राजेन्द्र महतोले लोसपा छाडे, नयाँ पार्टी बनाउने
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेको घोषणा गरेका छन्।
महतोले सोमबार पत्रकार सम्मेलन गरी पार्टी छाडेको घोषणा गरेका हुन्। उनले ‘जुटौं र आफ्नो सत्ता हासिल गरौं’ अभियान शुरू गरेका छन्।
देशमा विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार र कुसंस्कृतिबाट देशलाई मुक्ति दिन अभियान शुरू गरेको जनाएका छन्। यसका लागि सबै वर्ग, समुदाय, धर्म, जातजाति, क्षेत्र, लिंगका जनतालाई एकजुट गराउने बताएका छन्।
महतोले भनेका छन्, “मधेशी, आदिवासी, जनजाति, थारू, दलित, मुस्लिम, पिछडा वर्ग लगायत स्वशासन, सुशासन र समृद्धि चाहने हिमाल, पहाड, तराई मधेशका जनता अब एकल एकल रूपमा छुट्टाछुट्टै फुटेर संघर्ष गर्दा भोगेको पीडा र असफलताबाट सबक लिंदै ‘फोड़ र राज्य गर’ शासकीय नीति विरुद्ध ‘जुटौं र आफ्नो सत्ता हासिल गरौं’ अभियान तहत सबै मिली एकताबद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नै रहेन।”
महन्थ ठाकुर नेतृत्वको लोसपा छाडेर नयाँ अभियानको घोषणा गरेका महतोले नयाँ पार्टी खोल्ने बताएका छन्। नेता महतोले हिमालखबरसँगको संक्षिप्त कुराकानीमा लोसपा पूर्व पार्टी भइसकेको बताए। “लोसपा मेरो पूर्व पार्टी हो,” महतोले भने, “अब अभियान चालू हुन्छ। अभियानबाट नयाँ पार्टी निर्माण भइहाल्छ।”
राजेन्द्र महतोको वक्तव्य :
आज यहाँहरूसँग भइरहेको साक्षात्कार हाम्रो निमित्त विशेष रहेको छ। विशेष यो अर्थमा हो कि, लामो राजनीतिक जीवनमा हामीलाई अनेकौं पटक यहाँहरूसँग साक्षात्कार गर्ने अवसर मिलेको छ तर आज फरक परिस्थितिबीच मुलुकको जल्दाबल्दा तात्कालिक र दीर्घकालिक विषयहरूमाथि हाम्रो विचार सम्प्रेषण गर्न यहाँहरूसँग साक्षात्कार गर्दै छौं।
वर्तमान विश्व परिस्थितिलाई विद्वान्हरूले ठूलो अनिश्चितता र भ्रमको युग भनेका छन्, जुन हामीमाझ ठूलो अविश्वास र शंका उत्पन्न गराउँदै नेपाली आकाशमा पनि मडारिइरहेको छ। नेपाली समाजभित्र पनि ठूलो विचलनको स्थिति पैदा गरेको छ। हामीले समग्र सामाजिक-सांस्कृतिक, राजनीतिक तथा आर्थिक पक्षहरूमा सामना गरिरहेका चुनौतीहरूसँग मुकाबिला गर्दै त्यसभित्र रहेका अवसरहरूलाई मुलुकको हितका निमित्त उपयोग गर्ने वातावरण निर्माणको खातिर वर्तमान अनिश्चितता तथा भ्रमको मूल कारणको विश्लेषण गर्दै नयाँ कार्यदिशा संश्लेषण गर्नु वाञ्छनीय भएको छ।
पश्चिमा ज्ञानसत्तामा आधारित आधुनिकीकरण र विकासरूपी वायुपंखी घोडामाथि सवार हुँदै संसारभरि शासकहरूले करोडौं मानिसहरूको हत्या गरे, सयौं भाषा विनाश गरे, हजारौं मानव समूहहरूलाई पहिचानविहिन बनाए, करोडौं जीवजन्तु, वनस्पति, सम्पदा, नदी, पोखरी, ताल, हिमाल, पहाड लगायत समुद्रमाथि समेत अतिक्रमण गरे र आज ‘पृथ्वी बचाऔं’ नारा लगाउनुपर्ने स्थानमा विश्वलाई पुर्याए। यस्तो विशाल ध्वंसकारी कार्यको नेपाली संस्करणको नेतृत्व राजामहाराजाहरू र तत्पश्चात् कांग्रेस र कम्युनिस्टहरूले गरे। आज उनीहरूका कारण हाम्रो सभ्यता- संस्कृतिलाई असभ्य भनियो, बहुलता, पहिचानलाई इन्कार गर्ने काम भयो, हाम्रो उन्नत ज्ञान मास्ने काम भयो, हामीलाई पश्चिमा/विदेशमुखी बनाइयो।
यहाँका स्वदेशी बहुलज्ञान-दर्शन, कला, साहित्य, सौन्दर्य संहार भयो, बहुल समाज व्यवस्थालाई निषेध गरायो, ऐतिहासिक बहुल राष्ट्रहरूलाई राज्यविहिन बनायो। प्रकृतिको विनाश गरायो। यसर्थ पश्चिमा ज्ञानले यावत् समस्याहरूको सामना गर्नु त परको कुरा भयो, समस्याको सृजनकर्ता नै आफैं रहेको प्रमाणित नै भइसक्यो। अत: अब पूर्वीय सभ्यतामा आधारित रहेको स्वदेशीय दर्शन मार्फत स्वदेशवादको पुन:स्थापन जरुरी भइसकेको छ।
अब हाम्रा अगाडि प्रश्न खडा भएको छ : के गर्ने? कहाँदेखि गर्ने?
यी प्रश्नहरूको जवाफ खोज्नु नै वर्तमान राजनीतिको प्रमुख रणनीतिक कार्यभार हो। यहाँ लोकतन्त्र, गणतन्त्र, मानव अधिकार, विकास, वृद्धि-समृद्धि, समाजवादको बहस सम्भ्रान्तीय झूट, फरेब, जनता झुक्याउने र ठग्ने प्रपञ्च सावित भयो।
अब के गर्ने?
वर्तमानको ठूलो अनिश्चितता र भ्रमलाई चिर्न सक्ने वैकल्पिक राजनीतिक शक्ति दाबी गर्दै केही नयाँ समूहहरूको उदय तथा पुराना शक्तिहरूभित्रको नयाँ पुस्ताले उठाएको रूपान्तरणको बहस सुनिरहेका नेपाली जनताहरूले न नयाँ समूहहरूको उदय न त पुराना शक्तिहरूको रूपान्तरण नै देखिरहेका छन्, बरु उनीहरू अनिश्चितता तथा भ्रमले सृजना गरेको अविश्वास र शंकाको परिस्थितिलाई थप गिजोल्दै लाभ उठाउने अवसरवादी समूहहरूका रूपमा देखिएका छन्।
यो परिस्थिति तबसम्म रहनेछ जबसम्म हाम्रो प्रयत्न हालसम्म हावी रहेका राजनीतिक पार्टी एवं वर्तमान शक्ति संरचनाभित्रै वैकल्पिक राजनीति वा शक्तिको खोजीमा सीमित रहनेछ। यसर्थ हामीले हालसम्म हावी रहेको राजनीतिक शक्ति संरचनाकै विकल्प खोज्नुपर्दछ जुन सम्भव मात्र होइन कि अनिवार्य भएको छ।
कहाँदेखि गर्ने?
नेपाल देशको सरहदको निर्धारण गोरखाका राजा पृथ्वीनारायण शाहको राज्य विस्तार र त्यसपछि सुगौली सन्धि एवं नयाँ मुलुकको पुन:प्राप्ति पछि भएको हो। यसरी राज्य विस्तार हुँदा अनेकौं सार्वभौम राज्य मात्र होइन अनेकौं संस्कृति पनि एउटै सरहदभित्र रहन गयो। तत्काल विद्रोह नहोस् भनेरै राजा पृथ्वीनारायण शाहले निर्दिष्ट गरे, “नेपाल चार जात, छत्तीस वर्णको साझा फूलबारी हो सबैलाई चेतना भया"। तर त्यसपछिका कुनै शासकमा उक्त चेतना आउन सकेन। शासकले आफ्नो बाहेक सबै संस्कृतिलाई सिध्याउने प्रयास गरे, असभ्य भने, विदेशी भने, अराष्ट्रिय भने, मासिन्या घोषित गरे।
फगत शाह राजाहरूको शासन केवल वंशका निम्ति, राणाहरूको शासन जहानका निम्ति, प्रजातन्त्रदेखि गणतन्त्रसम्मको शासन केवल एउटा नश्लका निम्ति मात्र आत्मगौरवको सत्ता हुन गयो। पृथ्वीनारायणले जगाउन खोजेको चेतना उनका वंश, जहान र नश्लमा आउन सकेन। त्यसैले त तराई मधेशमा गजेन्द्रनारायण सिंह, रघुनाथ ठाकुरहरूले तथा हिमाल, पहाडमा गोरेबहादुर खपाङ्गी, एमएस थापा, गोपाल गुरुङहरूले विद्रोह गरे। गुलाम बनाइएका उत्पीडितहरूमा आत्मसम्मान जगाए, अपमानसूचक बनाइएको आफ्नो पहिचानमा गर्व गर्न लगाए। त्यस आन्दोलनको निरन्तरता आज पनि छ। दुर्भाग्य उक्त आन्दोलनहरूले ठोस उपलब्धि दिन सकेका छैनन्।
संविधान निर्माणका क्रममा भएका ऐतिहासिक मधेश/थरुहट आन्दोलनलाई पहाड विरोधी, जातीय, साम्प्रदायिक, आपराधिक, भारतद्वारा सञ्चालित आन्दोलन जस्ता कुनियतका साथ कुप्रचार गरी यसै बहानामा दुश्मन देशका दुश्मन नागरिक सरह बर्बरतापूर्वक दमन गर्दा पनि ६ महीनासम्म जनताले प्रतिरोध गरिरहे, बलिदान दिइरहे तर मधेश/थरुहटका जनताको दुःखद हार भयो, आन्दोलन तुहिन गयो। मुस्लिम, दलित, पिछडा वर्ग लगायतको सामाजिक न्यायको आन्दोलन पनि अगाडि बढ्न सकेन।
निरन्तर आन्दोलनरत रहेका लिम्बुवान लगायत अन्य आदिवासी जनजातिहरूको पहिचानवादी आन्दोलन पनि सफल हुन सकेन। उपर्युक्त सबै आन्दोलनहरू एकल नश्लीय शासन व्यवस्था विरुद्ध थिए तर त्यस विरुद्ध गरिएका आफ्नै आन्दोलन पनि एकल आयामिक थियो। हामी पहिचानवादीहरू पनि एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडि शुरू भएको पहिचानवादी आन्दोलन शासकीय षड्यन्त्रको शिकार भई अधुरो रहन गयो। शासन पनि एकल नश्लीय, त्यस विरुद्धको आन्दोलन पनि एकल आयामिक।
त्यसैले त उत्पीडनमा परेका जनताले चाहेको जस्तो राजनीतिक उपलब्धि प्राप्त गर्न सकेन, देश पनि बन्न सकेन। अब गहिरो संकथन गरी अधिकार र पहिचानवादी आन्दोलन बहुआयामिक हुनु जरुरी भइसकेको छ। अब हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी सम्पूर्ण उत्पीडित राष्ट्रियताहरू तथा देशमा सुशासन र समृद्धि चाहनेहरू सबै संयुक्त रूपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणका निम्ति राष्ट्रिय मुक्ति क्रान्ति अर्थात् सम्पूर्ण क्रान्ति आवश्यक भइसकेको छ।
नेपालमा आजसम्म भएको राजनीति भनेको आफ्नो स्वदेशीय मौलिक सभ्यताबाट पर हटी पश्चिमा ज्ञान प्रणालीको दर्शनमा आधारित भएर सिद्धान्त एवं कार्यक्रमहरू बनाइए, त्यसले गर्दा स्वदेशीय जरा काटिए, परदेशको जरा समाएर बाँच्नुपर्ने भयो। जरा काटिएको समाज र समुदायको आफ्नो मौलिक जीवन र सपना केही पनि हुँदैन। किनभने समाज र समुदायको जरा काटिएपछि आफ्नो सत्व मर्छ। समाज र समुदायको जीवन, सपना र सत्व हराएपछि त्यो देश, त्यो देशका समाज र समुदायको इतिहास, सभ्यता, संस्कार र संस्कृति चासोको विषय बन्दैन। र, समाजका युवा पुस्ताको जीवनको अवस्था परशासन र परनिर्भरतामा पुग्ने मात्र होइन कि त्यही नै सपना बन्न थाल्दछ।
राजनीतिक हिसाबले नेपाली समाज यो दोसाँधबाट लामो समयदेखि गुज्रिरहेको छ। परिणामतः युवाहरू विदेश पलायन भइसकेका छन्, दिनानुदिन पलायन हुने क्रम तीव्र गतिमा जारी छ। यो कुनै प्राविधिक समस्या मात्र नभएर गम्भीर दार्शनिक र वैचारिक राजनीतिक समस्या हो। नेपाली जनताको सत्व र ग्रहण गरेको राजनीतिक दार्शनिकीबीच गहिरो खाडल छ र नै, यति वेला नेपाली समाजका सबै जना सबैसँग लडिरहेका छन्। त्यो समस्या भनेको एकातर्फ नेपालमा आयातीत र औपनिवेशिक मार्क्सवादी र पूँजीवादी ज्ञानसत्ताको उदयले नेपाली समाजको स्वदेशीय जरा काटिएर भएको हो भने अर्कातर्फ नेपालको राजनीतिमा पश्चिमा ज्ञानमीमांसाको राजनीतिक हतियार बोकेर स्थानीय मौलिक सनातन सभ्यता, इतिहास र मूल्यमान्यताहरू भत्काउने दलका रूपमा मूलतः मार्क्सवादी र उदारवादी भनाउँदाहरू नै हुन्। त्यसैले त नेपालको संविधान २०७२ राजनीतिक सैद्धान्तिकी र वैचारिकी पश्चिमा ज्ञानसत्ताको जगमा जारी हुन पुग्यो।
यसर्थ, वर्तमान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र औपनिवेशिक छ, परशासित छ, परनिर्भर छ र यसले आमनेपाली जनताको सत्व र स्वाभिमानलाई बोक्न सकेन र सक्दैन पनि। परिणामतः राज्यसत्ताको स्थिरता छैन, देश विकासको निरन्तरता छैन, सांस्कृतिक राष्ट्रवाद निर्माण हुन सक्दैन, सार्वभौम र स्वतन्त्र देशको हैसियतमा राष्ट्रिय दृष्टिकोण बन्न सक्दैन, देश र जनता परशासित र परनिर्भर बनाइयो मात्रै हैन, निरन्तर नेपाली समाज खण्डित भएर गइरहेको छ। हामीले स्पष्ट रूपमा देखिरहेका छौं कि राज्य र समुदायबीच अलगाव र सम्बन्धविच्छेदको मनोविज्ञान तीव्र रूपमा बढिरहेको छ। यसलाई नरोक्ने हो भने देश गम्भीर दुर्घटनामा कुनै पनि वेला फस्न सक्दछ। यो दलदलबाट मुलुकलाई निकाल्न अनिवार्य बन्न गएको छ।
देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भइरहेका कारणले नेपाल सबै नेपालीका लागि बन्न सकेन। नेपाली समाजको सत्वसँग मेल नखाने यिनीहरूको वैचारिकी धराशायी गराएपछि मात्र स्वदेशीय सभ्यताको आत्मिक जगमा बहुल राष्ट्रिय राज्य व्यवस्थाको निर्माण सम्भव छ। नेपाल राज्यको प्राकृतिक सत्ता भनेको बहुल राष्ट्र राज्य हो, सोतर्फ नेपालको राजनीति स्वाभाविक रूपले अगाडि बढ्छ नै।
तसर्थ, देशमा विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार र कुसंस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै वर्ग, समुदाय, धर्म, जातजाति, क्षेत्र, लिंगका जनतालाई अधिकार, पहिचान, स्वशासन, सुशासन, समृद्धि तथा सामाजिक न्याय प्रदान गर्नका लागि विगतमा जस्तै मधेशी, आदिवासी, जनजाति, थारू, दलित, मुस्लिम, पिछडा वर्ग लगायत स्वशासन, सुशासन र समृद्धि चाहने हिमाल, पहाड, तराई मधेशका जनता अब एकल एकल रूपमा छुट्टाछुट्टै फुटेर संघर्ष गर्दा भोगेका पीडा र असफलताबाट सबक लिंदै ‘फोड़ र राज्य गर’ शासकीय नीति विरुद्ध ‘जुटौं र आफ्नो सत्ता हासिल गरौँ’ अभियान तहत सबै मिली एकताबद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नै रहेन।
यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउनेछ र नेपाल सबै नेपालीका लागि निर्माण गर्नेछ। अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव नै छैन। तसर्थ, विद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी, औपनिवेशिक चिन्तन सोचको प्रभावलाई तिलाञ्जली दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली वैभव प्राप्त गर्न सम्भव छ, यसका निम्ति यस नवीन युगका नवीन नेपाल निर्माण निम्ति युगीन अभियानमा सरिक हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सादर आह्वान गर्दछु। जय मातृभूमि! धन्यवाद!