एनसेलले ल्यायो खुद्रा विक्रेता प्रोत्साहन योजना
एनसेलले खुद्रा विक्रेता, साना पसल गर्ने व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम ल्याएको छ।
देशभरका खुद्रा विक्रेतालाई प्रोत्साहन र पुरस्कृत गर्न बृहत् रिटेल इन्गेजमेन्ट कार्यक्रम ल्याइएको एनसेलले जनाएको छ। यो कार्यक्रम देशभरका ५० हजारभन्दा बढी खुद्रा विक्रेता लक्ष्यित छ।
कार्यक्रममा सहभागी हुने खुद्रा विक्रेताले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित पोइन्ट आर्जन गर्नेछन्। यसरी आर्जन गरिएको पोइन्टका आधारमा टेलिभिजन, स्मार्टफोन, स्मार्टवाच, पावर ब्यांंक र ब्लूटूथ स्पीकर सहित विभिन्न आकर्षक उपहार पाउन सक्ने एनसेलले जनाएको छ। खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीले एनसेल पसल एप मार्फत एनसेलका सेवा बिक्री गर्न सक्नेछन्।
यस कार्यक्रम अन्तर्गत राम्रो कार्य गर्ने एक हजारभन्दा बढी उत्कृष्ट खुद्रा विक्रेताले विशेष उपहार पाउनेछन्। जसमा एक भाग्यशाली सहभागी खुद्रा विक्रेताले कार्यक्रमको अन्त्यमा बाइक जित्न सक्ने कम्पनीले जनाएको छ।
यसका लागि ५०० भन्दा बढी फील्ड फोर्स टोली सदस्यहरू संलग्न हुनेछन्। प्रत्येक महीना १५० भन्दा बढी सदस्यलाई उत्कृष्ट कार्यका लागि प्रोत्साहनस्वरूप विभिन्न उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।