनु भन्ने भयो। तर हत्तपत्त एक-दुई वटा फोटा खिचिहालें।
एकदम चकमन्न वातावरण थियो त्यहाँ। १० जना जति मान्छे थिए होलान्। फोटो खिचिरहँदा डर लाग्यो- कतै बम विस्फोट हुने पो हो कि!
केही समयपछि प्रहरीहरू आइपुगे। त्यो फोटो खिच्ने पहिलो म र त्यसपछि साथी सुन्दर श्रेष्ठ थियौं। देशको राजधानीमा दिनदहाडै हत्या भएको थियो। नेपाली समाजमा कुन हदसम्मको आपराधिक घटना हुन्थ्यो भन्ने समय बताउने तस्वीर हो यो।
अर्को घटना हो, २०६१ जेठ १७ गतेको। त्यस दिन पनि अफबिट फोटो नै खिच्न त्रिचन्द्र क्याम्पसतिर निस्किएको थिएँ। एक्कासि बम विस्फोटको आवाज सुनियो। एक छिनमा थाहा भयो, नयाँ सडकछेउमा आरएनएसी भवन अगाडि माओवादीले यात्रु बोकेर गुडिरहेको साझा बसमा बम विस्फोट गरेको रहेछ। त्यहाँ पुग्दा रगतको भल थियो। मान्छेहरूका हातखुट्टा नै चुँडिएका थिए। कोही एउटा हात, एउटा खुट्टा लिएर छटपटाइरहेका थिए। घाइतेहरूलाई छेवैको वीर अस्पताल लगिंदै थियो।
त्यस वेला पनि मैले धेरै फोटा खिचें, तर छापिंदा एक वृद्ध आमाले विस्फोटमा गम्भीर घाइते भएर अन्तिम सास फेरिरहेका श्रीमान्लाई काखमा लिएको फोटो छापियो। त्यो फोटो मात्र हेर्दा पनि सशस्त्र युद्धको दर्दनाक दृश्य देखिन्छ।
फोटो पत्रकारिता यात्रालाई फर्केर हेर्दा मैले धेरै फोटा द्वन्द्वकालको खिचेको रहेछु। द्वन्द्वकालमा काठमाडौं उपत्यका बाहिर कैलाली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, धुलिखेल, काभ्रे, बाँके, दाङ लगायत पहाडी जिल्लाहरू पनि गएँ। ती ठाउँमा भिडन्तमा मृत्यु भएका माओवादी र सर्वसाधारणको शवको धेरै फोटो खिचियो। शवको चाङ नै भेटिन्थ्यो। शवमा झिंगा भन्किरहेका हुन्थे। नाक थुनेर फोटो खिच्थ्यौं। यस्ता फोटो खिचेर फर्कंदा पछिसम्म मनमा लागिरहन्थ्यो- यिनीहरूको प्राण लिएर आखिर कसले के पायो? युद्धविराम भइहाले हुने भन्ने पनि लाग्थ्यो।
हुनै पर्ने लगाव
इतिहासमा सम्झनयोग्य एउटा तस्वीर खिच्न पायो भने त्यसले फोटो पत्रकारलाई सधैंका लागि स्थापित गराउँछ भन्ने उदाहरण हुँ म। तर काम गर्न एउटा गतिलो फोटो खिचेर मात्र हुँदैन। यही पेशामा टिकिरहन राम्रा फोटो निरन्तर खिच्नुपर्छ। किनकि स्थापित हुनु र टिक्नु फरक कुरा हो।
हामीले गर्ने काम दुई किसिमका हुन्छन्। एउटा आफ्ना लागि गर्ने, अर्को जागीर खाने। जागीर मात्र खान गरिने कामले राम्रो फोटो पत्रकार बनिंदैन। आफ्ना लागि गर्ने कामले ढिलो-चाँडो सफल बनाउँछ। किनभने आफ्ना लागि गरिने काममा गहिरो लगाव मिसिएको हुन्छ। लगाव भएपछि राति वा बिदा भनिंदैन। त्यसरी दौडिंदा नै अरूले नखिचेका फोटा खिच्न पाइन्छ। तर अहिले यी दुवै तरीकाको काम गर्न पहिले जस्तो वातावरण छैन।
मिडियाहरूमा संकटकाल लागेको देखिन्छ। यही कारण क्षमतावान् फोटो पत्रकारहरू बेरोजगार छन्। तर फेरि कुनै दिन नेपाली मिडियाको आर्थिक पाटो सबल हुन्छ र उस्तै अवसरहरू सिर्जना हुनेछन् भन्ने आशा छ।
फोटो पत्रकारिताको भविष्य
अहिले नेपाली सञ्चार संस्थाहरूमध्ये एकमा मात्र फोटो सम्पादक छ। त्यो द हिमालयन टाइम्सको म नै हुँ। पहिला धेरै मिडियामा फोटो सम्पादक थिए।
एउटा मिडियामा दैनिक रूपमा फाइल हुने दर्जनौं फोटामध्ये कुन महत्त्वपूर्ण र अर्थपूर्ण छ, कुन प्रकाशन गर्ने, कुन नगर्ने भनेर सम्पादनको काम फोटो सम्पादकले गर्छ। कुन फोटो कस्तो एक्सनको छ, कुनमा समाचार लुकेको छ, यी सबै पाटोबाट फोटोको महत्त्व सम्पादकलाई भन्दा फोटो सम्पादकलाई थाहा हुन्छ। भनाइ नै छ– हजार शब्दले बोल्न नसक्ने कुरा एउटा फोटोले बोल्छ। कतिपय अवस्थामा समाचार लेख्नुभन्दा पनि फोटोको आकार बढाउँदा त्यसको प्रभाव र सन्देश प्रभावकारी हुन सक्छ। यो कुरा फोटो सम्पादकले बुझ्छ।
तर पछिल्लो समय त फोटो पत्रकारहरूले जागीर नपाइरहेको अवस्था छ। पाए पनि उचित पारिश्रमिक छैन, र त्यसमाथि समयमा पाएका छैनन्। राम्रो फोटो पत्रकारले गैरसरकारी संस्थाहरूमा काम खोज्दै हिंड्नुपरेको छ।
अर्कातिर, फोटो पत्रकारले क्यामेरा, लेन्स, सवारीसाधन जस्ता सामग्री आफैं खरीद गर्नुपर्ने हुन्छ। ती अत्यधिक महँगा हुन्छन् र नेपाली पत्रकारको आर्थिक हैसियतले धान्नै सक्दैन। यो कुरा आजसम्म हाम्रा समाचार कक्षहरूले बुझेकै छैनन्। यो स्थितिमा मिडियामा लामो समयदेखि जति पनि फोटो पत्रकार टिकिरहेका छन्, ती सबै पत्रकारिताप्रतिको लगावकै कारण टिकेका छन्।
मलाई पनि आजसम्म लगावले नै टिकाइरहेको हो। २०५१ सालदेखि चाबहिलमा फोटो सम्बन्धी सबै काम गर्ने स्टुडियो पनि चलाउँदै आएको छु। त्यसको आम्दानीले क्यामेरा किन्नेदेखि घर चलाउने गरेको छु। त्यो व्यवसाय थिएन भने लगाव भएर पनि यो क्षेत्रमा नहुन सक्थें। लगावकै कारण आज पनि राम्रो फोटो कसरी खिच्ने भन्ने सोचमा मात्र हुन्छु।
अरूले भन्दा राम्रो र फरक कसरी खिच्ने भन्ने गुण सबै फोटो पत्रकारमा हुनुपर्छ। तर नेपालमा अहिले कसैलाई फोटो पत्रकारिता गर, यसमै भविष्य छ भन्ने स्थिति छैन। किनभने एक त मिडियाहरू दिगो हुन सकेका छैनन्। केही दिगो भएकाहरूले पनि पत्रकारलाई नियम-कानून विपरीत निकाल्ने, समयमा तलब नदिने जस्ता काम गरिरहेका छन्। यो अप्ठेरो मोडमा अब फोटो पत्रकारहरूले फोटो खिचेर मात्र पुग्दैन। उनीहरूले कथा खोज्ने, लेख्ने, फोटो सम्पादन गर्ने लगायतका सीप पनि विकास गर्नुपर्छ। यसो गरे मात्रै आजको डिजिटल र प्रतिस्पर्धी समयमा उनीहरूले पनि आफ्नो स्थान पाउन सक्छन्।
(पत्रकार गुरुङसँग अनिता भेटवालले गरेको कुराकानीमा आधारित। सम्पादन : जीवन कार्की, भाषा: प्रद्युम्न खनाल)
त्यो रिपोर्टका थप सामग्री :