बिजुलीको पोल ढल्दा च्यापिएका वडा सदस्यको मृत्यु
बिजुलीको पोल ढलेर लाग्दा घाइते भएका मकवानपुरको बकैयाका रामकुमार तितुङको मृत्यु भएको छ।
मकवानपुरको बकैया गाउँपालिका-७, मानदमारमा फागुन १५ गते दिउँसो १ः३० बजे घर अगाडि हिंडिरहेको वेला एक्कासि बिजुलीको पोल ढलेको थियो। पोलले च्यापिएर घाइते भएका तितुङलाई उपचारका लागि हेटौंडाको चुरेहिल अस्पताल लगिएको थियो।
हेटौंडामा उपचार हुन नसकेपछि भरतपुरको चितवन मेडिकल कलेज लगिएको थियो। भरतपुरमा उपचारका क्रममै गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
उनी बकैया गाउँपालिका-७ का वडा सदस्य हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।