जनमतको अवरोधपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
मुख्यमन्त्री सरोजकुमार यादवले माफी नमागेसम्म संसद् सञ्चालन गर्न नदिने भन्दै जनमत पार्टीले अडान लिएपछि मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ।
मंगलबारको प्रदेश सभा बैठक शुरू हुनासाथ जनमत पार्टीका सांसद चन्दन सिंहले महेशप्रसाद यादव लगायत प्रदेश सभा सदस्यहरूमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठी प्रहार गरेको र सोही घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नुपर्ने भन्दै उठेर विरोध जनाएका थिए। तर सभामुख रामचन्द्र मण्डलले बैठक शुरू गर्न आग्रह गरी खेलकूद तथा समाज कल्याणमन्त्री सुरिताकुमारी साहलाई ‘प्रदेश बाल अधिकार ऐन, २०७७ संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए।
यसपछि जनमत पार्टीका प्रदेश सभा सदस्यहरूले सभामुखकै अगाडि पुगेर नाराबाजी गरेका थिए। नाराबाजी नरोकिएपछि बैठक १० मिनेटका लागि स्थगन गरी दलीय सहमतिको प्रयास गरिएको थियो। तर जनमत आफ्नो अडानबाट पछाडि नहटेपछि सभामुख मण्डलले अर्को सूचना जारी नहुन्जेल बैठक स्थगन गरेका हुन्।
मधेश प्रदेशका प्रदेश सभा सदस्य रामअशिष यादवले बुधबार दलीय बैठक बसी जनमतले राखेका मागको विषयमा सहमति गरिने र त्यसपछि प्रदेश सभाको बैठक शुरू गरिने जानकारी दिए।