मुख्यमन्त्रीले माफी माग्नुपर्ने भन्दै जनमतका सांसदद्वारा नाराबाजी
जनमत पार्टीका मधेश प्रदेश सभाका सदस्यहरूले संसद् बैठकमा नाराबाजी गरेका छन्।
प्रदेश सभाको बैठक शुरू हुनासाथ जनमत पार्टीका सांसद चन्दन सिंहले महेशप्रसाद यादव लगायत प्रदेश सभा सदस्यहरूमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठी प्रहार गरेको र सोही घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नु पर्ने भन्दै उठेर विरोध जनाएका थिए। तर सभामुख रामचन्द्र मण्डलले बैठक शुरू गर्न आग्रह गरी खेलकूद तथा समाज कल्याणमन्त्री सरिताकुमारी साहलाई ‘प्रदेश बाल अधिकार ऐन, २०७७ संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए।
यसपछि जनमत पार्टीका प्रदेश सभा सदस्यहरूले सभामुखकै अगाडि पुगेर नाराबाजी गरेका थिए। नाराबाजी नरोकिएपछि बैठक १० मिनेटका लागि स्थगन गरिएको छ।