साम्बाले भनिन्- म नभए पनि वाफको उपाधि जित्ने विश्वास छ
वाफ महिला च्याम्पियनशिपको फाइनल खेल गुमाएकी सावित्रा भण्डारी (साम्बा)ले आफू नभए पनि नेपाली टोलीले उपाधि जित्ने विश्वास रहेको बताएकी छन्।
नेपालले उपाधिका लागि आज जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ। नेपाल र जोर्डनको खेल साउदी अरबको प्रिन्स अब्दुल्लाह अल फैजल रंगशालामा आज राति ९ः४५ बजे हुनेछ।
साम्बा भने गएराति नै फ्रान्स प्रस्थान गरेकी छन्। फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पसँगको सम्झौता अनुसार उनी फ्रान्स गएकी हुन्। क्लबमा आबद्ध भएपछि फीफाले कति खेलसम्म राष्ट्रिय टोलीबाट खेल्ने भन्ने तोकेको हुन्छ।
फीफाले तोकेकोभन्दा पनि बढी समय आफूलाई क्लबले राष्ट्रिय टोलीबाट खेल्न दिएको साम्बाले उल्लेख गरेकी छन्। ‘वाफ महिला च्याम्पियनशिपमा हामी फाइनल खेल्दै छौं तर एक फूटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ,’ साम्बाले सामाजिक सञ्जाल फेसबूक मार्फत आफ्नो भनाइ राखेकी छन्, ‘क्लबले सधैं मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ र यस पटक पनि फीफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु।’
फाइनलमा पनि नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने उनको विश्वास छ। ‘मलाई विश्वास छ- हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ,’ उनले भनेकी छन्, ‘हामीले एक टीमका रूपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौं। प्रतिद्वन्द्वी कठिन भए पनि हामी पुनः एक पटक एकजुट भएर जित हासिल गर्नेछौं भन्ने विश्वास मैले राखेकी छु।’