फेरि उठ्यो भैरवनाथ
स्थानीय उपभोक्ता समितिकै नेतृत्वका कारण भूकम्पमा क्षति पुगेको विश्वसम्पदा सूचीको भैरवनाथ मन्दिरको पुनर्निर्माण सकिनै लागेको छ।
-गाैरीबहादुर कार्की
युनेस्कोले विश्वसम्पदा सूचीमा राखेका एक हजार वर्ष पुरानो सम्पदामध्येको एक हो– भक्तपुर, टौमढी टोलमा रहेको भैरवनाथ मन्दिर ।
पाँचतले मन्दिरको दक्षिण पूर्व र टौमढी चोकको पूर्वमा रहेको भैरवनाथ मन्दिरको निर्माण ने.स. १२५ तदनुसार विक्रम संवत् १०६२ मा लिच्छवि राजा निर्भयदेवको पालामा गरिएको इतिहासकार लीलाभक्त मुनकर्मी बताउँछन् ।
भक्तपुर नगर स्थापनाको श्रेय भने लिच्छवि राजा आनन्ददेवलाई जान्छ । यी राजाले ने.स. २६७–२८७ (वि.सं. १२०३–१२२३) मा २० वर्ष लगाएर यो नगरलाई नेपाल मण्डलकै राजधानी बनाएका थिए ।
मन्दिरभित्रको एउटै भैरवनाथ मूर्तिलाई कहिले काशीको विश्वनाथ, कहिले आकाश भैरव त कहिले नृत्यनाथका रूपमा पुजिन्छ । बडादशैंको नवरात्रभर नवदुर्गा गणका प्रमुख देवता मानेर पूजा गरिन्छ । भैरवनाथको दायाँपट्टिका दुई मुकुटलाई विश्वनाथ मानिन्छ भने बायाँपट्टिका दुई मुकुटलाई भैरवनाथ । भैरवनाथमा कसैले बलि दिने भए अघिल्लो दिन नै खबर गर्नुपर्ने नियम छ । कारण, भैरवनाथको पूजाको दिन मात्र भगवानको बास विश्वनाथबाट भैरवनाथतिर सर्ने जनविश्वास रहेछ ।
बिस्केट जात्रा हेर्न आएका काशीका विश्वनाथलाई चिनेर तान्त्रिकले उनको टाउको काटेर यहीं राखेको कथन छ । भारतको केदारनाथमा झैं भैरवनाथको मन्दिरको मूर्तिमा पनि टाउको मात्रै देखिन्छ ।
निर्भयदेवको पालामा बनेको सानो भैरव मन्दिर जीर्णावस्थामा पुगेपछि राजा जगज्योति मल्लले जीर्णोद्धार गरी तीन तला बनाई सुनको छाना समेत चढाएका थिए भने उनका नाति जगतप्रकाश मल्लले ने.सं. ७८८ मा श्री आकाश भैरवको विधिपूर्वक पूजा गरी आफ्ना मन्त्री चन्द्रशेखरको समेत सुनको सालिक राख्न लगाए ।
राजा भूपतिन्द्र मल्लले ने.सं. ८३७–३८ तिर मन्दिरलाई भव्य रूप दिए । उनले तीन तहको छाना बनाउन लगाए, जसको माथिल्लो छाना भने सुनको थियो । छानामाथि सात वटा सुनको गजुर समेत राख्न लगाए । उनले बाजे जगतप्रकाश मल्लको भत्किएको सालिक पनि पुनर्निर्माण गराए ।
प्रत्येक वर्ष हुने बिस्केट जात्रा भैरवनाथकै नामबाट गरिन्छ । यही चोकबाट भैरव, भद्रकालीको रथयात्रा गरिन्छ ।
शाहकालमा राजा गीर्वाणयुद्ध विक्रम शाहका पालामा पानीले रुझेको भैरव निर्माण गरियो । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट द्वितीयाको दिन नगर परिक्रमा गराउने गरी गुठी राखे, जसलाई गीर्वाण जात्रा भनिन्छ । यो मन्दिरको पुनर्निर्माण राजेन्द्रविक्रम शाहको पालामा भएको थियो । यिनैले दक्षिणतर्फकाे प्रवेशद्वारमा १८ तथा अष्टाङ्ग भैरवहरू लगायत ढुंगाका विभिन्न मूर्ति कुँद्न लगाएका थिए । पूर्वाभिमुख द्वारको दायाँ–बायाँ स्वर्ण अभिलेख समेत राख्न लगाएका थिए ।
१९९० सालको भूकम्पमा भैरवनाथ मन्दिर जगैसम्म भत्कियो । मन्दिर पाताल भएपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले रु.६५ हजारमा पुनर्निर्माण गराएको छेभडेल अड्डाको लगतबाट देखिन्छ । मन्दिरको पूजा, पर्व, जात्रा चलाउन समय–समयमा धेरै जग्गा दिएर गुठी राखेको पाइन्छ । त्यसपछि मन्दिर जीर्ण भएपछि भक्तपुर नगरपालिकाले २०५२ सालमा रु.२९ लाख १८ हजार खर्चमा पुनः जीर्णोद्धार गरेको थियो ।
२०७२ सालको भूकम्पमा पनि यो मन्दिरमा क्षति पुग्यो । तर, २० वर्षअघिको यही जीर्णोद्धारले मन्दिर धेरै हदसम्म सुरक्षित रह्यो । २ असोज २०७५ बाट थालिएको मन्दिर पुनर्निर्माणको बाहिरी गारो र छानो लगाउने काम गएको असारमै सकिएको छ । अनुमानित लागत रु.१ करोड ४६ लाख रहेको छ । अहिले मन्दिर चिटिक्क देखिएको छ । मन्दिरको भित्री भागको काम भने केही बाँकी नै छ, जुन अहिले भइरहेको छ ।
भैरवनाथ मन्दिर निर्माण समयमै सकिन लाग्नुमा उपभोक्ता समितिको भूमिका छ । नगरपालिकाले सम्पदा जीर्णोद्धार र पुनर्निर्माणमा उपभोक्ता समितिलाई जिम्मा दिएको छ, जसमा स्थानीय कालिगड र सम्पदाविज्ञ समेतको सहभागिता छ । नाफाको उद्देश्य नराखेकाले सरकारी लागत अनुमानभन्दा कममै काम फत्ते हुने पनि पक्कापक्की छ ।
भैरवनाथ मन्दिर पछि अब पुनर्निर्माणको पालो मन्दिर पूर्वपट्टिको बेताल घर र दक्षिणतर्फको लाकोलाक्षे आगम घरको हो । यी दुवैको स्वरुप पनि भूकम्पले नै बिगारेको हो ।