माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कुन प्रदेशमा को?
नेकपा (माओवादी केन्द्र) ले प्रदेश इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ।
माओवादी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले जिम्मेवारी तोकेको हो। कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा सावित्रीकुमारी काफ्ले, मधेश प्रदेशको इन्चार्जमा लीलामणि पोखरेल र सहइन्चार्जमा विश्वनाथ साह, बागमतीको इन्चार्जमा अग्निप्रसाद सापकोटा तोकिएका छन्।
त्यस्तै, गण्डकी प्रदेशको इन्चार्जमा दीनानाथ शर्मा, सहइन्चार्जमा हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गिरिराजमणि पोखरेल र सहइन्चार्जमा बिना मगरलाई तोकिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
माओवादीले प्रवास प्रदेश समिति (मध्यपूर्व) इन्चार्जमा पम्फा भुसाल, भारत इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टीबी पाठक, यूरोप-अमेरिका इन्चार्जमा सुरेन्द्रकुमार कार्की तथा विशेष प्रदेश समिति इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा यशोदा सुवेदीलाई जिम्मेवारी दिएको छ। केही प्रदेशका सहइन्चार्ज तोक्न बाँकी रहेको उनले बताए।
त्यस्तै, बैठकले आगामी चैत १ गतेदेखि गर्ने भनेको मधेश–तराई राष्ट्रिय जागरण अभियान आगामी चैत १५ गतेदेखि गर्ने निर्णय गरेको छ। समय अपुग भएकाले तयारीका लागि उक्त अभियान १५ दिन पछि सारिएको प्रवक्ता सापकोटाले बताए।