काठमाडौंको ढुंगेयुगीन बस्ती- साँखु
मिहिन स्तरमा साँखुका किंवदन्ती, प्रचलन, संस्कृति आदिको समीक्षात्मक अध्ययनले यो नवपाषाणकालदेखि क्रमशः विकसित मानव बस्ती हो भन्न सकिन्छ।
दहरूपी नेपाल खाल्टाको पानी अन्तिम पटक १२ हजार वर्षअघि बाहिरिएर खेतीयोग्य जमीन भएपछि यहाँ खेती गरी बसेका आदिम जातिमध्ये किटान गर्न सकिने जाति नाग हो। महिषपालभन्दा अघि इपू १५३५ देखि ८९० सम्म (तीन हजार ५०० देखि दुई हजार ९०० वर्षअघि र त्यसभन्दा उता) यो जाति यहाँको बासिन्दा थियो।
त्यति वेला हिन्द उपमहाद्वीपमा गंगाको मध्य मैदानी भाग र त्यसको सोझो उत्तरमा भित्री हिमालयमा पनि नवपाषाणिक जनजीवन थियो। साँखु त्यही युगको हिस्सा थियो।
साँखुको प्राचीनताबारे विचार गर्दा देवी वज्रयोगिनीको चर्चा गर्नुपर्छ। साँखु र देवी वज्रयोगिनी अन्योन्याश्रित छन्।
मणिशैल महावदान ग्रन्थ अनुसार वज्रयोगिनीले आफ्ना नवौं पुस्ताका पुजारी जोगदेव वज्राचार्यलाई कलिगत संवत् १८०१ मा नगर तयार पार्न लगाई त्यसमा अयोनिज पुत्र शंखलाई राज गराइन्। त्यसैले उक्त नगरको नाम शंखपुर रह्यो। पहिलेदेखि रहेका सात गाउँ नागाँचा, गुलिमा, सास, च्वबही, गुदेख्वा, गागल र पावनालाई सम्मिलित गरी शंखपुर नगर बनाइएको थियो। शंखपुरलाई अहिले जनबोलीमा साँखु भनिन्छ। यस ग्रन्थले तीन हजार ३०० वर्षअघि साँखु बस्ती बसेको संकेत गर्छ।
वज्रयोगिनीको उत्पत्तिका सम्बन्धमा स्वयम्भूपुराणका आधारमा प्रकाशमान श्रेष्ठ ‘साँखु’ लेख्छन्- ‘परापूर्वकालमा हालको शिवपुरि जंगल सहितको मेरुदण्डबाट निर्माण गरिएको बज्र अस्त्रलाई देवासुर संग्राममा असुरपक्षलाई पराजित गरिसकेपछि विधिविधानपूर्वक गाडियो। भद्रकल्पको सत्ययुगमा सोही बज्रशक्तिबाट पञ्चरश्मी अग्नि ज्वालामुखी उत्पन्न भई कालान्तरमा वज्रयोगिनीको शक्ति उत्पन्न भएको मानिएको छ (‘मणिलिंगेश्वर वैतराग महात्म्य सहित शिवशक्तिको एक चर्चा’, लावण्य सन्देश, २०७८ श्रावण १८)। यस कथनले पुराण अनुसार यी देवी यस स्थानमा अनादिकालदेखि रहेको झल्को दिन्छ।
हिन्दू धार्मिक मान्यता अनुसार कल्प भनेको चार अर्ब बत्तीस करोड वर्ष हो। त्यस्ता महावर्षहरूमध्ये भद्र नामको कल्पमा यो घटना भएको संकेत माथिको विवरणले गर्छ। यद्यपि यो तथ्य खगोलविज्ञानका लागि मान्य हुन सक्दैन। त्यस्तै, पुराणहरूमा देवासुर संग्रामको वर्णन छ। उक्त युद्धले हिन्द उपमहाद्वीपमा आर्यको आगमनपछि यहाँका स्थानीय अनार्य जाति र देव पनि भनिने आर्यबीचको युद्धको संकेत गर्छ। यो घटना इसापूर्व २००० तिर भएको अनुमान गरिएको छ।
काठमाडौं उपत्यकाको स्थापनाकालसित सम्बद्ध सबै सामग्रीले वज्रयोगिनी देवी आरम्भदेखि नै अस्तित्वमा रहेको वर्णन गर्छन्। वज्रयोगिनीले बोधिसत्व मञ्जुश्रीलाई उपत्यकाबाट पानी बाहिर पठाउन शक्ति दिएकी, मञ्जुश्रीले उपत्यकाको पानी बाहिर पठाइसकेपछि उनै देवीको दर्शन गर्न गएका अनि मञ्जुश्री त्यहीं स्थापित भएका विश्वास साँखुवासीहरू गर्छन्। यिनको मन्दिर वज्रयोगिनीथान परिसरमा छ। महामञ्जुश्रीले राजा बनाएर गएका धर्माकरले नित्य वज्रयोगिनीको दर्शन-सेवा गरी मञ्जुपत्तन राज्यलाई वैभवशाली राखेको वर्णन पनि बौद्ध पुराणले गरेको छ (प्रकाशमान श्रेष्ठ, ऐजन)।
राजभोगमाला वंशावली अनुसार यी देवीबाट नेपाल (विशालनगर)का राजा धर्मागतदेवले वर्षौंको भक्तिबाट प्राप्त गर्न नसकेको आशीर्वाद उज्जैनका राजा विक्रमादित्य (विक्रमसेन) नेपाल आई प्राप्त गरी स्पर्शमणि समेत हात लगाई केही समय यहाँ राज्य गरी विक्रम संवत् चलाई फर्केका थिए। वंशावलीमा यसै प्रसंगमा सं(श)करदेव र मानदेवको प्रसंग आउँछ। त्यहाँ संकरदेवका छोरा धर्मागतदेव छन्। को-के भन्ने वर्णन नगरीकनै मानदेवलाई बौद्ध धर्मका अनेक पर्व चलाउने व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ (‘नेपालको इतिहास राजभोगमाला’, प्राचीन नेपाल- ८)।
वंशावलीको यस प्रसंगलाई संकेत गर्दै शिवराज श्रेष्ठले विक्रमादित्य सम्राट् समुद्र गुप्तका दोस्रो छोरा भएको अनुमान गरेका छन्। उनका अनुसार आफ्ना दोस्रा छोरा चन्द्रगुप्त (दोस्रा)को जीवन खतरामा रहेकाले छद्मनाम विक्रमसेन राखी आफ्नो मावली नेपालका तत्कालीन लिच्छवि राजा धर्मदेव (भाषा वंशावलीमा धर्मागत देव भनिएका)को संरक्षकत्वमा सम्भवतः सन् ३६३ मा नेपाल मण्डलको विशालनगरमा पठाएका हुन सक्छन् (‘विक्रम संवत्का प्रवर्धक चन्द्रगुप्त विक्रमादित्य साँखुमा’ नागरिक, २०८० मंसीर ६)।
यी विक्रमादित्य इ. ३६३ तिर आएका हुन् भने यिनी विक्रम संवत्का प्रवर्तक हुन सक्दैनन् र विक्रम संवत्का प्रवर्तक सँगसँगै मानदेवको कुरा आउँदैनथ्यो। खास्ती (बौद्ध) चैत्य निर्माणका सम्बन्धमा काठमाडौंमा प्रचलित किंवदन्तीमा पितृहत्याको पापबाट मुक्त हुन मानदेवले वज्रयोगिनीको सेवा गरेको प्रसंग पाइन्छ (ललितजंग सिजापति, नेपाली नेपाली ऐतिहासिक कथा सङ्ग्रह, नेभाप्रस, वि. २०११, पृ.७)।
भुवनलाल प्रधानको मतमा ऐतिहासिक तवरले नै मानदेवको समयमा वज्रयोगिनी देवी स्थापित रहेकी र उनको यो नामको परिकल्पना महायानी बौद्ध धर्ममा आधारित भएको हुँदा नेपालमा विक्रमको चौथो-पाँचौं शताब्दीतिर महायानी बौद्ध धर्म प्रवेश भएको ताका भएको हुनुपर्छ (नेपालको इतिहास र संस्कृतिका केही पक्ष, नेपाल प्रज्ञा-प्रतिष्ठान, वि. २०७६ दो. : पहिलो २०५५, पृ.८३)।
यी सबै कथनको निचोड के निक्लन्छ भने नेपालमा महायानी बौद्ध धर्म र लिच्छविको आगमनपूर्व नै वज्रयोगिनी देवी शक्तिशाली दैवी शक्तिका रूपमा स्थापित थिइन्। विक्रमको चौथो शताब्दीभन्दा अघि यहाँ महायानी बौद्ध धर्मको उपस्थिति नभए तापनि बौद्ध उपाख्यानले नै साँखु तीन हजार ३०० वर्षअघिको स्वीकार गर्नु, साँखुको उत्पत्ति देवासुर संग्राममा प्रयुक्त वज्रशक्तिबाट उत्पन्न भएको मान्नु आदि र यिनको थान रहेको भूगोलको अवस्थितिले यी देवी उपत्यकामा लिच्छवि र आर्यहरूको आगमनपूर्वका यहाँका अनार्य आदिवासीहरूले शक्तिरूपमा सकारेका प्रभावशाली दैवी शक्ति देखिन्छिन्। सम्भवतः यिनी गुफायुगीन देवी हुन्।
सञ्जिता आचार्य लेख्छिन्, ‘यस मन्दिर परिसरमा नौ वटा ढंगेयुगकालीन गुफाहरू रहेका छन्। ती मध्ये एउटा गुफालाई पाप धर्मको गुफा पनि भनिन्छ। यही गुफामा १२ वर्षमा वज्रयोगिनीको पूजारीहरूले नौ दिनसम्म न्यास तथा ध्यान गर्ने चलन छ। यस गुफामा छिर्न सक्ने धर्मात्मा र छिर्न नसक्ने पापी भनेर पहिचान गर्ने किंवदन्ती छ। यहाँ नौ वटा धारा पनि रहेका छन्। वज्रयोगिनी पुग्नुभन्दा पहिला महांकाल देवस्थल आउँछ र यही देवस्थलमा वज्रयोगिनीलाई पशुबली चढाउने गरिन्छ’ (‘आफ्नो भिन्न पहिचान जोगाउँदै साँखु’, सूर्य अनलाइन, २०७६ फागुन ७)।
यस उद्धरणले विभिन्न कालखण्डमा वज्रयोगिनीथानमा भएका विकास वा परिवर्तनबारे मौन संकेत गर्छ, तथापि प्रस्तुत लेखसितको मुख्य सरोकार त्यहाँका गुफा हुन्। त्यहाँ वरिपरि नौ गुफा भए पनि वास्तवमा वज्रयोगिनी रहेको शिवपुरी पहाड अनेक गुफा भएको पहाड शृंखला हो। नदी किनारलाई आधार बनाएर शिकारका लागि बसाइँ सरिरहेका पूरा र मध्य पाषाणकालीन मानिस कश्मीर, हिमाञ्चल, उत्तराखण्ड हुँदै नेपालका महाकाली, कर्णाली र गण्डकी जलाधारका बाह्य र भित्री हिमाली पाखा-दुनहरूमा फैलेर काठमाडौंसम्म पुगेका थिए। शिवपुरी शृंखलाको मध्य दक्षिणी फेदीको बूढानीलकण्ठमा पाषाणकालीन उपकरण फेला परेको तथ्यले उनीहरूको आश्रयस्थल शिवपुरीका कन्दराहरू पनि थिए भन्ने संकेत गर्छ (रामनिवास पाण्डे र दिनेशचन्द्र रेग्मी, नेपालको प्रागितिहास, नेपाली एशियाली अनुसन्धान केन्द्र, काठमाडौं, वि. २०६२, पृ. ६६)।
त्यही शृंखलाको पूर्वी फेदमा वज्रयोगिनीथानको एक-डेढ किलोमिटर मुनिबाटै साँखुको कृषियोग्य मालभूमि शुरू हुन्छ। कृषियुगीन नवपाषाणकालमा कृषि भर्खर भर्खर थाल्दा झोपडी बस्ती बनाउन नजानेसम्म उनीहरूको वासस्थल गुफा नै थिए। अतः यी देवी पूरा, मध्य वा नवपाषाणकालका गुफावासी मानिसहरूदेखिका आराध्य देवी देखिन्छिन्। त्यसैले वर्तमान पुजारीहरू १२ वर्षमा वज्रयोगिनीथानका नौमध्येकै एक गुफामा बसी देवीको ध्यान गर्छन्।
साँखुमा नाग जाति
साँखुमा आरम्भिक नवपाषाणकालदेखि नाग जातिको बसोबास देखिन्छ। शंखपुर नगर बनाउँदा गाभिएको ‘नागाँचा’ ले यहाँ नागको बसोबास भएको संकेत गर्छ। नागाँचा शब्द ‘नाग, ग्राम र चा’ मिलेर बनेको हो। द्वित्वको कारण एउटा ‘ग’ ध्वनि लोप र ‘म’ ध्वनि नासिक्यमा परिणत भयो। ‘चा’ भने नेवार भाषामा प्रायः यत्तिकै र कहिलेकाहीं लघुता जनाउन जोडिने प्रत्यय हो। साँखुबाट वज्रयोगिनी जाने बाटो पाखो जग्गामा छ जहाँ पुराना बस्तीको अवशेष भएको स्थानीयवासी साहित्यकार एवं इन्जिनीयर राजदास श्रेष्ठले बताएका थिए।
यद्यपि निश्चय नै ती अवशेष नवपाषाणकालीन चाहिं हुन सक्दैनन् किनभने अनुसन्धाता गुडरुन कोभिनसको संकेत अनुसार काठमाडौंमा नवपाषाणकालीन सामग्री फेला पर्ने सम्भावना कम छ। नाग जातिसित सम्बद्ध ठाउँलाई नाग जनाएर नामकरण गरिएका उदाहरण छन्, जस्तै नगदे (नागदेश), ठिमी, भक्तपुर।
साँखुमा नाग जातिको उपस्थितिको दोस्रो संकेत ‘स्वस्थानी व्रतकथा’ हो। यसका धेरै उपकथा स्कन्ध आदि पुराणबाटै लिइए पनि नवराज ब्राह्मणको राज्यारोहणको प्रसंग नितान्त स्वस्थान नेपालको उपज हो। गोमापुत्र नवराज बाबु खोज्ने क्रममा सालिन्य नदी किनारको लावण्य देश आइपुग्छ। लावण्य देशको प्रसंग यहाँ बाहेक अन्त कतै पाइँदैन तर सालिन्यको किनारको देश वर्तमान साँखु मानी त्यस नदी किनारमा पौष पूर्णिमादेखि एकमहीने स्वस्थानीव्रत मेला लाग्छ।
किनभने त्यहाँ नवराजकी जेठी महारानी चन्द्रावती अप्सराहरूले अचर्ना गरिरहेकी स्वस्थानी परमेश्वरीको निन्दा गरेको कारण डोलीबाट नदीमा खसी कुष्ठरोग ग्रस्त भएकी र कालान्तरमा त्यहीं परमेश्वरीको व्रत बसेपछि उद्धार भएकी कथा छ। उसलाई बोक्ने डोलेहरू मानिने ढुंगाहरू अध्यापि त्यहाँ छन् जो परमेश्वरीप्रतिको भक्तिका कारण मुक्त भएका थिए। यसअघि नै नवराज त्यहाँ आइपुगेको वेला राजा खोज्न सिंगारिएको हात्ती (नेवार स्वस्थानीकथामा किसि) अघि लगाएर मानिसहरू पछि लागिरहेका थिए (संस्कृत भाषाको स्वस्थानी व्रतकथा मैले पढेको छैन, कदाचित् त्यसको कुनै संस्करणमा ‘नाग’ पो लेखिएको छ कि!)। त्यहाँ हात्ती (किसि)ले रोजेको मानिस राजा हुने चलन रहेछ र हात्तीले नवागन्तुक नवराज ब्राह्मणलाई रोजी सुँडले उचालेर हौदामा राख्यो।
कथागत प्रतीकलाई बिन्दा हात्तीले ब्राह्मणलाई राजा रोजेको प्रसंग मननीय छ। संस्कृत र पालिमा नागको अर्थ हात्ती पनि हो। त्यसैले कथाको हात्ती नाग जाति हुन सक्ने सम्भावना छ जसलाई कालान्तरमा त्यस इलाकामा किसि भन्न थालिएको प्रतीत हुन्छ। हिन्द उपमहाद्वीपमा हात्तीको खोजमा अफ्रिकाबाट आएका मानिसलाई नाग र हात्तीलाई पनि नाग भनिएको हो। स्वस्थानी व्रतकथाको यस प्रसंगले यहाँ नाग समुदायको बसोबास भएको र उनीहरूले दक्षिणबाट आएको आर्य संस्कृतिलाई सकारेको संकेत गर्छ।
यस तथ्यलाई अहिले पनि यहाँ प्रचलित परम्पराले पनि पुष्टि गर्छ। नागहरूको पराजयसित सम्बद्ध बिस्केट जात्रा भक्तपुरमा मात्र नभई उपत्यकामा शिवपुरीको फेदीका साँखु र टोखामा पनि हुन्छ। भक्तपुरको बिस्केट जात्राका सन्दर्भमा कुनै तान्त्रिक आचार्य (वज्राचार्य)ले सर्प (अजिंगर) रूप लिएर मरेको कथा भन्छ र त्यसमा पनि देवी वज्रयोगिनी जोडिन्छिन्। यो कथा भक्तपुरसित मात्र सम्बद्ध हो, बिस्केट जात्रा मनाइने सबै ठाउँको होइन। अन्यत्र चाहिं नागेतर मानिसले नाग रानीसित विवाह गरी नागलाई मारेको कथा पाइन्छ।
साँखुको बिस्केट जात्रा राजकीय कोषबाट धानिने नभएकाले आयस्ताको अभावमा अहिले नाम मात्रको हुन्छ। सो मनाउने गुठीमा किसि, मल्ता र खानिवाः थरका नेवारहरू छन्। यस गुठीसित संलग्न हाल श्रेष्ठ वर्गमा पर्ने ‘किसि’ (हात्ती) श्रेष्ठ नेवारहरू प्रागैतिहासिक वा स्वस्थानी व्रतकथामा प्रतीक रूपमा आएको राजा छान्ने किसि (हात्ती) अर्थात् नागकै वंशज हुन सक्ने सम्भावना छ। यिनै किसिहरूको यो बस्ती वा राज्यमा कुनै ब्राह्मण कुनै समयमा हालीमुहाली हुन सफल भएको कथाको प्रतीक स्वस्थानीव्रतका नवराज ब्राह्मण हुन् भन्ने देखिन्छ। साँखुका नेवार बासिन्दामा किसि थरका वंशज हुनु महत्त्वपूर्ण छ।
प्राचीन साँखुका घर
मानव सभ्यताको विकास शुरूशुरूमा नदी किनारमै भएको प्रमाणित तथ्य हो। मध्यपाषाणकालको खाद्य सामग्री संग्रह गर्ने जीवनशैली त्यागेर नवपाषाणकालमा खेती गरेर स्थिर बस्ती बसाल्न थालेका मानिसहरूले एकीकृत सामूहिक सामाजिक जीवन बिताउन थाले, यो विश्वभरिकै नवपाषाणकालीन विशेषता हो।
हिन्द उपमहाद्वीपमा नवपाषाणकालको आरम्भ ७००० देखि १००० इपूसम्ममा पश्चिमी भागमा पहिले र पूर्वी भागमा पछि भएको पाइन्छ। पुरातात्त्विक उत्खननहरूमा मध्यगंगा मैदानमा इपू २५००-१३४५ का नवपाषाणकालीन वस्तु घाघरा (कर्णाली) किनारको चिराद (इन्डियाको बिहार प्रान्त)मा सबैभन्दा धेरै भेटिएका छन् [कामेश्वर प्रसाद, ‘विहार में भौतिक संस्कृति का पुरातात्तिक अध्ययन : प्रस्थर युग से लौह युग तक’, इतिहास (भारतीय इतिहास अनुसंधान परिषद की शोध-पत्रिका) अंक १, भाग १, इ. २००३]।
यही सेरोफेरोमा पूर्वी नेपालको नवपाषाणलाई इपू २००० देखि १००० बीचको समयमा राख्नु उचित हुन्छ। जुनसुकै अवस्थामा पनि नेपालमा इपू १००० ताका नवपाषाणकालीन बस्ती रहे होलान् भन्ने भूगर्भवेत्ताहरूको अड्कलकै आधारमा साँखु क्षेत्र इपू १५००-१००० ताकाको ढुंगेयुगदेखि निरन्तर विकास हुँदै आएको ठाउँ हो भन्ने देखिन्छ। त्यस समयमा नेपाल खाल्डोमा नाग जातिको उपस्थिति थियो भन्ने संकेत माथि भएको छ।
कृषिमा प्रवृत्त हुनुअघिसम्म आश्रय लिइरहेका वज्रयोगिनी वरपर र अझै परका शिवपुरीका गुफाहरू त्यागी मानिस हालको साँखु रहेको खेतीयोग्य फाँटिलो मालभूमिमा सरेर एकीकृत सामूहिक जीवन बिताउन थाले। साली नदी किनारको यस एकीकृत बस्तीकालमै सम्भवतः साली नदीको माथि स्थित दोभान (तारातीर्थ)मा बाँध बाँधी खेतीको लागि मात्र नभई घरायसी प्रयोजनकै लागि घरघरै पुग्ने कुलो ल्याई व्यवस्थित जीवन शैली अपनाइसकेको यहाँ उपलब्ध कुलाहरूबाट संकेत मिल्छ।
हिन्द उपमहाद्वीपको मध्यगंगा मैदानमा नवपाषाणकाल शुरू हुँदा बाँस र नरकटले बनेका वृत्ताकार तथा शीर्ष भाग शंक्वाकारका झोपडीहरू नै त्यति वेलाका मानिसका घर थिए (कामेश्वर प्रसाद, ऐजन)। सम्भवतः त्यस्तै खालका झोपडी साँखुको एकीकृत बस्तीमा पनि थिए। शंक्वाकार (शंकु+आकार) शब्द र नरकट सामग्री मननीय पक्ष हुन्। नेपालका मध्यपहाडी भागमा घुमाउने (कुँडुले/बाटुले) घर भनिने वृत्ताकार आवासको प्रचलन अद्यापि केही मात्रामा छ। यहाँका घुमाउने घरका शीर्षभाग शंक्वाकार नभई चारपाटे घरका जस्तै तेर्सो घुरीबाट पाखा झारिएका हुन्छन्।
परन्तु ढुंगेयुगमा साँखुका घुमाउने घरहरूका शीर्षभाग शंकु अथात् त्रिकोणात्मक थिए मानौं गजुर जस्ता जसरी इन्डियाको विहारका नवपाषाणकालमा थिए। यस्तो अनुमान गर्ने आधार अहिले पनि देख्न सकिने पूर्वी अफ्रिका इथियोपिया, केन्या, जाम्बिया, जिम्बावे, तान्जानिया, मलावै, सुडान आदिका आदिवासीका प्राकृतिक स्रोतसाधनले बनेका परम्परागत झोपडीहरूका शंक्वाकार छाना हुन्। किनभने नाग जातिका मानिस हिन्द उपमहाद्वीपमा हात्तीको खोजीमा पूर्वी अफ्रिकाबाट समुद्रको बाटो आएका थिए भन्ने मेरो ठम्याइ छ।
यसरी शंक्वाकार छाने झोपडीबीच परस्पर सम्बन्ध देखिन आउँछ। नागहरू यता लाग्दा सम्भवतः यो प्रविधि साथमा ल्याएका थिए र साँखुमा बसोबास गर्दा यसलाई अपनाए। यस्ता आवास वृत्ताकार भएकैले सानो हुन्छ, ठूलो क्षेत्रफलमा आवास बनाउने हैसियत र आवश्यकतासँगै यो शैली लोप हुने गरेको इतिहास अफ्रिका र नेपालसित छ।
त्यसैले नेपालका पहाडका घुमाउने घरका छाना चुच्चे नभई तेर्सो धुरीका भएका हुन्, त्यो पनि धमाधम लोप हुँदै छन्। ढुंगेयुगीन साँखुका चिटिक्क परेका शंक्वाकारका आवास खोला किनारमा कुलो सहित, मानव जीवनलाई सहज, झुरुप्प रहेको मनोहर बस्तीलाई संस्कृत भाषाको बढ्दो प्रयोगसँगै लावण्य (सुन्दर) देश भनिएको हुन सक्ने आधार पनि रहन्छ जुन शब्द स्वस्थानी व्रतकथाले टिप्यो।
शंक्वाकार शब्दले ‘साँखु’ शब्दको व्युत्पत्ति पनि संकेत गर्ने हुँदा यसको विशेष चर्चा आवश्यक छ। साँखुलाई नेवारभाषामा सँक्व भनिन्छ। सँक्वको अपभ्रंश साँखु हो भन्ने भनाइ छ। सँक्व शब्द शंक्वाकारबाट व्युत्पन्न भएको ठम्याइ मेरो छ। नेवारभाषाको सँक्वो ‘सँ’ (तिब्बत) र ‘क्व’ (मुनि) मिलेर बनेको अर्थात् ‘तिब्बत देशको मुनि’ अर्थजन्य शब्द हो भन्ने व्युत्पत्ति वा निरूक्ति बहुमान्य छ, तर त्यसो हुन सक्दैन भन्ने मेरो तर्क छ (यस तथ्यको पुष्टिका लागि लामो चर्चा गर्नुपर्ने भएकाले यसबारे छुट्टै चर्चाको सङ्कल्प सहित मूल विषयमै केन्द्रित हुन्छु)।
संस्कृत लगायत अरू शब्द पनि कथ्य नेवार जनजिब्रोले अगाडि वा पछाडिका वर्ण त्यागी छोट्याएर नयाँ शब्द विकास गरेको धेरै उदाहरण पाइन्छ। संस्कृतका अधीक, ज्ञान, जलद्रोणीबाट नेपालभाषामा धीक, ज्ञाँ, जह्रँ शब्द बनेका छन्। त्यस अनुरूप शंक्वाकारबाट नेवार जनजिब्रोले ‘शंक्वा’ मात्र लिनु नितान्त स्वाभाविक छ र सो कालान्तरमा ‘सँक्वा’ हुँदै ‘सँक्व’ हुनु सरल छ।
खस मातृभाषी जनजिब्रोले समते ‘क’ ध्वनिलाई ‘ख’ मा परिवर्तन गर्ने गर्छ, यथा ‘शंकर’ को ‘शंखर’। यसै अनुरूप नेवार भाषाको ‘सँक्व’ नेपालीमा ‘साङ्खु’ हुँदै ‘साँखु’ हुनु स्वाभाविक छ। ध्वनि परिवर्तनको यही प्रक्रियामा ‘मणिचुड महाअवदान’ मा ‘शंख’ शब्दको प्रादुर्भाव भई शङ्पुर, शंखरापुर आदि नाम विकास भएको सम्भावना छ। ‘शंक्वाकार’ मा निहित त्रिकोण अर्थको शंकु शब्दको ‘क’ ध्वनि ‘ख’ मा परिवर्तन भई शंखु वा शंख्वाकार हुँदै शंख बन्न पुगेको र नगरको नाम शङ्पुर भएको हुन सक्ने देखिन्छ। अथवा शुद्ध ‘शंख’ शब्दबाटै शंखपुर र शंखरापुर शब्द निरूक्त भएको मान्ने हो भने पनि ‘शंक्वाकार’ अवधारणाबाट विचलित हुनु पर्दैन।
शंक्वाकार जस्तो संस्कृतको क्लिष्ट शब्द सामान्य जनसाधारणलाई पाच्य नहुनु सवाभाविक हो। त्यसैले त्यस नगरका शंकु अर्थात् त्रिकोणधारी छानाका घरलाई जनजिब्रोले शंखको बिम्बबाट चिन्थे। शंख ठड्याएर राख्दा यसको चुच्चो भाग र भुक्क उठेको फेदको भाग त्रिकोणात्मक नै हुन्छ।
त्यसैले शंखको यही बिम्बलाई लिएर शंख आकारको नगर बनाइयो भनेर ‘मणिचुड महाअवदान’ र वंशावलीहरूमा पनि लेखियो। तर शब्दको निरूक्तिको इतिहास भुलेर ‘मणिचुड महाअवदान’ लिपिबद्ध हुने वेलासम्म नगरको भूकाकार शंख जस्तो भएको र शंख नामको राजालाई बनाइएकोले नगरको नाम शङ्पुर रह्यो भन्ने किंवदन्ती बनिसकेको देखिन्छ किनभने वंशावलीमा यो नगर शंकरदेव राजाले बनाएको उल्लेख छ शंख राजाले होइन।
शंकरदेव राजाले बनाएको नगरको नाम शंकरपुर हुनुपर्ने हो तर त्यहाँ पनि शंख आकारको नगर बनाइएको कुरा जोडिन आउँछ। यस ठाउँको नामको व्युत्पत्तिबारे पछि छुट्टै चर्चा गर्ने संकल्प सहित यहाँ कति मात्र उल्लेख गर्नु उपयुक्त होला भने किंवदन्तीमा शंख आकार भनेको नगरको भूधरातल नभई शंख जस्तो शीर्षभाग चुच्चो परी तलको भाग भुक्क परेका शंख आकारका घरहरू भएको नगर हो।
नरकटबाट बार-बान्ला-भित्ता
कामेश्वर प्रसादले मध्यगंगा मैदानको नवपाषाणकालीन शंक्वाकार शीर्षको आवासमा बाँस-नरकट प्रयोग हुन्छ भने जस्तै साँखुमा पनि त्यसको प्रयोग हुन्थ्यो भन्ने यहाँको गथाँमुगः पर्वको रहलपहल पुरानो बान्कीले दिन्छ। यो पर्व ढुंगेयुगको झोपडी बस्तीकालदेखिको हो, समय अनुसार यसमा अनेक पक्ष थपिंदै गयो र फलामयुगकालमा ढोकामा किला ठोक्ने आदि चलनका साथै घण्टाकर्ण राक्षसको कथासित पनि जोडियो। यस पर्वमा घण्टाकर्ण वा घण्टासु र भूत मन्साउने प्रसंग प्राचीन मल्लकालमा देखापरेको हुन सक्ने मनवज्र वज्राचार्यको संकेत छ (“‘घण्टाकर्ण’ गठेमंगलको रहस्य”, गोरखापत्र, २०२२ श्रावण ११)।
मूलमा यो मनसुनी वर्षापछि झोपडी मर्मत गर्ने ढुंगेयुगीन सामूहिक पर्व थियो। त्यसका लागि सामूहिक रूपमै नरकटहरूको थुप्रो बस्तीमा ल्याइन्थ्यो र झोपडीहरू मर्मत गरिन्थे। नरकट त्यतिखेर बार-बान्ला (भित्ता) तथा छानाका लागि प्रयोग हुने सामग्री थियो। केही दशकअघिसम्म माटाका जोर्नी भएका घरको बाहुल्य रहेको नेवार नगरबस्तीमा यस पर्वमा प्वालहरू टाल्ने तथा भत्केबिग्रेका भाग आफैंले मर्मत गर्ने चलन थियो नै। नरकटद्वारा झोपडी घर बनाउने चलन हराइसकेपछि घण्टाकर्णको मूर्ति बनाउन मात्र अहिले नरकट ल्याइन्छ।
यसै परम्परामा साँखुमा पुरानो अवशेष के बाँकी छ भने यहाँ नरकटका स्त्री र पुरुष दुई मूर्ति बनाइन्छन्। ललितपुरको हरिसिद्धिमा पनि यही परम्परा बाँकी छ। अन्यत्र धेरैजसो ठाउँमा भने घण्टाकर्ण भनी एउटा मात्र नरकटको तीन खुट्टे कंकाल ठड्याउने गरिन्छ। यदि त्यो नरकटे मूर्ति घण्टाकर्णको हो भने साँखु, हरसिद्धि आदिमा स्त्री रूपका नरकटे कंकाल बनाउनु आवश्यक हुँदैनथ्यो किनभने घण्टाकर्णको कथामा स्त्री पात्र छैन।
अतः जहाँ जहाँ स्त्री कंकाल ठड्याउने परम्परा बाँकी छ ती प्रागैतिहासिक बस्ती हुन् ढुंगेयुगीन। त्यतिखेर बाँस, नरकट, पराल आदिबाट मात्र वासस्थान बन्थ्यो जुन हरेक वर्ष मर्मत गर्न जरुरी हुन्थ्यो। त्यसैका लागि थुपारिएका नरकटबाट सम्भवतः पहिला देवपूजनकै लागि स्त्री र पुरुष मूर्ति बनाइन्थे। यो नरकटे झोपडीको घनिष्ठ सम्बन्ध शंक्वाकार छाने झोपडीसित रहन्छ।
ढिकी राख्न नहुने चलन
साँखु, नाला र पनौतीमा ढिकी राख्न नहुने संस्कृति थियो। पनौतीमा ढिकी राख्न नहुने परम्परासित सम्बन्धित कथामा नाग जाति सोझै जोडिन्छ। साखुमा यसरी जोडिंदैन।
ढिकी यन्त्रविज्ञानका दृष्टिले जटिल यन्त्र हो। जटिल यन्त्रको प्रयोग ढुंगेयुगमा हुँदैन थियो। त्यसैले ढिकी राख्नु हुँदैन भनिने नेवार बस्तीहरू ढुंगेयुगदेखिका हुन् भन्न सकिन्छ। ‘मणिशैल महाअवदान’ कै आधारमा भुवनलाल प्रधान लेख्छन्- राजा शंखदेवले न्याय-नियमपूर्वक शासन गर्दै ढिकी राख्न नपाइने त्यहाँको चलनमा १८१९ कलिगतमा एकै घरमा तीन वटा ढिकी मात्र राख्न नपाउने गरी देवीको आज्ञाबाट फुकुवा गरे (पूर्ववत्)।
कलिगत १८०१ मा बनेको नगरमा ढिकी राख्नु हुँदैनथ्यो, १८ वर्षपछि त्यो नियम फुकुवा भयो भन्ने देखिन्छ अर्थात् १८०१ भन्दा अघिदेखि नै त्यहाँ ढिकी राख्ने चलन थिएन। कलिगत मिति उपाख्यानको भएकाले यसैलाई नै ऐतिहासिक मिति मान्नु हुँदैन भन्ने संकेत माथि भइसकेको छ। यसबाट सम्भाव्य यथार्थलाई मात्र समेट्ने हो।
यो नगर बन्दा ढिकीको चलन थिएन, पछि ढिकी आयो एउटै घरमा तीन वटा राख्न नपाइने गरी। तर एउटै घरको उत्पादन तीन ढिकीमा कुटेर बिक्री वा उपभोग गर्ने युग के त्यो थियो? अर्को कुरा घरभित्रै ढिकी राख्ने क्षेत्रफलको झोपडी त्यस वेला बन्दैनथ्यो भने तीन ढिकी एकै घरमा कसरी? त्यसैले सम्भवतः कुनै घर (छाप्रो) मा लहरै तीन ढिकी राख्नु हुँदैन, बस्तीका मानिसहरूलाई बढी पायक हुने गरी भिन्दाभिन्दै ठाउँमा राखिनुपर्छ भन्ने यसको आशय हुन सक्छ। ‘मणिशैल महाअवदान’ को यस संकेतले यो नगर ढिकीको चलन नभएको आरम्भिक नवपाषाणकालबाट क्रमशः फलाम युगमा प्रवेश गरेको संकेत गर्छ। सात गाउँ मिलाएर नगर बन्नुअघि ती गाउँ आरम्भिक नवपाषाणयुगमा थिए जहाँ ढिकीको चलन थिएन।
ढिकीको काम ओखलबाट लिइनु स्वाभाविक छ, ओखल सरल यन्त्र हो। नगर बनेपछि स्वभावतः बस्ती बढ्यो र छिटै जटिल यन्त्रको प्रयोग र फलाम युगमा पनि प्रवेश गऱ्यो र ढिकी एकै ठाउँमा धेरै नराखी भिन्नभिन्न क्षेत्रमा राख्नुपर्ने नियम बन्यो। ढिकीको मुस्लीमा अचेल फलाम जडिने हुँदा ढिकी फलाम युगको जटिल यन्त्र भन्ने बुझिन्छ।
यसरी मिहिन स्तरमा साँखुका किंवदन्ती, प्रचलन, संस्कृति आदिको समीक्षात्मक अध्ययनले यो नवपाषाणकालदेखि क्रमशः विकसित मानव बस्ती हो भन्न सकिन्छ।