अस्ताए ‘हजार सपनाहरूको माया’
नेपाली सुगम संगीतमा अजम्बरी एउटा नाम अब हामीमाझ सशरीर रहेन। ‘हजार सपनाहरूको माया लागेर आउँछ’, ‘जति चोट दिन्छ्यौ देऊ मायालु’ जस्ता प्रेमिल र ‘जहाँ छन् बुद्धका आँखा’ जस्ता देशप्रेमी गीत एवं ‘एक दिन मैले प्रभुसँग सोधें’ जस्ता भजनबाट जनमनमा बस्न सफल गायक भक्तराज आचार्यको निधन भएको छ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार साँझ मेडसिटी अस्पताल लगिएको थियो। उनको केही बेरअघि निधन भएको अस्पतालले जनाएको छ।
८१ वर्षअघि १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको परिवार २००० सालमा भारतको पश्चिम बंगालस्थित डुवर्समा बसाइँसरेको थियो। उनी २०३० सालमा रेडियो नेपालको आधुनिक गायन प्रतियोगितामा प्रथम भएर व्यावसायिक गायनमा प्रवेश गरेका थिए। यद्यपि गायन यात्रा डेढ दशक मात्र रह्यो।
२०४६ मंसीर १९ गते सांघातिक आक्रमणमा परेका आचार्यको क्यान्सरका कारण २०५० सालमा जिब्रो काट्नुपरेपछि गायन यात्रा रोकिएको थियो। तथापि उनका दुई छोराहरू सत्यराज र स्वरूपराज आचार्यले उनका ‘हजार सपनाहरू’ पूरा गरिरहेका छन्।
आचार्यको पार्थिव शरीर आज अस्पतालमै राखी भोलि मात्रै अन्त्येष्टि गर्ने परिवारको निर्णय रहेको अस्पतालले जनाएको छ।
उनको जीवनमा आधारित चलचित्र ‘आचार्य’ बनेको छ। जसमा छोरा सत्यराजले उनको भूमिका निर्वाह गरेका छन्।