पोखरामा घर बनाउँदा कम्तीमा दुई बिरुवा रोप्नुपर्ने, कस्तो छ मापदण्ड?
पोखरा महानगरपालिकाभित्र घर वा अन्य संरचना निर्माण गर्दा कम्तीमा दुई वटा बिरुवा रोप्नुपर्ने र सडक निर्माण गर्दा चौतारो बनाउनुपर्ने भएको छ।
महानगरले ‘पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड-२०८०’ स्थानीय राजपत्रमा प्रकाशित गरेको छ। स्थानीय राजपत्रमा मापदण्ड प्रकाशित भएसँगै लागू हुने कानूनी व्यवस्था छ।
मापदण्डमा कहाँ, कस्तो घर बनाउने भन्ने तोकिएको छ। महानगरले भवनलाई चार प्रकार ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ मा वर्गीकरण गरेको छ। जस अनुसार ‘क’ वर्गमा अत्याधुनिक प्रविधि अपनाई निर्माण हुने वा भएका भवन रहेका छन्।
त्यस्तै, ‘ख’ मा भुइँतलाको क्षेत्रफल एक हजार वर्गफिटभन्दा बढी, तीन तलाभन्दा अग्ला वा स्ट्रक्चरल स्पान ४.५ मिटरभन्दा बढी भएका घर रहेका छन्।
यसैगरी, ‘ग’ वर्गमा भुँइतलाको क्षेत्रफल एक हजार वर्गफिटसम्म र उचाइ तीन तलासम्म वा स्ट्रक्चरल स्पान ४.५ मिटरभन्दा कम भएका भवन राखिएका छन्। ‘घ’ वर्गमा माथि तीनै वर्गमा नपरेका इटा, ढुंगा, माटो, बाँस, खर आदि प्रयोग गरी निर्माण भएका अधिकतम दुईतले घरलाई जनाइएको छ।
जुनसुकै वर्गको घर वा अन्य संरचना बनाउँदा रूख रोप्नुपर्ने व्यवस्था गरिएको छ। मापदण्डको दफा ९ को उपदफा ७ मा यस सम्बन्धी व्यवस्था गरिएको छ। यसमा भनिएको छ, ‘कुनै प्रकारको भवन वा संरचना निर्माण गर्दा आफ्नो क्षेत्रभित्र कम्तीमा दुई बिरुवा (करीब १.५ मि. उचाइ बराबर) रोप्नुपर्नेछ।’
यसका लागि वडा कार्यालयले प्रोत्साहन गर्ने मापदण्डमा उल्लेख छ। यससँगै बाटो बनाउँदा उपयुक्त स्थानमा चौतारी बनाउनुपर्ने व्यवस्था गरिएको छ। यसको उपदफा ६ मा भनिएको छ, ‘कुनै पनि बाटो बनाउँदा उपयुक्त ठाउँ हेरी चौतारीहरू बनाउन प्रोत्साहित गरिनेछ।’
महानगरले पाँचतलेभन्दा अग्ला भवन बनाउन नदिने नीति लिएको छ। पाँचतलेभन्दा अग्ला भवन बनाउँदा प्राविधिक समितिको सिफारिश चाहिने भएको छ। ‘क’ र ‘ख’ वर्गमा रहेका भवनलाई मात्रै पाँचतलेभन्दा अग्ला बनाउन अनुमति दिइनेछ।
मापदण्डको दफा ३ को उपदफा ५ मा भनिएको छ, ‘क र ख वर्गका भवन निर्माणको स्वीकृतिका लागि प्राविधिक समितिको सिफारिश चाहिने भवनहरूमा महानगरपालिकाले क वर्ग र ख वर्गका पाँच तला (१७ मि. उचाइभन्दा बढी उचाइ भएका भवन निर्माणको अनुमति दिंदा तोकिएको प्राविधिक समितिको सिफारिशमा तोकेको प्रक्रिया पूरा गरी मात्र स्वीकृति दिनेछ।’
भवनको छानामा सौर्य तापको सञ्चिति न्यून गर्न शीतल वा हरित छाना प्रविधिको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। हरित छानाको प्रयोग गर्दा मौसमी अवस्था, प्रयोगशीलता, पानीको आवश्यकता, चुहावट रोक्ने व्यवस्था, पानीको निकास, सिंचाइ र छानाको भिरालोपन ३० डिग्रीभन्दा बढी नहुने आदि विषयमा पर्याप्त ध्यान पुर्याई उपयुक्त बिरुवा छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ।
यससँगै महानगरले आफ्ना कर्मचारीलाई नक्सा डिजाइन गर्न नपाउने व्यवस्था गरेको छ। मापदण्डमा भनिएको छ, ‘महानगरपालिकाको आफ्नो कार्यक्रम बाहेकका निर्माण हुने संरचनाहरूको योजना, ढाँचा र नक्सा बनाउने कार्यमा महानगरपालिकामा कार्यरत प्राविधिक तथा अन्य कर्मचारीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुन पाउने छैनन्।’
नयाँ बनेका भवनको महानगरका प्राविधिकले जाँचपास गरेर पछि मात्रै निर्माण सम्पन्नको प्रमाणपत्र दिइने भएको छ।
पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड-२०८०