जसका सुरहरूको माया लागेर आउँछ
‘मेरो जीवनमा पटक पटक षड्यन्त्रहरू भए। २०२१ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिन काठमाडौं आउँदा नातिकाजीले संगीत दिन मानेनन्। स्वर परीक्षापछि म लगभग धपाइएँ। २०३० सालमा अधिराज्यव्यापी राष्ट्रिय गीत सम्मेलनमा प्रथम भएपछि सबै संगीतकर्मीहरूबाट घेरिएँ। २०४६ सालमा सांघातिक हमलामा परें। क्यान्सर भो। जिब्रो काटियो। पटक पटक आत्महत्याको प्रयास गरें। श्रीमती र छोराहरूको मुख हेरेर बाँचिरहेको छु। वास्तवमा म महाअभागी मान्छे हुँ।’
२०७७ मंसीर १० गते ललितपुर महालक्ष्मीस्थानस्थित निवासमा मसँगको अन्तर्वार्तामा भजनशिरोमणि भक्तराज आचार्यले भनेका थिए। करीब एक दशकको प्रतीक्षापछि आचार्य पुत्रद्वय सत्य-स्वरूपले यो अन्तर्वार्ताको चाँजोपाँजो मिलाइदिएका थिए। त्यसो त म सत्य-स्वरूपपछि घरको प्यारो सदस्यमध्ये पर्थें। तर अन्तर्वार्ता दिन अस्वीकार गरिरहेका थिए। कारण थियो- पत्रकारिता गर्नेहरूको न्यून संगीत चेतना। भन्थे, “सोध्छन् एकातिर, छाप्छन् अर्कातिर। संगीतको बेसिक ज्ञान नभएकाले यो क्षेत्रको प्रचारक बन्नु राम्रो होइन।”
फागुन १५ गते दिउँसो राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा भक्तराजको दाहसंस्कार भइरहँदा मेरो मनमा भने उनका तिनै वाक्य गुन्जिरहे। मेरो मनमा उनको लामो उतारचढावयुक्त जीवनयात्रा कुदिरहेको थियो।
विसं १९९९ मा धनकुटामा जन्मिएका थिए, उनी। २००० सालमा परेको खडेरीका कारण परिवारसँगै उनी पनि भारतको आसाम पुगे। त्यहाँ सपरिवार ३० वर्ष बिताएका उनी दुम्सीपाडा चिया बगानमा काम मात्रै गर्दैनथे, संगीतको अभ्यास गर्थे, सिक्थे। २०२१ सालमा रेडियाे नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेर डुवर्स फर्केपछि उनले १० वर्षमा संगीत प्रभाकर समेत सकेका थिए। त्यही जग नै उनलाई स्वर, सुर र संगीतको उचाइमा पुर्याउने कसी बनिदियो।
संयोगले भरिएको जीवन
२०२४ सालमा पश्चिम बंगालमा सांस्कृतिक कार्यक्रमका क्रममा संगीतकार अम्बर गुरुङ डुवर्स पुगेका थिए। भक्तराज आचार्यले हिन्दी र बांग्ला भाषामा गाए। त्यति वेला आफ्नो स्वरको प्रशंसा गरेका गुरुङसँग २०३० सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गायन प्रतियोगिताका लागि गीत माग्न गए। गुरुङले गीत र संगीत दुवै दिए, ‘होशियार यस बखत समयको मुखलाई चिन।’ उक्त प्रतियोगितामा स्वरतर्फ प्रथम भएसँगै शुरू भए भक्तराज आचार्यका वास्तविक संघर्षका दिनहरू।
त्यसो त २०२० र ३० को दशकलाई नेपाली संगीतको स्वर्णिम काल मान्ने गरिन्छ। त्यो कालखण्डमा रेडियो नेपालबाट उदाएका गायक-संगीतकारहरू नातिकाजी, शिवशंकर, प्रेमध्वज प्रधान, माणिकरत्न, नारायणगोपाल, फत्तेमान राजभण्डारी, दीप श्रेष्ठ, बच्चु कैलाशको बोलवाला थियो। प्रवासबाट आएका अम्बर गुरुङ, गोपाल योञ्जन, कर्म योञ्जन, अरुणा लामाहरूले पनि आफ्नो स्थान बनाइरहेका थिए।
एक प्रकारले रेडियो नेपालमा ‘भित्रिया र बाहिरियाहरू’ को रस्साकस्सी चलिरहेको थियो। वर्ष दिनमा बढीमा तीन वटा गीत रेकर्ड गर्ने अवसर पाइन्थ्यो। रेडियो नेपालका कर्मचारी र हाकिमहरूको रवैया चर्कै थियो। उनीहरूलाई मन परे गीत बज्थ्यो। अर्कै गीतको फर्माइस पनि मन परेका मान्छेको गीतमा ल्याइन्थ्यो। मन नपरे गीत मेटाउनेदेखि कार्टेजका तारहरू छिनाउनेसम्मका हर्कत हुन्थे।
भक्तराज आचार्यले २०३० को राष्ट्रिय गीत प्रतियोगितामा स्वर्ण पदक जित्दा निर्णायक थिए- नारायणगोपाल, अम्बर गुरुङ र बच्चु कैलाश। त्यसको तीन वर्षपछि तीनै जनाले भक्तराज आचार्यसँग प्रतिस्पर्धा गर्नुपरेको थियो।
३० र ४० को दशकका सर्वाधिक दुई चर्चित गायक हुन्– नारायणगोपाल र भक्तराज आचार्य। यिनीहरूको जीवनका संयोग पनि बडा रोचक छन्, कुनै किंवदन्ती जस्तै।
असोज १६ र १९ को जन्म। २०४६ मंसीर १९ मा भक्तराज आचार्यको दुर्घटना। त्यसको अर्को वर्ष २०४७ मा सोही दिन नारायणगोपालको निधन। संगीतमा उस्तै। गायकीमा उस्तै। गीत रोजाइमा उस्तै। व्यक्तिगत अहंमा उस्तै। एक हिसाबले उनीहरू एउटा जंगलका दुइटा सिंह थिए। तर दुर्भाग्य एउटाको देहावसान भयो। अर्का परे दुर्घटनामा र जिब्रो काटियो। गाउन नसक्ने भए। जंगल अहिले पनि खाली छ। अहिले केही बाघहरू त होलान् तर सिंहको गर्जन सुन्न पाइएको छैन।
सेतुरामले शुरू गरेको गजल गायनलाई मोतीराम भट्टकै गजल ‘यतिसम्म प्रीति गरीगरी न यता भएँ, न उता भएँ’ रेकर्ड गरी गजल गायनलाई संस्थागत गर्न भक्तराज आचार्यको योगदान अग्रणी छ। उनी त्यस्ता गायक एवं संगीतकार हुन् जसले मेहदी हसन, गुलाम अली र शौकत अली खाँ जस्ता पाकिस्तानी तथा भारतीय गजल गायकहरूको प्रशंसा र आशीर्वाद प्राप्त गरेका थिए। फलस्वरूप एक दशकअघि उनको जीवनकथामा आधारित सिनेमा आचार्यको शूटिङका क्रममा गुलाम अली काठमाडौं आएर भक्तराज आचार्यको भूमिका निर्वाह गरेका सत्यराज आचार्यसँग अभिनय गरेका थिए।
२०५० को दशकपछि ३० र ४० को दशकमा जस्तो संगीतमा उछाल कहिल्यै आउन सकेन। गीत, संगीत र साहित्य बुझेर, गमेर गीत गाउने र संगीत भर्ने गम्भीर सर्जकको कमी देखियो। अभ्यास गर्ने बैठकी र ज्ञान आदानप्रदानका ढोकाहरू बन्द हुन थाले। सर्जक भाइरल त भए। सिर्जना मर्यो।
भगवान्का गीत गायक
‘हजार सपनाहरूको माया’, ‘जति चोट दिन्छ्यौ देऊ मायालु’, ‘मुटु जलिरहेछ’ जस्ता प्रेमिल गीत र ‘जहाँ छन् बुद्धका आँखा’ जस्तो देशप्रेमी गीतका गायक भक्तराज भजन गायक पनि हुन्। शिवगोपाल रिसाल, पुरुषोत्तम सापकोटा र लक्ष्मण लोहनीहरूसँगको सान्निध्यसँगै शुरू भएको हो, भक्तराजको भजन गायन।
अध्यात्ममा बढी विश्वास गर्ने भक्तराजले ३०० भन्दा बढी भजन रेकर्ड गराउँदा आफूलाई भगवान्को नजिकको मनुष्य ठान्थे। उनी भन्थे, “भगवान् भनेको सत्य हो र प्रकृति हो। ब्रह्ममा गुन्जिएको आवाज भगवान्को कानमा पक्कै पुग्छ। त्यसैले मैले भजन गाएँ। म यस्तो अवस्थामा बाँच्नु पनि त्यही भगवान्को कृपा नै हो जस्तो लाग्छ। खासमा म पहिल्यै मर्नुपर्ने हो।”
त्यही गायनको कसीमा उनलाई भजन शिरोमणिको उपाधि समेत जनस्तरबाट प्राप्त छ।
‘एक दिन मैले प्रभुसँग सोधें’, ‘तन, मन वचनले’, ‘सब निदाए प्रभु’ जस्ता उनको स्वरमा सजिएका भजन आज पनि धार्मिक अनुष्ठानका अग्रपंक्तिका भजन हुन्।
संगीतका आनिबानी
संगीतमा सबैभन्दा शक्तिशाली उनलाई सुर लाग्थ्यो। त्यसपछि उच्चारण। शब्द छनोट र अन्तिममा गायकी। तर गायकीलाई पहिलो नम्बरमा ल्याउन सकिएन भने सबै अन्तिम नम्बरमा हुन्छन् भन्ठान्थे। भन्थे, “गीतको शब्द मात्रै राम्रो भएर हुँदैन। त्यसको भाव, मूड र रसलाई संगीतकारले बुझ्न सकेन भने त्यो अगीत बन्छ, जुन सुन्न सकिन्न।”
संगीतको स्वरलिपि लेख्ने क्षमता राख्ने भक्तराजका प्रायः गीत आफ्नै संगीत संयोजन र प्रोग्रामिङका हुन्। संगीतको अथाह ज्ञानका कारण उनलाई अलि दम्भी भनेर बुझ्ने उनका समकालिक पनि थिए। त्यसैले त उनी भन्थे, “म भेटघाट र बैठकीहरूमा साथीका कमीकमजोरी औंल्याइदिन्थें अनि मलाई उनीहरू घमण्डी भन्थे।’
एक पटक कवि ईश्वरवल्लभ, नारायणगोपाल, फत्तेमान राजभण्डारीहरूको जमघटमा सुर र उच्चारणको कुरा उठेछ। उनले गलत उच्चारण औंल्याइदिएपछि नारायणगोपालले मुसुमुसु हाँसेर स्वीकार गरेको सुनाइरहन्थे।
उनी भन्थे, “नारायणगोपाल र म खूब मिल्थ्यौं। उनी मर्छन् र मेरो दुर्घटना हुन्छ भन्ने हामीलाई के थाहा? हाम्रा सहकार्यका कुरा पनि भएका थिए। तर तिनले मूर्त रूप लिन पाएनन्। जमघटमा सोमरसपानमा हुँदा पनि हामीले संगीत बाहेक अर्को विषयमा कहिल्यै कुरा गरेनौं। एकअर्काको कमजोरीका कुरा गर्यौं। हामीबीच प्रतिस्पर्धा त थियो होला तर देखिने गरी कहिल्यै बाहिर आएन।”
अर्का प्रतिस्पर्धी फत्तेमान राजभण्डारी त उनका जिग्री साथी थिए। उनले आफूसँग युगल गीत गाएको पैंचो तिर्न ‘चौतारीमा राजा भेटियो’ बोलको गीत फत्तेमानसँग गाइदिएका थिए। यद्यपि उनको पञ्चायतभक्ति थिएन त्यो, थियो त मित्रता।
भक्तराजको दुर्घटनापछि १३ र ११ वर्षका छोराहरू सत्य-स्वरूप बुबाका गीत गाउँदै स्टेज चढेका थिए। संगीतमा रुचि भए पनि फरक क्षमताका उनीहरूको सांगीतिक क्षेत्रमा आगमन सोचेभन्दा चाँडो भयो। छोराहरूको संगीत अभ्यासमा पनि भक्तराज निर्मम नै थिए। बुबाको सुर र स्वरको अघि सत्य–स्वरूप थर्थर हुन्थे। उनीहरूले रेकर्ड गरेको पहिलो गीत भक्तराजले रेडियोबाट नै सुनेका थिए। जीवनको पछिल्लो चरणमा भने आफ्नै जीवनकथामा बनेको चलचित्र आचार्यमा उनले छोराहरूलाई साथमा राखेर दुई वटा गीतमा संगीत भरेका थिए।
उनलाई समकालीन कविका गीत गाउन निकै मन थियो तर ती कविमा देखिएको दम्भ तगारो बनिदियो। बरु उनले नयाँ प्रतिभावान् कवि–गीतकारका गीतमा संगीत भरे। त्यही मेसोमा थपिएका थिए- कवि दिनेश अधिकारी। भक्तराजले अनुरोध गरेपछि दिनेशले रचेर हुलाकबाट पठाएको गीत हो- ‘जीवन भनूँ त घात छ, मृत्यु भनूँ त सास छ, दोधारमा बाँचूँ कति, हर गीतमा चीत्कार छ।’
संगतको हिसाबले कवि ईश्वरवल्लभ उनका नजिकका कवि थिए। उनैका धेरैजसो गीतमा उनले संगीत भरे, गाए। अनि एउटा यस्तो कालजयी गीतको जन्म भयो, जुन उनको महाप्रस्थान र अन्त्येष्टिको गान बन्यो- ‘हजार सपनाहरूको माया लागेर आउँछ।’
भक्तराजलाई इतिहासमा निकै रुचि थियो। पटक पटक भेट्दा उनी इतिहासका कुरा गर्थे। राजा-महाराजाका योगदान र अवसानका कुरा गर्थे। शासकीय व्यवस्था र चुनौतीका कुरा गर्थे। वर्तमान राजनीतिको भ्रष्ट अभ्यासप्रति उनी असन्तुष्ट थिए। उनले राष्ट्रिय सम्मान त पाए तर उनी आफैं भन्थे, “मरेपछिको सम्मानले केही हुँदैन। यदि केही हुन्छ भने जीवित हुँदा नै त्यसको कदर हुनुपर्छ।”
५०० भन्दा बढी रेकर्डेड गीतको अर्काइभ, आफ्नै जीवनीमा आधारित सिनेमा आचार्य, आफ्नै संगीतको घरानालाई पछ्याइरहेका दुई छोरा सत्य-स्वरूप तथा नातिहरू संगीतराज र सरगमराजको गलामा साक्षात् सरस्वतीको वास गराएर परमधाम भएका भक्तराज आचार्य नेपाली आधुनिक संगीतका एक सच्चा भक्त थिए, जसले आफ्नो सक्रिय जीवनको १५ वर्षमा १५ सय युगलाई पुग्ने गीत गाइदिए। नेपाली संगीतको एक युगलाई अमर बनाउन भोको पेटले हार्मोनियमका रिडहरू फिटे। तर उनको एउटा सपना अधुरै रह्यो- आफ्नो आत्मकथा ‘महाअभागी’ लोकलाई अर्पण गर्ने। जेठा छोरा सत्यराजले उतारेको उनको जीवनकथा।
अन्तर्वार्ताका क्रममा मैले सोधेको थिएँ, “जिब्रो काटिंदा तपाईंलाई कस्तो अनुभूति भयो?”
“बाबु, साँच्ची भनूँ, आज तिम्रो जिब्रो नभएको भए कस्तो महसूस हुन्थ्यो होला?,” उनले भने।
उनको जवाफ सुनेपछि मैले मेरो आँसु पुछेको थिएँ।
आज नेपाली संगीत क्षेत्रको गला अवरुद्ध भएको दिन हो।
नेपाली संगीतका व्याकरण हुन्- भक्तराज आचार्य। एनालग प्रविधिमा उनको आवाजमा रेकर्ड भएका उनका ‘एक टेक’ का आवाजमा अब कसैको सम्पादन चल्न सक्दैन। उनले भरेका सुरहरूको ब्रह्मलाई समात्न सक्नेले उनको संगीतको व्याकरणबाट शब्द, वाक्य र अनुच्छेदहरू बनाउन सक्नेछ। संगीतका नादहरूमा आफ्ना नयाँ पाइलाहरू बनाउँदै जानेछ।
‘मेरा ती स्वरहरूलाई थुन्नु त्यति भएन,
बाँच्ने रहर फेरि मनमा भएर आउँछ !
हजार सपनाहरूको माया लागेर आउँछ !!’