संसद्मा ‘प्रि-बजेट’ प्रस्ताव पेश (पूर्ण पाठ)
प्रतिनिधि सभाको सोमबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफलका लागि ‘प्रि-बजेट’ प्रस्ताव पेश गरेका छन्।
मन्त्री महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै नागरिकको जीवनस्तर उकास्ने गरी बजेट तर्जुमा गरिने बताए। उनले विद्यमान कानूनमा संशोधन गरी आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गर्न तीन महीना पूर्व नै नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै लगानीको अनुकूल वातावरण सिर्जना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद गरिरहेको सदनलाई जानकारी गराए।
“पूँजीगत खर्चको प्रभावकारिता वृद्धि गर्न गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएका केही लचकता एवम् वित्त नीति र मौद्रिक नीतिबीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको छ,” अर्थमन्त्री महतले भने।
उनले विद्युत् उत्पादन र विदेशी पर्यटक आगमन वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको बताए। ब्यांकिङ क्षेत्रतर्फ पर्याप्त तरलताको अवस्था, कर्जाको ब्याजदर एकल अंक नजिक रहेको तथ निक्षेप र कर्जा प्रवाहमा क्रमशः वृद्धि हुनुले अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उल्लेख गरे।
पछिल्लो समय घरजग्गा कारोबार र पूँजी बजार सुधारोन्मुख रहेको उनको भनाइ थियो। साथै, बाह्य क्षेत्रतर्फ चालू खाता र शोधनान्तर बचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितिले आर्थिक क्रियाकलापका लागि अनुकूल वातावरण सिर्जना गरेको उनले बताए। “राजस्व संकलन लक्ष्य अनुरूप नभए पनि वृद्धिदर करीब १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान छ,” महतले भने, “चालू आर्थिक वर्षको प्रथम त्रैमासमा गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदर बढ्ने अनुमान गरिएको छ।”