अचेल बर्माका जंगलमा पशुपक्षी होइन, मानिसहरू भेटिन्छन्
बर्मामा हुन्टा सैनिकको दमन बढ्दो छ। युद्धमा कमजोर बन्दै गएपछि उनीहरूको निशाना निहत्था जनता बनेका छन्। त्यसैले दिनहुँ बस्तीमा छिरेर आतंक मच्चाउँछन्।
सन् २०२१ फेब्रुअरीमा सैन्य ‘कू’ भएपछि म्यानमार अहिले गृहयुद्धबाट गुज्रिरहेछ। सरकारी सेनाले गरेको चर्को दमन र त्यस विरुद्ध लडिरहेका म्यानमारका विद्रोहीहरूको तस्वीर एवं भिडिओ सामाजिक सञ्जालमा पोस्ट भइरहेछन्। स्थानीय र विदेशी पत्रकारहरूले रिपोर्टिङ गर्ने अवस्था नभएकाले सामाजिक सञ्जालमा पोस्ट गरिएका सामग्री नै त्यहाँको युद्धको सूचना बनेका छन्। युद्धको जानकारी दिने गरी सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्नेमध्ये एक हुन्, सुधा आत्री। नेपालीभाषी बर्मेली महिला विद्रोही आत्रीको वास्तविक नाम अर्कै छ, उनी यही छद्मनाममा सामाजिक सञ्जालमा सक्रिय छिन्।
म्यानमारमा भइरहेको सशस्त्र संघर्षबारे उनीसँग हिमालखबरकी अनिता भेटवालले फेसबूक मेसेन्जर मार्फत करीब डेढ घण्टा कुराकानी गरिन्। सुरक्षाका कारण कुन ठाउँबाट वार्ता गरिरहेको भन्ने उनले बताइनन्। केवल ‘इन्टरनेटको पहुँच कम भएकाले डाँडामा छु’ भनेकी थिइन्। पृष्ठभूमिमा गोली चलिरहेको र मानिसहरूको भागदौड भइरहेको सुनिन्थ्यो। आफू र म्यानमारको वर्तमान संघर्षबारे उनले गरेको वर्णन यहाँ सम्पादन सहित प्रस्तुत छ :
१ फेब्रुअरी २०२१ मा म्यानमारको सेनाले निर्वाचित लोकतान्त्रिक सत्ता हत्यायो। स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति लगायत दर्जनौं बर्मेली नेताहरूलाई गिरफ्तार गर्यो। सैनिक ‘कू’ विरुद्ध शुरू भएको नागरिक आन्दोलन पनि दबाइयो। हजारौं व्यक्ति गिरफ्तार भए। दर्जनौंको हत्या गरियो। त्यसो त म्यानमारको इतिहासमा यो पहिलो सैनिक कू थिएन। सन् १९६२ मा पनि सैनिक कू भएको थियो। म्यानमारको इतिहास सैनिक शासनको इतिहास पनि हो।
२०२१ मा सैनिक कू भएपछि तीव्र दमन हुन थाल्यो। त्यति वेला म बीए पहिलो वर्षकी विद्यार्थी थिएँ। आङ सान सुकीको नेतृत्वमा प्रजातान्त्रिक अभ्यास भइरहेको थियो। हामीले तुलनात्मक रूपमा स्वतन्त्रताको अनुभव गरिरहेका थियौं।
म्यानमारमा नेपालीभाषी समुदाय ठूलो भए पनि नेपाली भाषालाई मान्यता दिइएको छैन। तथापि हामीले नेपाली भाषाको अभ्यास गरिरहेका थियौं। भाषा हराएर नजाओस् भनेर विद्यालय, कलेज बिदा हुने तीन महीना नेपाली समुदायका विद्यार्थीले आफ्नो भाषा पढ्नै पर्ने नियम बनाएका थियौं। राज्यले स्वीकार गरिनसकेकाले मन्दिरहरूमा धार्मिक ग्रन्थ पढ्ने बहानामा नेपाली पठनपाठनको अभ्यास गर्थ्यौं। हामी प्रजातान्त्रिक तवरबाट नेपालीभाषी समुदायको हक, अधिकारका लागि संघर्ष गर्दै थियौं। त्यसो त बामर बाहेक म्यानमारका सबै जाति थिचोमिचोमै छन्।
२०२१ को सैनिक कूले यी सबै सम्भावना एकाएक समाप्त पारिदियो। सैनिक शासन विरुद्ध सशस्त्र संघर्ष शुरू भएपछि म पनि ‘काचिन स्वतन्त्र सेना’ (केआईए)मा आबद्ध भएर युद्धमा सहभागी भएकी छु। बर्मेली र नेपाली भाषा दुवै लेख्न, बोल्न र पढ्न जान्न सक्ने भएकाले मलाई सूचना-सम्पर्क विभागमा खटाइएको छ। विभिन्न ठाउँमा सूचना विभाग छ। हाम्रो मुख्य काम एक ठाउँको सूचना अर्को ठाउँमा पुर्याउने नै हो। तर परिआएको खण्डमा युद्ध पनि लड्नुपर्ने हुन सक्छ।
हामी अहिले काचिन राज्यमा छौं। यो पिपल्स डिफेन्स फोर्स र काचिन स्वतन्त्र सेना’ (केआइए)को नियन्त्रणमा रहेको इलाका हो। पिपल्स डिफेन्स फोर्स म्यानमारको सेनासँग भिडिरहेको सशस्त्र विद्रोही नागरिक सरकारको लडाकू समूह हो भने केआईए जातीय सशस्त्र विद्रोही समूह हो।
स्थल युद्धबाट हामी बसेको ठाउँ सुरक्षित छ। तर सरकारी सेनाले हवाई आक्रमण गरिरहेछ। हाम्रो इलाकाको तुलनामा अन्यत्र भने युद्ध चर्को छ।
यो युद्धमा प्रशस्त नेपालीभाषी पनि सहभागी छन्। त्यसो त बर्माको युद्धमा गोर्खालीहरूको बलिदानको गौरवपूर्ण इतिहास छ। सेनाले कू गर्नुपूर्व हामी स्वतन्त्र थियौं तर त्यति वेला इतिहास लेख्नुपर्छ भन्ने चेतना थिएन। त्यो चेतना जागृत हुँदै गर्दा सेनाले बर्मा भाषा बाहेक अन्य सबै भाषालाई प्रतिबन्ध लगायो। आफ्नो भाषामाथि प्रतिबन्ध लगाएपछि हामीले आफ्नै इतिहास पनि बिर्संदै गयौं। कतिपय बर्मेली नेपालीलाई नै आफ्नो पुर्खाले गरेको बलिदानबारे विस्तृत ज्ञान हुन सकेन।
यहाँ विभिन्न स्थानमा गोर्खाली खुकुरीहरूको प्रतिमा स्थापना गरिएको पाइन्छ तर कसले, किन गरे भन्ने ऐतिहासिक प्रमाण पाउन मुश्किल छ। जे होस्, त्यही इतिहासले अहिले पनि निरन्तरता पाइरहेछ। केआईए सेना अन्तर्गत गोर्खा बटालियन नै बनाइएको छ जसलाई काचिन गोर्खा फौज पनि भनिन्छ। उक्त फौजमा थुप्रै नेपालीभाषीले लडाइँको तालीम पनि लिइरहेछन्।
नेपालीभाषी बर्मेलीहरू सहित अन्य देशका नेपालीभाषीले पनि हाम्रो संघर्षबारे थाहा पाऊन् भनेर सामाजिक सञ्जालमा मैले छद्म नामबाट नेपाली भाषामा सूचना प्रकाशन गर्ने गर्छु।
हो, लडाइँ चर्को छ। यसमा सहभागिता पनि बढ्दै छ। दुई वर्षअघि मिचिनाको एउटा सरकारी विद्यालयमा पढाउने गुरुआमा पनि लडाइँमा सामेल हुन आउनुभएको छ। म्यानमारको लडाकू दस्तामा भर्ती हुनुभएकी उहाँ पनि गोर्खाली चेली हो। उहाँ बर्मेली ‘तमी’ हो। बर्मेली भाषामा तमीको अर्थ छोरी हुन्छ। उहाँ अब क्रान्तिकारी छोरी हो। म उहाँलाई मिचिनाको गोर्खा गाउँबाट झुल्किएकी एउटा ‘ज्वाला’ भन्न रुचाउँछु। उहाँको वास्तविक नाम लुकाउँदै म्यानमारको क्रूर सेना विरुद्ध लड्न मैदानमा खडा भएकी ‘अनिता’ उपनाम मैले दिएको छु। खासमा यहाँ हामी एकअर्काको नयाँ नाम राखिदिन्छौं। मेरो नाम ‘सुधा’ पनि एक जना लडाकू दाइले नै राखिदिनुभएको हो।
यसरी देशमा शान्ति कायम गर्न जीवन नै समर्पण गरिरहेका धेरै नेपालीभाषी बर्मेलीहरू छन्। मलाई तिनको चिन्ता पनि लाग्छ। केही दिनअघि मात्र हुन्टा सेनाका समर्थकहरूले हाम्रा दुई जना साथीलाई जिउँदै जलाइदिए। उनीहरूलाई हत्कडी लगाएर, जिउँदै जलाएर, छेउमै बसेर भिडिओ बनाए। त्यो भिडिओ फेसबूकमा पनि पोस्ट गरे। यो क्रूरताको पराकाष्ठा नभए के हो त?
हुन त म्यानमारको सरकारी सेना बुद्धको अनुयायी हो। बुद्धको मूलमन्त्र नै शान्ति र अहिंसा हो। तर उसले कोलाहल मच्चाएको छ। अहिंसाको विपरीत हिंसा गरिरहेछ।
सन् २०२१ को सैनिक कूपछि सेनाको दमनबाट चार हजार ५७२ जनाको हत्या भएको छ। यो सूचीमा एक दर्जनभन्दा बढी नेपालीभाषी पनि छन्। निर्दोष गोर्खालीहरूले विना कारण ज्यान गुमाइरहेका छन्। सेना विरुद्ध प्रदर्शन गर्दागर्दै समातिएका विद्यार्थी नेता रमेश सुवेदी आजसम्म घर फर्किएका छैनन्। त्यस्तै, टमू नगरमा एकाबिहानै बजारसम्म दूध पुर्याएर फर्किएका एक नेपालीभाषी किशन गौतम सेनाको गोलीबाट मारिए। मुसेनगरमा ४३ वर्षीय सानाभाइ विश्वकर्मालाई सोधपुछका लागि भन्दै सेनाले लगेको थियो। उनको लास खाल्डोमुनि भेटियो। दूध, दही, मिठाई बेचेर जीवनयापन गरिरहेका स्वेगू निवासी ४१ वर्षीय तुलाराम वाग्ले पनि सेनाको गोलीबाट मारिए। त्यस्तै, श्यान राज्यको लाउकाई क्षेत्रमा सेनाको आक्रमणमा परी ३५ वर्षीय गोपीनाथ पोख्रेलको हत्या भयो।
सरकारी सेनाद्वारा मारिएका नेपालीभाषीको मात्रै सूची बनाउने हो भने लामो हुन्छ। गएको मंगलबार मात्रै मान् ले राज्यको च्यापिनको एक गाउँमा सेनाले अन्धाधुन्ध बम बर्साउँदा नेपाली मूलकी एक महिला गम्भीर घाइते भइन्।
नेपालीभाषीको बाक्लो बसोबास रहेको शान र काचिन राज्यमा युद्धको प्रभाव धेरै छ। शान राज्यको तौंजे गाउँमा नेपालीभाषीहरू छन्। गाउँ नजिकै सेना र जनसेनाबीच लडाइँ भइरहन्छ। सत्ताधारी हुन्टा सेना लडाइँमा कमजोर भइरहेछ। स्थल युद्धमा कमजोर भएपछि उसले हवाई आक्रमण थालेको छ। तर त्यसको पनि हामी प्रतिकार गरिरहेछौं। यही जनवरीमा मात्र पाँच वटा सम्म हवाई आक्रमण रोक्न हामी सफल भयौं।
मग्वे राज्य पखोउकू नगरका धेरै गाउँमा पनि सेनाले घर नै जलाइदिएपछि जनताहरू गाउँ छोडेर हिंड्न बाध्य छन्। त्यसरी घर छोडेका मानिसहरूले जंगलमा कष्टकर जीवन बिताइरहेछन्।
सेनाको क्रूर दमनको शिकार बालबालिका पनि भएका छन्। घर, मन्दिर, विद्यालय सबै जलाइदिएकाले उनीहरू जंगलमा शिक्षा लिन बाध्य छन्। केही बालबालिकाले सीमापार छिमेकी देशहरूमा पनि शिक्षा लिइरहेका थिए, भारतको मणिपुर र मिजोरम, थाइल्यान्डको छिमाई र चीनको सिमानामा। मणिपुरमा जातीय हिंसा भड्किएपछि त्यहाँ पनि पढ्न गाह्रो भइरहेछ। थाइल्यान्डको सिमानामा पढ्दै गरेका १२६ विद्यार्थीलाई थाई अधिकारीहरूले म्यानमार फिर्ता पठाउने निर्णय गरेपछि त्यहाँको शिक्षा समुदाय र गैरसरकारी संस्थाहरूले विरोध जनाएका छन्।
सरकारले गत १० फेब्रुअरी (माघ १७) देखि ३५ वर्षमुनिका युवक र २७ वर्षमुनिका हरेक युवायुवती अनिवार्य रूपमा सरकारी सेनामा भर्ती हुनुपर्ने नियम लागू गरेको छ। जसले गर्दा युवाहरू देशबाटै पलायन भइरहेछन्। उनीहरू थाइल्यान्डतिर वैध वा अवैध रूपमा गइरहेछन्।
बर्मामा हुन्टा सैनिकको दमन बढ्दो छ। युद्धमा कमजोर बन्दै गएपछि उनीहरूको निसाना निहत्था जनता बनेका छन्। त्यसैले दिनहुँ बस्तीमा छिरेर आतंक मच्चाउँछन्। भेटिएका जतिलाई समातेर लैजान्छन्, बच्चा वा वृद्ध पनि भन्दैनन्। त्यसरी समातिएकाहरूलाई कि हत्या गर्छन् कि घूस लिएर मात्रै छोडिदिन्छन्। बस्न सक्ने अवस्था नै नरहेपछि म्यानमारमा गाउँका गाउँ रित्तिइरहेछन्।
अचेल म्यानमारका जंगलमा पशुपक्षी होइन, मानिसहरू भेटिन्छन्। रूखमुनि वा ओडारको ओत लागेर बसिरहेका बालबालिका र वृद्धहरूको स्वास्थ्य पनि बिग्रिरहेछ। न गतिलो खाना छ न लुगाफाटो नै।
जंगलबाट गाउँ फर्केका मानिस स्वास्थ्य सेवा पाउन संघर्ष गरिरहेछन्। सरकारी अस्पताल खाली छन्। म्यानमारको सरकारी सेनाले उपचारमा पनि अवरोध गरिरहेछ। त्यसैले स्वास्थ्य सेवा प्रदान गर्न विद्रोहीहरूले स्वास्थ्य शिविर चलाउने गरेका छन्। स्वास्थ्य शिविर चलेको थाहा पाएपछि सरकारी सेनाले बमबारी गर्छ। सार्वजनिक बस वा निजी सवारीसाधन प्रयोग गरेर औषधि ढुवानी गर्न खोज्दा स्वयंसेवकहरूलाई सेनाले मारेको पनि छ।
यिनै अन्याय विरुद्ध हामी लडिरहेका छौं। मेरो पुस्ताका धेरै युवालाई सन् २०११ अघिको पूर्ण सैनिक शासनकालीन दिनबार खासै थाहा थिएन। हामी केवल डरलाग्दा कथाहरू मात्र सुन्थ्यौं। स्वतन्त्र म्यानमारमा हुर्किएका युवाहरू अहिले आफ्नो हिस्साको लडाइँ लड्न कटिबद्ध छन्।
म्यानमारका कोही पनि जनता युद्ध चाहँदैनन्। तर उनीहरू न्याय र प्रजातन्त्रका लागि लड्न बाध्य छन्। म आफैं पनि यो युद्ध कहिले टुंगिन्छ र फेरि विद्यार्थी बनेर क्याम्पस जान पाउँली भनेर सोचिरहन्छु। तर ती सबैभन्दा पहिला मातृभूमिप्रतिको कर्तव्य आउँछ। त्यसैले त म युद्धमा छु।