नेपाल विरुद्ध नामिबिया २० रनले विजयी
टी-२० त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नामिबिया २० रनले विजयी भएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०६ रन बनाएको थियो। नामिबियाका लागि ब्याटर जान निकोल लोफ्टी इटनले ३३ बलमा शतकीय पारी खेलेका थिए।
बलिङतर्फ नेपालका लागि कप्तान रोहित पौडेलले दुई, करन केसीले एक तथा अविनाश बोहोराले एक विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले खराब शुरूआत गरेको थियो। नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः शून्य र ६ रनमा आउट भएका थिए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४८, कप्तान रोहित पौडेलले ४२ रन, कुशल मल्लले ३२, सोमपाल कामीले २६, गुल्सन झाले १२, विवेक यादवले ६, सन्दीप जोराले पाँच तथा करन केसीले दुई रन बनाए। अन्तिम विकेटका लागि आएका अविनाश बोहोराले रनको खाता खोल्न सकेनन्। नेपाली टोली १८ ओभर पाँच बलमा १८६ रनमै समेटियो।
बलिङतर्फ नामिबियाका रुबेन ट्रम्पेल्मानले चार, बर्नार्ड स्कोल्जले दुई, जान फ्राइलिंकले दुई तथा इटनले दुई विकेट लिए।
प्रतियोगितामा नेपाल र नामिबिया सहित नेदरल्यान्ड्स पनि सहभागी छ। दोस्रो खेल अन्तर्गत भोलि बिहान साढे ११ बजेबाट नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दै छन्।