दुई-चार थान नागरिकता राख्ने सांसदलाई घरै पठाइदिऔं : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामेका वा दुई-चार थान नागरिकता राख्नेलाई संसद्बाट बिदा गरी अनुसन्धान गर्नुपर्ने धारणा राखेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकका क्रममा शून्य समयमा बोल्दै थापाले सरकारी जग्गामा आँखा गाडेका, सहकारी ठगेको आरोप लागेका र एकभन्दा बढी नागरिकता राखेको आरोप लागेकालाई संसद्बाट बिदा गरेर अनुसन्धान गर्न उचित हुने सुझाव दिएका हुन्। केही दिनदेखि संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच भइरहेको आरोप-प्रत्यारोपको सन्दर्भ उल्लेख गर्दै थापाले त्यस्तो कटाक्ष गरेका हुन्।
शून्य समयमा थापाले राखेको विचार :
विगत केही दिनदेखि यताकोले उता बसेकालाई दागी देखाउने, उताकोले यताकालाई दागी देखाउने दोहोरी चलिरहेको छ। यो पाराले त न संसद् राम्रोसँग चल्ने भयो। मूल विषय पनि छायामा पर्ने भयो।
अब यसो गर्न लगाऔं, आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस्। अख्तियारले डामेको, पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔं। अनि सहकारी ठग्ने, दुई-चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाएर अनुसन्धान गर्न लगाऔं।
यत्ति गर्न सकेदेखि के होला? निर्दोष भए फर्केर आउनुहोला। फूलमाला लगाएर स्वागत गरौंला। दोषी भए दण्ड बेहोर्नुहोला।
अलि अलि सफा गर्न सकेदेखि अनि बडो मजाले यहाँ मिटरब्याजबारे, दूध किसानले मूल्य नपाएको विषयमा, एनसेलको प्रतिवेदनका विषयमा जमेर सार्थक छलफल गर्न सकिन्थ्यो होला। होइन भने यताकोले उता देखाउने, उताकोले यता देखाउने दोहोरी चलिरहने भयो।