पोखरालाई पर्यटकीय राजधानी घोषणा मात्रै पर्याप्त छ?
आउँदो चैतमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी चलिरहेका वेला विज्ञहरू भने त्यतिले मात्रै नपुग्ने र पर्यटनको विकासका लागि तत्कालीन तथा दीर्घकालीन योजनामा जोड दिनुपर्ने बताउँछन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहभागी भएका पछिल्ला कार्यक्रमहरूमा नछुट्ने भाषण हो, पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने। पर्यटकीय राजधानी घोषणाले पोखराको पर्यटन उकासिने उनीहरूको तर्क हुन्छ।
पर्यटकीय राजधानी घोषणा गर्न पोखराका पर्यटन व्यवसायीले पनि लामो समयदेखि माग गर्दै आएका छन्। राजनीतिक दलहरूले पनि यसमा सहमति जनाउँदै आएका छन्।
चौतर्फी दबाबका कारण गण्डकीका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि पर्यटकीय राजधानी घोषणा गर्ने प्रयास गरेका थिए। त्यसका लागि २०७५ मंसीर २८ मा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारसँग अनुमति मागेका थिए।
त्यस्तै, पोखरा महानगरले पनि यसका लागि पहल गर्दै आएको छ। २०७९ जेठमा बसेको नगर कार्यपालिकाको बैठकले पर्यटकीय राजधानी घोषणाका लागि संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको थियो।
महानगरको निर्णय लगत्तै गण्डकी प्रदेश सरकारले पनि नीति तथा कार्यक्रममा यस विषयलाई समेटेको थियो। चालू आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै देशकै प्रमुख पर्यटकीय केन्द्र बनाउने उल्लेख छ।
पटक पटक गरेको आग्रह संघीय सरकारले बेवास्ता गरेपछि अब भने गण्डकी सरकार नपर्खिने भएको छ। आउँदो चैत पहिलो साता पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कसरत भइरहेको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगर र कास्कीका अन्य स्थानीय तह, पर्यटन व्यवसायी, पोखरामा रहेका संघसंस्थाको सहभागितामा पर्यटकीय राजधानी घोषणाको तयारी छ।
प्रकृति र संस्कृतिकै बेवास्ता
पर्यटनका लागि मुख्य तीन खम्बा मानिन्छन्, ‘नेचर’, ‘कल्चर’ र ‘एड्भेन्चर’ अर्थात् प्रकृति, संस्कृति र साहसिक गतिविधि। पोखरामा यी तीनै आधार छन्।
पोखरा तालतलैयाको शहरका रूपमा परिचित छ। पोखरा र लेखनाथमा रहेका नौ वटा ताल सिमसार क्षेत्रमा सूचीकृत छन्। विभिन्न चराचुरुंगी, वन्यजन्तुको घर पनि हो पोखरा। यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। गण्डकी प्रदेशका प्रमुख पदमार्गको प्रवेशद्वार पनि पोखरा नै हो।
केही दशकअघि पोखरालाई मुक्तिद्वार पनि भनिन्थ्यो। किनकि हिन्दू र बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर जाने मुख्य बाटो पोखरा भएर जान्छ। पोखरा विभिन्न जात्रा, महोत्सव, कला, संस्कृतिको संगम हो। मगर समुदायको कौरा नाच, घाटु, नेवार समुदायको तायमचा नाच लगायत विभिन्न समुदायका धार्मिक, सांस्कृतिक पक्ष अवलोकन गर्न पाइन्छ।
पोखरा साहसिक गतिविधिको त केन्द्र नै हो। पाराग्लाइडिङ, बोटिङ, बन्जीजम्प, केबलकार लगायतका साहसिक गतिविधि प्रशस्त छन्। साहसिक गतिविधिमा नै निजी क्षेत्रबाट प्रशस्त लगानी भएको छ।
तर पोखराको पर्यटनको मुख्य खम्बा प्रकृति र संस्कृतिप्रति सरकारको ठोस रणनीति नभएको संस्कृतिविद् एवं कवि तीर्थ श्रेष्ठ बताउँछन्। पर्यटकीय राजधानी घोषणा गर्नु मात्र पर्याप्त नभएको बताउँदै पोखराको प्रकृति र संस्कृतिबारे आधारभूत ज्ञान जनता समक्ष पुर्याउनुपर्ने श्रेष्ठको भनाइ छ।
आधारभूत ज्ञान भए मात्र योजनाले मूर्तरूप लिने र त्यसले पोखराको पर्यटनको चिन्तन हुने उनी बताउँछन्। “पहिले त हामीले हिमाल नै चिनेका छैनौं, कुन हिमाल कुन हो भनेर आमजनतालाई सुसूचित गराउनुपर्नेछ,” श्रेष्ठ भन्छन्, “आठ हजार मिटरभन्दा अग्ला हिमाल पोखराको एउटै स्थानबाट देखिन्छ भनिन्छ तर कहाँबाट देखिन्छ भन्ने त सुसूचित गराएर पर्यटकीय स्थलका रूपमा विकसित गर्न सक्नुपर्छ।”
अर्को, संस्कृतिबारे पनि स्थानीय तथा प्रदेश सरकारले वास्ता गरेका छैनन्। यसको संवर्द्धन र प्रवर्द्धनको योजना अघि सारिएको छैन। संस्कृतिविद् श्रेष्ठ मठमन्दिरको अभिलेख समेत महानगरसँग नभएको गुनासो गर्दै धार्मिक पर्यटन, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि नीति बनाउनुपर्ने बताउँछन्। “कम्तीमा पोखरावासीलाई आधारभूत ज्ञान त हुनुपर्छ,” उनी भन्छन्, “पोखराको पर्यटनका लागि प्रकृति र संस्कृतिको बहस नै हुन सकेको छैन।”
त्यस्तै, पर्यटनका लागि प्रकृतिको संरक्षण गर्दै पूर्वाधारको विकासमा गण्डकी सरकार र पोखरा महानगर चुकेका छन्। पोखराका तालतलैयामा मानवीय अतिक्रमण बढ्नुका साथै प्रदूषित बन्दै गएका छन्। जसले जाडो छल्न आउने चराको आगमन घट्दै गएको चराविद्हरू बताउँछन्। रैथाने चराचुरुंगीको पनि वासस्थान बिथाेलिंदै गएको उनीहरूको भनाइ छ।
पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे पर्यटनको मुख्य जग नै प्रकृति भएकाले यसको संरक्षण गर्नुपर्ने बताउँछन्। प्रकृतिमा रमाउन आउने पर्यटक प्रकृति मासिंदै गरेको संंरचना देखेर उदास हुनुपर्ने अवस्था रहेको घिमिरेको भनाइ छ। “पर्यटकीय राजधानी घोषणा गर्नु राम्रो भए पनि त्यसका लागि आवश्यक पूर्वाधारमा पनि ध्यान दिनुपर्छ,” उनी भन्छन्।
त्यस्तै, पदयात्रीका लागि आवश्यक भाषा अनुवादकको पनि कमी छ। नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका सचिव समेत रहेका घिमिरे विभिन्न देशका पदयात्रीका लागि भाषा अनुवादक आवश्यक भएको बताउँछन्। यस विषयमा कसैले ध्यान नदिएको उनी सुनाउँछन्।
पर्यटकीय राजधानी घोषणा गर्नु मात्रै पर्याप्त नभए पनि यसले पोखरामा पर्यटकको आगमनलाई बढाउने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको भनाइ छ। “पर्यटकीय राजधानी घोषणाले पोखराको पर्यटनलाई मात्र नभएर सबै क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ,” श्रेष्ठ भन्छन्।
अनुमानको भरमा योजना
पोखरामा बर्सेनि कति पर्यटक भित्रिन्छन्? यकीन तथ्यांक छैन। तथ्यांक राख्ने संयन्त्र समेत छैन। जसले गर्दा नेपाल आएका ४० देखि ७० प्रतिशत पर्यटक पोखरा आउँछन् भन्ने अनुमानका आधारमा पोखरा पर्यटनसँग सम्बन्धित योजना बन्ने गरेका छन्।
पर्यटक पोखरामा कति समय बस्छन्, कति खर्च गर्छन्? यसबारे पनि आधिकारिक तथ्यांक छैन। पोखरा आउने पर्यटकको गन्तव्य पोखरा नै हो कि ‘ट्रान्जिट’ मात्रै बनाउने गरेका छन् भन्ने पनि ठोस उत्तर छैन। पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि पर्यटक सम्बन्धी आधिकारिक तथ्यांक नभएको स्वीकार गर्छन्।
गण्डकी प्रदेशले स्थलमार्गबाट आउने पर्यटकको भने तथ्यांक संकलन गर्दै आएको छ। गत पाँच वर्षमा सात लाख ८१ हजार २१४ जना पर्यटक भित्रिएका छन्। जसमा भारतीय पर्यटक चार लाख ५० हजार ९०५ छन् भने तीन लाख ३० हजार ३०९ जना अन्य देशका छन्।
नेपाल प्रहरीका चेकपोस्टमा रिपोर्ट गरिने यो तथ्यांक गत साउन महीनायता त अद्यावधिक पनि हुन सकेको छैन। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी विमल गौतमका अनुसार प्रहरी कार्यालयले नै तथ्यांक संकलन नगर्न भनेको छ। तथ्यांक संकलन गर्ने कार्यले चेकपोस्टमा खटिएका प्रहरीलाई भार थपिएकाले यो काम नगर्न आदेश दिएपछि साउनयता कति पर्यटक गण्डकी प्रदेश आए भन्ने तथ्यांक नराखिएको गौतम सुनाउँछन्।
के छ अध्ययनको निचोड?
प्रदेश सरकारले मंसीर १२ मा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा ११ सदस्यीय पर्यटकीय राजधानी घोषणा अध्ययन समिति गठन गरेको थियो। समितिले गत पुस २६ मा अध्ययन प्रतिवेदन बुझाएसँगै प्रदेश सरकार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न तातेको हो।
पर्यटक आवागमन, खर्च, बसाइँबारे आधिकारिक तथ्यांक नभए पनि अनुमानकै आधारमा तयार गरिएको तथ्यांकमा टेकेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने योजनाको प्रतिवेदन बनेको छ। प्रतिवेदनमा पोखरामा पर्यटन क्षेत्रमा प्रशस्त लगानी भइसकेको र देशका प्रमुख शहरसँग हवाई तथा स्तरीय बस सेवा मार्फत नियमित आवागमन सेवा सञ्चालन भइरहेको, पोखरा पर्यटकका लागि सुरक्षित गन्तव्य रहेकाले पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने उल्लेख छ। यससँगै पर्यटकीय सम्पदा तथा गतिविधिका आधारमा पनि अग्रस्थानमा रहेकाले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नु औचित्यपूर्ण रहेको प्रतिवेदनको निष्कर्ष छ।
प्रतिवेदनमा गण्डकी प्रदेशमा पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक तथा वर्तमान अवस्थामा रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा ऐतिहासिक, पर्यटकीय साहसिक तथा मनोरञ्जनात्मक क्रियाकलापको सूची तयार पारिएको छ। यातायातको पहुँच र आबद्धता, आवास तथा भोजन, पर्यटकीय सुविधा, पर्यटकीय गतिविधि लगायतलाई सूचीकरण गरिएको छ।
अध्ययन समितिका संयोजक देवकोटा प्रतिवेदनले पोखरा पर्यटकीय राजधानी घोषणा हुनुको औचित्यसँगै सुधारका लागि सुझाव पनि दिएको बताउँछन्। पर्यटकीय राजधानी घोषणाले पोखराको ‘ब्रान्डिङ’ हुने बताउँदै पर्यटनमा टेवा पुग्ने संयोजक देवकोटाको भनाइ छ।
राजधानी घोषणा मात्र गरिनु पर्याप्त नरहेका कारण समितिले सुधारका लागि तीन तहका रणनीतिक सुझाव दिएको उनी बताउँछन्। “हामीले प्रदेश सरकार र पोखरा महानगरले अवलम्बन गर्नुपर्ने रणनीतिक कार्यहरू सुझाएका छौं,” देवकोटा भन्छन्, “अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति सहितका सुझाव छन्।”
सुझाव कार्यान्वयन गर्दै जान सकिने भएकाले पर्यटकीय राजधानी घोषणा गर्दा फाइदै हुने अध्ययन समितिका सदस्यहरूको तर्क छ। समितिका सदस्य तथा शहरी योजना आयोग, पोखरा महानगरका उपाध्यक्ष प्रेमलाल लामिछाने पर्यटकीय राजधानी घोषणाले पोखराको पर्यटकीय बजारीकरणमा बल पुग्ने बताउँछन्। देवकोटा भन्छन्, “पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा पर्यटक आगमन बढ्नुका साथै बाह्य तथा आन्तरिक लगानीमैत्री वातावरणको सिर्जना हुन्छ।”