रूसमा बितेका श्रीमान्को शव खोजिरहेकी भद्रा
भद्राले रूसमा हुने भरतका सबै साथीसँग अनुनय गर्दा पनि शव फर्काउन सकेकी छैनन्। उनलाई आफ्ना श्रीमान् कुन दिन, कस्तो अवस्थामा, के भएर बिते भन्ने पनि जानकारी छैन।
कैलाली, टीकापुरका ३६ वर्षीय भरतबहादुर शाही गत साउन ३० मा रूसी फौजमा भर्ती नभएको भए अहिले तीनमहीने छोरीलाई भिडिओ कलमै भए पनि हेर्न पाउँथे। तर अहिले भरत बितेकै तीन महीना भइसक्यो, उनको परिवारले शव समेत हेर्न पाएका छैनन्।
गत वैशाखमा पाँच लाख रुपैयाँ ऋण गरेर सुरक्षा गार्डको काम गर्न नेपालबाट दुबई पुगेका उनी उतैबाट रूस हानिएका थिए। दुबईमा ४० हजार रुपैयाँ मात्र तलब थियो, रूसी फौजमा महीनामै ‘लाखौंको आम्दानी’ हुने भन्दै साथीहरूले सुनाएका थिए।
भरतले पनि परिवारलाई रूस पुग्न पाए विदेश जाँदाको ऋण चाँडै तिर्न सकिने बताएका थिए। श्रीमती भद्रालाई त एक वर्ष मात्र रूसी फौजमा काम गरे स्थायी आवास अनुमति मिल्ने, परिवार लैजान सकिने र महीनाको चार लाख रुपैयाँसम्म कमाइ हुने सुनाएका थिए।
भरतको प्रस्तावमा भद्राको भने सहमति थिएन। उनले धेरै नेपालीको मृत्यु भइरहेको सुनाउँदै युद्धग्रस्त क्षेत्रमा नजान अनुनय गरिरहिन्। तर भरतले समाचारहरूको विश्वास नगर्न भन्दै पुनः पाँच लाख रुपैयाँ जोहो गर्न भने। “समाचारमा भए जस्तो हुँदैन रे। युद्ध त रोकिइसकेको छ रे। पैसा राम्रो हुन्छ रे। खानलाउन पनि धेरै राम्रो व्यवस्था छ रे। त्यसैले धेरै समाचार नहेर। नसुन,” भरत भद्रालाई यस्तै यस्तै भन्थे।
भरतले बारम्बार पैसा खोजेर पठाउन दबाब दिएपछि भद्राको केही सीप लागेन। उनले टीकापुरमा रहेको घर र एक कट्ठा जमीन ब्यांकमा धितो राखेर साउन पहिलो साता दुबईमा रहेका श्रीमान्लाई पठाइन्।
त्यसपछि एकै पटक भरतले उनलाई साउन ३० गते आफू सहित केही साथीहरू रूस पुगिसकेको बताए। भद्रासँग उनको कुराकानी सामाजिक सञ्जाल ‘इमो’ मार्फत हुन्थ्यो। भरत प्रायः अडियो सन्देश मात्र पठाउँथे।
रूस पुगेको एक महीनासम्म त भरतले आफू तालीममा रहेको मात्र बताइरहे। तालीममा मीठोमसिनो खाएको, फिल्म हेर्नदेखि खेल्न समेत समय हुने गरेको सुनाए। कहिले गीत गाएर त कहिले टिकटक भिडिओ बनाएर पठाए।
कहिलेकाहीं भद्रा डर मान्दै त्यहाँको स्थितिबारे सोध्थिन्। “यहाँ डराउनुपर्ने केही छैन। सबै राम्रो छ। तिमी छोराको मात्र ख्याल राख, आफ्नो, बाआमाको ख्याल राख,” भरत यस्तै भनेर जवाफ फर्काउँथे।
एक्कासि गत कात्तिक २६ गते लक्ष्मीपूजाको दिन साँझ साढे पाँच बजे भरतले निराशभावमा भद्रासँग कुरा गरे। त्यस दिन उनीहरूको छोरीको न्वारन गरेको दुई दिन मात्र भएको थियो। उनले छोराछोरी कसैका बारेमा सोधखोज गरेनन्। “अब म पैसा पठाउन सक्दिनँ होला। यहाँ पैसा पठाउने माहोल पनि छैन। अब म यहाँबाट भाग्छु होला,” भरतसँग भएको संवाद उद्धृत गर्दै भद्राले भनिन्।
भरतले ‘अब म भाग्छु होला’ भनेको सुन्नासाथ भद्राले आँसु थाम्न सकिनन्। भरतले उनलाई सम्झाउँदै भने, “अब तिमी रुन नथाल। तिमी रुन्छ्यौ भनेरै मैले धेरै कुरा भनेको थिइनँ। एक पटक तिम्रो हाँसेको अनुहार हेरेर जान्छु।”
यत्तिकैमा फोन सम्पर्क टुट्यो। यसपछि भरतले फेरि भद्रालाई कहिल्यै फोन गरेनन्।
भद्राले रूसमा भएका भरतका अरू साथीहरूलाई पनि फोन गरिन्। तर कसैसँग सम्पर्क हुन सकेन। एकै पटक गत मंसीर २८ गते भरत बितेको खबर पाइन्। भरतसँगै एउटै बटालियनमा भएका साथीले खबर सुनाएका थिए। तर भद्रालाई विश्वासै भएन। उनलाई भरतको दुर्घटना मात्र भएको हो भन्ने लागिरह्यो।
तर भद्रालाई बहिनी मान्ने भरतसँगै बस्ने व्यक्तिले नै ‘भरतलाई बचाउन सकेनौं बहिनी’ भनेपछि उनी छाँगाबाट खसे जस्तै भइन्। उनी अचेत भइन्।
“भरतको अन्तिम संस्कार पनि गर्नू। उसको मृत्यु भइसकेको छ। हामीले देखेका छौं। अब भरत रहेनन्,” ती व्यक्तिले भद्रालाई भनेका थिए।
अन्तिम संस्कार भयो, शव आएन
भरत रूसी फौजमा हुँदा भद्रा गर्भवती थिइन्। त्यसैले भरतले हरेक पटक आफूलाई राम्रो भइरहेको मात्र सुनाएका रहेछन्। त्यहाँ उनी कष्टकर जीवन बाँचिरहेका भन्ने भरत बितेपछि मात्र भद्राले थाहा पाइन्। “पहिलो महीना तालीम हुँदा मात्र (सहज जीवन) भयो बहिनी। त्यसपछि कुकुर जति पनि हाम्रो इज्जत छैन। मरेपछि यहाँ मान्छे फ्याँकिदिन्छन्। लासको बीचबाट हामी लडाइँ गर्छौं,” भरतका साथीहरूले भनेका थिए, “भागदौड मात्र चल्छ। फोटो त खिच्न सकिन्न, कसरी लास पठाउने बहिनी?”
भद्राले रूसमा हुने भरतका सबै साथीसँग अनुनय गर्दा पनि शव फर्काउन सकेकी छैनन्। उनलाई आफ्ना श्रीमान् कुन दिन, कस्तो अवस्थामा, के भएर बिते भन्ने पनि जानकारी छैन।
कसैले मंसीरतिरै बितेको भन्छन्। कोही कात्तिक अन्तिममा पनि भन्छन्। आफूले अन्तिम पटक कात्तिक २६ गते कुरा गरेको र मंसीर २८ गते ‘केही दिनअघि बितेको’ भन्ने खबर पाएकाले मंसीरमै श्रीमान् बितेको हुन सक्ने उनी अनुमान लगाउँछिन्।
गत पुस १ गते परिवारले टीकापुरको दैलपुर घाटमा कुशको शव बनाएर भरतको अन्तिम संस्कार पनि गरिसक्यो। तर सरकारले पहल गरिदिए श्रीमान्को शव भए पनि पाउने आशामा छिन् भद्रा।
उनलाई अहिले पनि श्रीमान्लाई बचाउन सकिन्थ्यो कि भन्ने लाग्छ। “बरु मैले उहाँले रूस जान्छु भनेर पाँच लाख माग्दा नपठाएको भए रिसाउनुहुन्थ्यो होला तर मान्छे त बच्नुहुन्थ्यो,” भद्रा सुनाउँछिन्।
अहिले भद्राको काँधमा चार वर्षीय छोरा डेभिड शाही र तीन महीनाकी छोरी युहान्सा शाहीको पनि जिम्मेवारी छ। भरत दुबई र रूस जाँदा लिएको १० लाख ऋण पनि छँदै छ। यही सन्तापका बावजूद भद्रा गत फागुन १० गते दूधे बच्चा च्यापेर २० घन्टा यात्रा गरी कैलालीबाट काठमाडौं आइपुगिन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफ्नो श्रीमान्को शव ल्याइदिन र क्षतिपूर्तिको मागदाबी गर्नु थियो।
रूसी सेनामा रहेका नेपाली युवाका आफन्तजनले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना अभियानको नेतृत्व गरिरहेकी कृतु भण्डारीले भद्रा लगायत रूसमा आफन्त गुमाएकाहरूलाई सघाइरहेकी थिइन्। तर धेरै प्रयास गर्दा पनि उनीहरूले प्रधानमन्त्रीलाई भेट्न पाएनन्।
कैलाली घरमा बुहारीले छोराको शव भए पनि ल्याउँछिन् भनेर भद्राका सासूससुरा पर्खिरहेका थिए। तर उनी मनभरि बोझ मात्र बोकेर फर्किसकिन्।
भद्रा घरिघरि सामाजिक सञ्जाल खोल्छिन्। त्यहाँ रूस जान धेरै नेपालीले खुट्टा उचालेको, जोशिएको पनि देखिन्छन्। त्यस वेला उनलाई लाग्छ, “यी गएर बिते भने यिनले भन्दा परिवारले धेरै दुःख पाउँछन्। यहाँ मर्नेलाई भन्दा जिउनेलाई गाह्रो रहेछ। त्यसैले कोही श्रीमतीहरूले आफ्नो श्रीमान्लाई कुनै हालतमा त्यहाँ जान नदिऔं।”