सगरमाथा आरोही हरिबहादुर बुढालाई दाङमा अभिनन्दन
कीर्तिमानी सगरमाथा आरोही रोल्पाको थवाङका हरिबहादुर बुढालाई दाङमा अभिनन्दन गरिएको छ।
गोर्खा ग्रूपको अगुवाइमा घोराहीमा सोमबार ३८ वर्षीय बुढालाई अभिनन्दन गरिएको हो। अभिनन्दन गर्नुअघि घोराही बजार परिक्रमा गरिएको थियो।
अभिनन्दन कार्यक्रममा बोल्दै आरोही बुढाले अपांगता भएका व्यक्ति पनि सक्षम हुन्छन् भन्ने देखाउन सगरमाथा आरोहण गरेको बताए। उनका दुवै खुट्टा छैनन्।
बेलायती सेनामा कार्यरत रहेको वेला आठ वर्षअघि अफगानिस्तानमा आक्रमणमा परी बुढाले दुवै खुट्टा गुमाएका थिए। कृत्रिम खुट्टाको सहायतामा उनी गत जेठ ५ गते सगरमाथा चढेका हुन्।
सगरमाथा आरोहण गर्नअघि सूर्यकुण्ड हिमाल र थोराङ–लाको यात्रा गरेका थिए।