लोकतन्त्रको क्षयीकरणसँगै फैलिंदै छ राजनीतिक हिन्दूत्व
महासमिति बैठकमा प्रवेश गरेको हिन्दू राज्यको अजेन्डाले नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई विभाजित बनाउँदै लगेको छ भने तराई-मधेशका गाउँ गाउँमा समस्या सिर्जना गरिरहेको छ।
पर्साका सबिर खान फागुन ८ गते मोटरसाइकल चलाएर जाँदै थिए, एकाएक हातमा लाठी र गेरु रङको झन्डा बोकेका युवाले रोके। उनीहरू खानलाई ‘जय श्री राम’ भन्न दबाब दिन्छन्।
यस घटनाको भिडिओ पनि खिचिएको छ। उनी जरुरी काममा हिंडेकाले आफूलाई हतार भइरहेको जवाफ दिन्छन्। हुलमा रहेका युवा उनीसँग बोलिरहेको भिडिओमा देखिन्छ।
“केही जरुरी छैन, जय श्री राम नभनीकन जान पाउँदैनस्,” हुलबाट एक युवा बोलेको सुनिन्छ। अर्काले उनको टाउकामा घुच्याउँछ। तेस्रो व्यक्तिले मोटो लाठी उज्याउँछ।
त्यसपछि भिडिओमा आवाज सुनिंदैन। खानलाई जान दिइएकाले भीडले भने अनुसार उनले नारा लगाएको अनुमान गर्न सकिन्छ।
उनी त्यहाँबाट हिंडेसँगै भीडले फेरि ‘जय श्री राम’ को नारा लगाएको सुनिन्छ। सडकमा टायर बालिरहेको र धूवाँ पुत्याएको दृश्य पनि भिडिओमा देखिन्छ।
भिडिओमा देखिए जस्तो घटना सीमापारि भारतमा त सामान्य नै भइसकेको छ। अब नेपालमा पनि त्यस्तै दृश्य देखा पर्न थालेका छन्। यसको अर्थ हो- भारतको हिन्दूत्ववादी अतिवाद नेपालमा फैलिइसकेको छ। त्यो खतराबारे पहिलेदेखि नै धेरै जानकारले सचेत बनाइरहेका थिए।
गत साता रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा धार्मिक दंगा भड्कियो। यो साम्प्रदायिक तनाव वीरगन्जसम्म फैलियो। उनीहरूले धार्मिक नाराबाजी गरे। भीड अनियन्त्रित हुँदै गएपछि स्थानीय प्रशासनले कर्फ्यू लगायो।
सामाजिक सञ्जालमा नेपालका हिन्दूत्ववादीको समर्थनमा अनेकौं पोस्ट गरिएको पाइन्छ। तीमध्ये प्रायले ‘नेपाल धर्मनिरपेक्ष नहुँदा नै सुन्दर थियो’ भन्ने दाबी गरेका छन्। सबैजसोले नेपाललाई पुनः हिन्दूराज्य बनाउन प्रयत्न गरेकोमा नेपाली धार्मिक अभियन्ताको प्रशंसा गरेका छन्।
वीरगन्जका पत्रकार चन्द्रकिशोरको दृष्टिमा नेपालमा राजनीतिक विचारधाराका रूपमा हिन्दूत्व अहिले पनि शिशु अवस्थामा नै छ। उनी नेपाली टाइम्समा लेख्छन्, ‘तर लोकतन्त्रको क्षयले सिर्जना गरेको उर्वरभूमिमा यसको बीज छरिएको छ।’
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा दक्षिणपन्थी हिन्दू राष्ट्रवादको उदयले नेपालमा पनि त्यस्तै विचारधारा फैलिइरहेछ। त्यो धार्मिक अतिवादसँगै राजतन्त्र पुनःस्थापनाको मुद्दा पनि जोडिएको छ।
भारतमा विपक्षी दलहरूले राजनीतिक हिन्दूत्वको उदय रोक्ने प्रयास नगरेका होइनन् तर उनीहरू असफल भए। नेपालमा भने राजनीतिक दल र तिनका नेताहरूले धार्मिक असहिष्णुता र अतिवादको उदय रोक्न खासै प्रयास गरेको देखिंदैन।
बरु केही दलले धार्मिक आस्थामा आधारित राजनीति अगाडि बढाएर धर्मनिरपेक्षता विरोधी मतलाई आफूतिर आकर्षण गर्न खोजेको देखिन्छ। कतिसम्म भने सशस्त्र संघर्षका क्रममा मन्दिर भत्काउन समेत लगाएका माओवादी अध्यक्ष एवं बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतका मन्दिरमा गेरुवस्त्रमा पूजाआजा गरे। तस्वीर खिचाए।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त भगवान् रामको जन्म नेपालमै भएको हो भन्ने दाबी गरेर भारत र नेपालका हिन्दूलाई उकास्ने प्रयास गरेकै थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि गत कात्तिकमा सर्वदलीय बैठकमा संविधानबाट धर्मनिरपेक्षता हटाउनुपर्ने मतलाई समर्थन गरेका थिए।
भर्खरै सम्पन्न कांग्रेसको महासमिति बैठकमा पनि हिन्दू राष्ट्रका पक्षमा आवाज उठेको थियो। पार्टीभित्रको धर्मनिरपेक्षता विरोधी मत उजागर गर्न देउवाको मौन सहमतिमा नै आवाज उठेको अनुमान गरिंदै छ। त्यस्तै, हिन्दू राष्ट्रवादी राप्रपाको बढ्दो लोकप्रियता पनि यसको एउटा कारण हुन सक्छ।
कांग्रेस सांसद शंकर भण्डारीले महासमिति बैठकलाई हिन्दू राज्य पुनःस्थापनाको मुद्दा उठाउने मौकाका रूपमा उपयोग गरे। जसको जवाफमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा प्रस्तुत गरेको नीतिगत प्रस्तावमा लेखेका छन्, ‘लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानको प्रलाप बढेर गएको छ।’
नेता भण्डारीको प्रस्तावलाई पार्टीको नेतृत्वपंक्तिले अस्वीकार गरेको छ। तर कांग्रेस र देउवाले अझै ठूलो मुद्दा टुंगो लगाउनुपरेको छ। देउवालाई गगन थापा जस्ता युवा नेताहरूले चुनौती दिइरहेछन्। उनीहरूले आउँदो निर्वाचनमा पार्टीले माओवादीसँगको गठबन्धन त्याग्नुपर्ने दबाब सिर्जना गरिरहेछन्।
गठबन्धन त्याग्नुपर्ने कांग्रेसभित्रको बहसले सत्ताधारी दल नेकपा (माओवादी केन्द्र)मा हलचल सिर्जना भएको छ। त्यसो त प्रधानमन्त्री दाहालले पनि गठबन्धनलाई लिएर पार्टीभित्र प्रश्न सामना गरिरहेछन्। जसले गठबन्धनभित्र समस्या सिर्जना भइरहेछ भन्ने संकेत गर्छ।
त्यस्तै, कांग्रेस महामन्त्री थापाले महासमिति बैठकमा पनि गठबन्धनको विरोध गरेका थिए। “एउटा विशेष परिस्थितिमा माओवादीसँग चुनावी गठबन्धन गर्ने बाहेक नेपाली कांग्रेससँग अर्को विकल्प थिएन। तर हाम्रा मतदाताले यसलाई हाम्रो पार्टीको सिद्धान्तमा संक्रमण भइरहेको देखेका छन्,” महासमिति बैठकमा थापाले भनेका थिए।
हालका लागि दाहाल र देउवा गठबन्धनप्रति प्रतिबद्ध नै देखिन्छन् किनभने गठबन्धन भत्किंदा दाहाल, देउवा र नेकपा (एकीकृत समाजवादी)का नेता माधवकुमार नेपालबीच भएको प्रधानमन्त्री पद आलोपालो गर्ने सम्झौता टुट्न सक्छ। छैटौं पटक प्रधानमन्त्री हुने देउवाको रहर अपूरै रहन सक्छ।
यति नै वेला कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले अर्को निर्वाचनमा एक्लै जाने प्रस्तावप्रति असहमति जनाएका छन्। निर्वाचन आउनुभन्दा चार वर्षअघि नै गठबन्धनबारे छलफल आवश्यक नभएको उनको तर्क छ।
(नेपाली टाइम्सबाट अनुवाद। शीर्षक परिवर्तन गरिएको छ। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)