एकीकृत समाजवादीको महाधिवेशनमा एउटै दस्तावेज पेश गर्ने सहमति
नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनमा एउटै मात्र राजनीतिक दस्तावेज पेश गर्ने सहमति बनेको छ।
एकीकृत समाजवादीको महाधिवेशन केन्द्रीय मस्यौदा समितिको बिहीबार सम्पन्न बैठकमा एउटै दस्तावेज ल्याउने सहमति बनेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। “बजारमा हल्ला चले जस्तो विवाद छैन, महाधिवेशनमा एक मात्र दस्तावेज ल्याउने सर्वसम्मत निर्णय भएको छ,” प्रवक्ता खतिवडाले भने।
अध्यक्ष माधवकुमार नेपाल सहितको सहभागितामा २७ सदस्यीय मस्यौदा समितिको बैठक बसेको थियो। तीन दिनदेखि जारी बैठकमा मस्यौदाबारे विस्तृत छलफल भएको उनले बताए।
“पार्टीले आगामी महाधिवेशनमा पारित गर्ने नीति तथा कार्यक्रमको विषयमा पार्टीको समाजवादी कार्यक्रमको विषयमा छलफल भएको छ। विभिन्न कोणबाट उठेका आवाज सहित महाधिवेशनमा एक मात्रै दस्तावेज आउनेछ,” बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले भने, “पार्टीभित्र कुनै प्रकारको अलग सोच छ भन्ने शंका हटाएको छ।”
जबजलाई लिएर अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद देखिएको थियो। खनालले छुट्टै दस्तावेज ल्याउने सार्वजनिक रूपमै बताउँदै आएका थिए। आजको बैठकमा भने सहमति जुटेको खतिवडाको भनाइ छ।
दस्तावेजलाई पूर्णता दिन जिम्मेवारी बाँडफाँड गरिएको छ। आउँदो महाधिवेशनमा विधान, राजनीतिक प्रतिवेदन सहित चार प्रतिवेदन पेश हुने खतिवडाले बताए।