राजेन्द्र महतोको नयाँ चाल
सधैं चर्चा र चासोमा रहने राजेन्द्र महतोले पछिल्लो समय आफू मधेश राजनीतिमा विस्मृत बन्न थालेको भेउ पाएपछि नयाँ चाल चलेका छन्, राष्ट्रिय मुक्ति क्रान्ति अभियान।
साढे तीन दशकअघिको कुरा हो, राजेन्द्र महतो संघीय राजधानी काठमाडौंमा व्यापार व्यवसायमा जमेका थिए। ट्राभल एजेन्सी, कुरिअर सेवा, मोटर सेवा आदी चलाइरहेका थिए। मधेशबाट काठमाडौं उपत्यका आउने धेरै नेता, कार्यकर्ता र सर्वसाधारणले भेट्ने अनुहार हुन्थे।
अहिले भने उनी काठमाडौं-राजनीतिमा जमेका छैनन्। मधेशमा पनि विस्मृत बन्दै गएका छन्। नेता तथा कार्यकर्ता टाढिंदै गएका छन्। भेट्ने मान्छेभन्दा पनि छाड्ने मान्छे धेरै छन्।
मधेशमा पुराना नेता तथा कार्यकर्ताले सोध्न थालेका छन्- महतोको के हुन्छ? उनी अब के गर्छन्?
यही वेला उनले नयाँ बाटो रोजेका छन्, काठमाडौंबाट गाउँतिर। अध्यक्ष महन्थ ठाकुरपछि वरिष्ठ नेताको जिम्मेवारीमा रहेका उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को छोडेर नयाँ राजनीतिक आन्दोलन शुरू गरेका छन्, यसको नाम दिएका छन्- राष्ट्रिय मुक्ति क्रान्ति अभियान।
उनी वेलावेला यस्तै नयाँ नयाँ प्रयोग गर्दै आएका छन्। व्यापार व्यवसायमा जमेका महतोले २०४६ सालमा काठमाडौंको डिल्लीबजारमा नेता गजेन्द्रनारायण सिंहलाई भेटेका थिए। त्यही भेटबाट उनी व्यापार व्यवसाय छोडेर सद्भावना परिषद्मा आबद्ध भए। नेता सिंहप्रति स्कूल तथा कलेज पढ्दा नै आकर्षित थिए।
प्रजातन्त्र पुनःस्थापनापछि भएको २०४८ सालको निर्वाचनमा महतोले सर्लाहीबाट उम्मेदवारी दिए। त्यो वेला खुबै चर्चा पाए पनि नेपाली कांग्रेसकी उम्मेदवार मीना पाण्डेसँग एक हजार ३०० मतले पराजित भए।
तीन वर्षपछि २०५१ सालको मध्यावधि चुनावमा पनि महतो त्यही क्षेत्रबाट उम्मेदवार बने। दोस्रो पटक पनि पाण्डेसँग ३०० मतान्तरले पराजित भए। त्यति वेला पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा पनि सर्लाहीबाट चुनाव लडेका उनी तेस्रा भए।
दुई पटक पराजित हुँदा पनि महतोले हार मानेनन्। मधेशमा चर्चा र लोकप्रियता सँगसँगै बढ्दै गयो। २०५६ सालको निर्वाचनमा महतोले पाण्डेलाई पराजित गरे। पूर्व प्रधानमन्त्री थापा दोस्रो पटक पनि पराजित भए।
प्रतिनिधि सभा सदस्य बनेपछि त मधेशमा महतोको हाइहाइ हुन थाल्यो। नेपाल सद्भावना पार्टीका अध्यक्ष बने। लामो समय माओवादी सशस्त्र द्वन्द्वले राजनीतिक दलका नेता सदरमुकाम केन्द्रित भएको वेला पनि महतोले आफ्नो गाउँठाउँ छाडेनन्।
त्यसकै प्रतिफलस्वरूप २०६४ सालमा भएको संविधानसभाको चुनावमा अत्यधिक मतले विजयी भए। संविधानसभाले संविधान बनाउन सकेन। त्यसको असर महतोलाई पनि पर्यो। २०७० सालमा भएको संविधानसभाको दोस्रो चुनावमा तराई-मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग पराजित भए।
२०४६ सालको जनआन्दोलनमा कार्यकर्ताका रूपमा सहभागी महतो २०६२/६३ को जनआन्दोलनमा भने नेतृत्व पंक्तिमा थिए। त्यसपछि नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भए। यो उनको पहिलो सिंहदरबार प्रवेश थियो।
संविधानसभाको चुनावपछि तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि मन्त्री भए। दाहालको बहिर्गमनपछि तत्कालीन नेकपा (एमाले)का नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा पनि उनी वाणिज्य तथा आपूर्तिमन्त्री भए।
यो क्रम संविधानसभाको पहिलो कार्यकालभरि रह्यो। तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा पनि महतो मन्त्री भए। त्यति वेला भने उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
सत्ता राजनीतिमा माहिर महतो त्यति वेला मधेशमा पनि लोकप्रिय थिए। मधेशकेन्द्रित राजनीतिमा संलग्न अन्य नेताभन्दा उनको कद उँचो थियो। त्यो उनले सद्भावना पार्टीबाटै आर्जन गरेका थिए।
सद्भावनाका अध्यक्ष सिंहको निधनपछि पार्टीको जिम्मेवारी सम्हालेका बद्रीप्रसाद मण्डल तत्कालीन राजा ज्ञानेन्द्र शाहले चालेको कदमको पक्षमा उभिए। त्यसपछि महतोको सक्रियता झन् बढ्यो। उनले सिंहपत्नी आनन्दीदेवी सिंहलाई पार्टी अध्यक्ष बनाएर नेपाल सद्भावना पार्टी (आनन्दी देवी) सञ्चालनमा ल्याए।
दोस्रो जनआन्दोलनको सफलतासँगै भने उनको पार्टीमा सत्ताका लागि हानथाप शुरू भयो। संविधानसभा निर्वाचनको मुखमा आएर पार्टी विभाजन भयो। त्यति वेला महतोले आफ्नै नेतृत्वमा सद्भावना पार्टी गठन गरे। संविधानसभाको निर्वाचनमा सफलता पनि पाए।
त्यो सफलताले सत्ताकेन्द्रित राजनीतितिर आकर्षित गर्यो। महतोले आफ्ना सहयात्रीलाई समेट्न सकेनन्। उनका सबैभन्दा विश्वासपात्र मानिएका अनिलकुमार झा र रामनरेश यादवले आआफ्नै नेतृत्वमा अलग अलग पार्टी गठन गरे।
२०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनको वेलासम्म मधेशमा दर्जन पार्टी गठन भएका थिए। महतोले सबै पार्टीलाई मिलाउने जिम्मेवारी लिए। जसमध्ये महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र महेन्द्र यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी मिलाएर राष्ट्रिय जनता पार्टी गठन गरे। सामूहिक नेतृत्वमा पार्टी चलाउने प्रयास पनि गरे।
२०७४ सालको निर्वाचनपछि नेकपा नेतृत्वमा सरकार बन्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी विभाजन गरेर दुईतिहाइ पुर्याउने प्रयास गरे। समाजवादी पार्टीको विभाजन रोक्न महतो नै अघि सरे।
त्यसपछि महतोले रातारात समाजवादी पार्टीसँग एकीकरण गरे। एकीकरणपछि निर्माण भयो- जनता समाजवादी पार्टी नेपाल। तर सत्ता राजनीतिमा केन्द्रित नेताहरू भएकाले यो पार्टी पनि धेरै दिन टिक्न सकेन। ओली नेतृत्वको सरकारमा सहभागिताको विषयलाई लिएर जनता समाजवादी पार्टी विभाजन भयो।
२०७८ सालमा महन्थ ठाकुरलाई शक्तिशाली बनाउँदै महतोको अग्रसरतामा लोकतान्त्रिक समाजवादी पार्टी गठन भयो। यो पार्टी गठन हुँदा महतो प्रभावशाली देखिएका थिए।
त्यसको अर्को वर्ष २०७९ मा आमनिर्वाचन भयो। त्यसमा महतो सर्लाहीमा पराजित भए। उनको पराजयसँग अध्यक्ष ठाकुरले पनि बेवास्ता गर्न थाले। पार्टीभित्र पनि महतो कमजोर हुँदै गए। उनी निकट नेता अन्य पार्टीमा जान थाले भने पार्टीभित्र पनि हेपिंदै गए। पछिल्लो समय मधेशको राजनीतिमा एक खालको विस्मृत पात्र जस्तै भएका छन्।
मधेसकेन्द्रित दलहरूबीच एकता गरेर बलियो वैकल्पिक शक्तिका रूपमा उभिँदा महतो भने कमजोर हुँदै आएका छन्। मधेशकेन्द्रित दलको एकता महतोलाई कहिल्यै फापेन। “राजनीतिमा टिक्नु महत्त्वपूर्ण हो,” राजनीतिक विश्लेषक रोशन जनकपुरी भन्छन्, “राजेन्द्र महतो टिकिराख्नुभएको छ र एउटा गूटलाई लिएर राजनीति गर्नुहुन्छ।”
अहिले पनि उनले आफू निकट नेता तथा कार्यकर्तालाई समेटेर अभियान शुरू गरेका छन्। मधेशकेन्द्रित राजनीतिमा अडिग रहँदै आएका उनले यस पटक भने अन्य भूभागलाई पनि समेट्न खोजेका छन्। “राजनीतिमा टिकिरहे पनि संसदीय राजनीतिमा कहाँबाट चुनाव लड्ने भन्ने संकट छ,” विश्लेषक जनकपुरी भन्छन्, “विगतमा केवल मधेशकेन्द्रित राजनीति गरे पनि अहिले आदिवासी जनजाति, दलितलाई समेत समेट्ने कोशिश गरेका छन्।”
लोसपामा महतो सँगसँगै रहेका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल भने अन्य क्षेत्रभन्दा पनि मधेशमै केन्द्रित हुनु जरुरी रहेको बताउँछन्। मधेशले सबै क्षेत्रमा समानताको अधिकार खोजिरहेको उल्लेख गर्दै अहिलेको समयमा मधेशका अजेन्डालाई सशक्त रूपमा उठाउने दल नै स्थापित हुने लालको भनाइ छ।
“मधेशकेन्द्रित राजनीतिमा विगतमा कुन व्यक्ति र दलले के काम गरे? त्यसको मूल्यांकन जनताले गर्नेछन्,” लाल भन्छन्, “अहिले कुनै अभियानभन्दा पनि आन्दोलनकारी सबै दल एक ठाउँमा बसेर आफ्नो अजेन्डाका विषयमा छलफल गर्नुपर्ने आवश्यकता छ।”
महतोले भने पार्टी त्यागेर अभियानको शुरूआत गरेका छन्। यसको पहिलो कार्यक्रमका रूपमा फागुन १६ मा काठमाडौंको निषेधित क्षेत्र तोड्न प्रदर्शन गरेका छन्। सरकारले काठमाडौंका दर्जनौं स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। अन्य राजनीतिक दल र भ्रातृ संगठन चूप लागेको वेला महतो भने प्रतिरोधमा उत्रिएका छन्, राष्ट्रिय मुक्ति क्रान्ति अभियानको ब्यानरमा।
यस अभियानलाई मधेशसँगै देशव्यापी बनाएर नयाँ पार्टी गठन गर्ने महतोले बताएका छन्। हिमालसँगको संक्षिप्त कुराकानीमा उनले भनेका छन्, “अभियान चालू हुन्छ। अभियानबाट नयाँ पार्टी निर्माण भइहाल्छ।”
अहिले मधेशमा पहिलेको जस्तो ठाउँ खाली छैन। महन्थ ठाकुर, उपेन्द्र यादव त छँदै छन्, सीके राउत पनि छन्। राउतको जनमत पार्टीले आफूलाई मधेशकेन्द्रित पुराना दल र नेताको विकल्पका रुपमा उभ्याउँदै आएको छ। यस्तो वेला आफूलाई पहिलेकै मधेश राजनीतिको केन्द्रमा उभ्याउन महतोलाई चुनौती छ।