राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी निर्णय
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।
माओवादी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। “अहिले हाम्रो पार्टीले पनि उम्मेदवारी दिने निर्णय गरेको छ,” सापकोटाले भने।
यस विषयमा गठबन्धनभित्र पनि छलफल हुने उनको भनाइ छ। अहिले निर्णय गरेको भए पनि छलफलबाटै निष्कर्षमा पुग्न सकिने उनले बताए। राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्ने विषयमा अधिकांश सदस्यले धारणा राखेको उनले बताए।
राष्ट्रिय सभा अध्यक्षको पद यही फागुन २० गतेदेखि रिक्त हुँदै छ। अध्यक्षका लागि सत्ता गठबन्धनभित्रकै विभिन्न दलले दाबी गरिरहेका छन्।