१४ किलो सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ
सुन तस्करी प्रकरणमा एक जना कलेज सञ्चालकलाई पक्राउ गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पर्वतको फूलबारी-२ घर भई हाल काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई सोमबार बिहान पक्राउ गरेको हो।
दुबईबाट १४ किलोग्राम सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए। “दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए। उनी आज पक्राउ परेका छन्,” उनले भने।
उनी योजनाकार रहेको पाइएको बोगटीको भनाइ छ। गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको सीआईबीले जनाएको छ। -रासस