टोनी हागनको ‘कृषकविनाको कृषि’ लोकार्पण
स्वीस भूगर्भविद् टोनी हागनको पुस्तक कृषकविनाको कृषि : कृषि तथा वातावरणबारे व्याख्यान र विमर्श लोकार्पण भएको छ।
टोनी हागन फाउन्डेशनका लागि हिमाल किताबद्वारा प्रकाशित पुस्तक बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, वनस्पतिशास्त्र केन्द्रीय विभागमा लोकार्पण गरिएको हो। पुस्तकमा हागनको कृषकविनाको कृषि आगामी शताब्दीका लागि एक चुनौती र कृषकको नजरमा वातावरण र जैविक विविधता संगृहीत छन्।
त्यस्तै, पुस्तकमा हागनबारे अम्बिका श्रेष्ठ, दीपक ज्ञवाली, मेघराज धिताल, जीवराज पोखरेल, संगीता राजभण्डारी, आनन्द आदित्य, सिद्धिवीर कर्माचार्य, लालप्रसाद अम्गाईं र फटिक थापाका मन्तव्य तथा विचार समेटिएका छन्। पुस्तकको अन्तिम खण्डमा हागनसँग सम्बन्धित तस्वीरहरू हेर्न सकिन्छ।
हागनले सन् १९९४ र १९९८ मा कृषि, वातावरण र जैविक विविधता सम्बन्धमा दिएको प्रवचन नेपालीभाषीसम्म पुर्याउने उद्देश्यले पुस्तक प्रकाशित गरिएको हिमाल किताबले जनाएको छ। सन् १९५० को दशकमा पहिलो पटक नेपाल आएका हागनद्वारा तीन दशक पहिले प्रस्तुत धारणा अहिले पनि उत्तिकै उपयोगी भएको पुस्तक लोकार्पण कार्यक्रमका वक्ताहरूले बताए।
कार्यक्रममा हागनकी छोरी काट्रिन हागन, त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा. विनिल अर्याल, वनस्पतिशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. संगीता राजभण्डारी, टोनी हागन फाउन्डेशनका अध्यक्ष प्रमोदकुमार झा, सदस्यसचिव फटिक थापा र पुस्तकका सम्पादक वसन्त थापाले हागन र पुस्तकबारे चर्चा गरेका थिए।