दूध आयातमा प्रतिबन्धले कसलाई फाइदा?
स्वदेशी उत्पादनले बजार नपाएको व्यवसायीको गुनासो सम्बोधन गर्न सरकारले विदेशबाट दूध आयातमा प्रतिबन्ध लगाएको छ। यसले किसानको समस्या समाधान होला?
देशभरका किसानले दूध बेचेको पैसा नपाएपछि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। यस्तो वेला सरकारले भने दूध तथा दुग्ध पदार्थको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार दूध तथा दुग्ध पदार्थ आयातमा पूर्ण बन्देज लगाउने निर्णय गरेको हो। चिल्लो हटाइएको दूध (स्किम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको दूध, हरेक प्रकारको धूलो दूध, नौनी (बटर), घ्यू, छुर्पी, भुजुरी वा धूलो नपारेको चीज, भुजुरी पारेको वा धूलो पारेको सबै प्रकारका चीज आयातमा पूर्ण रूपमा रोक लगाउने मन्त्रालयको निर्णयमा उल्लेख छ।
भारतबाट सस्तोमा दूध आउँदा नेपालको दूध बिक्री नभएको व्यवसायीले गुनासो गर्दै आएका छन्। यो समस्याको अस्थायी समाधानका रूपमा अर्को निर्णय नभएसम्म आयातमा रोक लगाउने निर्णय भएको कृषि मन्त्रालयले जनाएको छ।
राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार देशभरका किसानले डेरीबाट पाउनुपर्ने रकम चार अर्ब रुपैयाँ हाराहारी छ। “खास कसले कति पाउन र दिन बाँकी छ भन्ने यकीन तथ्यांक पाइएको छैन,” बोर्डका अध्यक्ष डा. राजेन्द्रप्रसाद यादव हिमालखबरसँग भन्छन्, “चार अर्ब रुपैयाँ बक्यौता रहेको अनुमान छ। यसमा डीडीसीको बक्यौता एक अर्ब रुपैयाँ र निजी डेरीहरूको बक्यौता तीन अर्ब रुपैयाँ हाराहारी छ।”
एकातिर डेरीले किसानलाई समयमा भुक्तानी दिन सकेको छैन भने अर्कातिर किसानले घटाइएको दरमा डेरीलाई दूध बेच्नुपरिरहेको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान, निजी क्षेत्रका नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएशनले दूध बापतको रकम भुक्तानी गर्न नसक्दा किसान मर्कामा परेका हुन्।
व्यवसायी भने हाल बजारमा दूध तथा दुग्ध पदार्थको बिक्री न्यून भएको र अधिकांश डेरीका उत्पादन भण्डारण मात्र भएकाले किसानलाई भुक्तानी दिन नसकिएको बताउँछन्। आर्थिक मन्दीले गर्दा व्यवसायीले किसानलाई दूधको पैसा समयमा भुक्तानी गर्न नसकेको गायत्री डेरीका सञ्चालक राजाराम खड्काको भनाइ छ।
यस्तो वेला सरकारले दूध तथा दुग्ध पदार्थको आयात रोक्ने निर्णय गरेको छ। यो निर्णयले हालको समस्या समाधान नहुने व्यवसायीको भनाइ छ। किनभने दूध विक्रेता किसानले झन्डै चार महीनादेखिको बक्यौता चार अर्ब रुपैयाँ पाउन सकेका छैनन्। जबकि विदेशबाट प्रत्येक महीना सात करोड रुपैयाँ हाराहारीको दूध तथा दुग्ध पदार्थको आयात हुने गरेको छ।
केही व्यवसायी अवैध रूपमा आउने दूध तथा दुग्ध पदार्थको आँकडा ठूलो रहेको जिकिर गर्छन्। तैपनि आयातभन्दा पनि बजार सुस्त रहेको र सामानको मौज्दात अधिक रहेकाले खास समस्या निम्तिएको उनीहरूको भनाइ छ।
बोर्डको तथ्यांक अनुसार अहिले देशभर गाईभैंसीबाट दिनको औसत ७० लाख लिटर दूध उत्पादन हुने गरेको छ। यसमध्ये ५० लाख लिटर घरेलु प्रयोजनमा आउँछ। बाँकी २० लाख लिटर औपचारिक र अनौपचारिक क्षेत्रमा उपयोग हुन्छ।
यस्तो वेला आयात रोक्ने निर्णयले खासै फरक नपार्ने व्यवसायी बताउँछन्। बरु सरकारले ‘जीटुजी’ मोडलमा नौनी र धूलो दूध निर्यात गर्न सक्दा मात्र समस्या समाधान हुने व्यवसायी खड्काको भनाइ छ।
त्यसका लागि नेपालले बाङ्लादेशमा धूलो दूध तथा नौनी निर्यात गर्ने उपाय खोज्नुपर्ने व्यवसायीको सुझाव छ। अहिले बाङ्लादेशले भारतबाट दुग्ध पदार्थ आयात गर्दै आएको छ। नेपालले सरकार सरकारबीच सम्झौता (जीटुजी) खाकामा धूलो दूध र नौनी निर्यात गर्दा अहिलेको समस्या समाधान हुने गायत्री डेरीका सञ्चालक खड्का बताउँछन्। “नेपालको दुग्ध पदार्थको मूल्य उच्च भएकाले सरकारले किसानलाई अनुदान दिने गरी जीटुजी मोडलमा निर्यात गर्दा समाधान आउन सक्छ, नत्र दुग्ध क्षेत्रको भविष्य राम्रो देखिंदैन,” खड्का भन्छन्।
राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार देशरभर ३० लाख परिवारले ७४ लाख गाई र ५२ लाख भैंसी पालेका छन्। पछिल्लो केही वर्षमा दुग्ध व्यवसाय फस्टाउन थालेको थियो। तर लगानी अनुसारको मूल्य नपाउने, सस्तोमा बिक्री गरेपछि पनि समयमा भुक्तानी नपाउने समस्याले किसान आजित छन्।
यस्तो वेला सरकारले पहल नगर्ने हो भने दुग्ध व्यवसायीसँगै किसान पनि पलायन हुने अवस्था आउने व्यवसायी खड्काको भनाइ छ। “किसान पशुपालन र दुग्ध व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आयो भने झन् समस्या आउनेछ,” व्यवसायी खड्का भन्छन्, “अहिले गाउँघरमा भइरहेको पशुपालन व्यवसाय पनि ठप्प हुनेछ, दुग्ध किसान पनि विदेशिन बाध्य हुनेछन्।”
दुग्ध विकास बोर्डका अध्यक्ष यादव भने अहिलेको समस्या मौसमी मात्रै भएको तर्क गर्छन्। व्यवसायीले पनि बजार कायम गर्न प्रवर्द्धनात्मक योजना र बजारीकरण पनि गर्नुपर्ने उनको भनाइ छ।
तर किसानकाे भनाइ फरक छ। व्यवसायीले जहिले पनि दूध फालाफल हुँदा भाउ पनि नदिने, दूध पनि नउठाउने गरेको गुनासो छ। राज्यको उपल्लो निकायमा बस्नेहरूले वस्तुस्थिति बुझ्न नसक्दा समस्या चर्किंदै गएको चितवनका दुग्ध किसान हरिप्रसाद अधिकारी बताउँछन्। “सरकारका निकायले दुग्ध व्यवसायलाई दिगो बनाउने प्रभावकारी कदम चाल्न नसक्दा यो समस्या आएको हो,” उनी भन्छन्।
डेरी व्यवसायीले विदेशी धूलो दूध सस्तोमा ल्याएर फिटेर बेचेकाले उत्पादन अधिक भएको जस्तो देखिएको उनको भनाइ छ। चितवनमा झन्डै १०० वटा गाई सहितको कामधेनु एग्रो एन्ड एनिमल फर्म चलाउँदै आएका अधिकारी व्यवसायीका कारण समस्या भएको बताउँछन्।
किसानबाट सस्तोमा दूध किनेर महंगोमा बेच्ने, त्यही दूधको पनि पैसा समयमा नदिने गरेकाले समस्या भएको उनको भनाइ छ। सरकारले दूग्ध आयातमा प्रतिबन्ध लगाउँदैमा समस्या समाधान नहुने उनको जिकिर छ।
बरु सरकारी निकायले अनुगमन गर्नुपर्ने उनी बताउँछन्। “अहिले उत्पादन फालाफाल हुने मौसम नै होइन,” दूग्ध किसान अधिकारी भन्छन्, “व्यवसायीलाई ताजा दूध किन्नुभन्दा धूलो दूध बेच्दा फाइदा छ। सबै गोदाममा छापा मारेर पाउडर दूध जफत गर्नासाथ सबै समस्या सल्टिन्छ।”