घनश्याम ढकालका रचनाहरूको ग्रन्थ सार्वजनिक
साहित्यकार घनश्याम ढकालको १२औं स्मृति दिवसमा उनका रचनाहरूको ग्रन्थ सार्वजनिक गरिएको छ।
ढकालका सौन्दर्यशास्त्रीय पुस्तक तथा फुटकर रचनाहरूको संकलित ग्रन्थ मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना पुस्तक सार्वजनिक गरिएको हो। कार्यक्रममा मार्क्सवादी सौन्दर्यचिन्तक तथा वरिष्ठ समालोचक मोहन वैद्यले घनश्याम ढकालको समग्र व्यक्तित्व र ढकालले सौन्दर्यशास्त्रको क्षेत्रमा पुर्याएको योगदानबारे परिचर्चा गरे।
ढकालको सामाजिक तथा राजनीतिक व्यक्तित्वबारे चर्चा गर्दै राजनीतिकर्मी सावित्रा दुराले तीन दशकअघि आफूले विद्यार्थी राजनीति थाल्दै गर्दा ढकालको वैचारिक अभिभावकत्व प्राप्त गरेको स्मरण गरिन्। समालोचक डा. धनप्रसाद सुवेदीले नेपालमा मार्क्सवादी सौन्दर्यशास्त्रको विश्लेषण गर्ने काममा र त्यसको विकासका विभिन्न प्रवृत्तिबारे समालोचना गर्ने काममा घनश्याम ढकालको योगदान विशिष्ट रहेको बताए।
मार्क्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईंले घनश्याम ढकालको बहुआयामिक व्यक्तित्वबारे चर्चा गरे। ढकालले कथा, निबन्ध, उपन्यास, कविता, सौन्दर्यशास्त्र, दर्शन जस्ता मुख्यतः ६ वटा विधामा कलम चलाउँदै आएको र मूलतः कथाकार व्यक्तित्वका रूपमा उनको परिचय विस्तारित भएको समालोचक चापागाईंको भनाइ थियो। कार्यक्रममा सुसेला संगीत समूहका कलाकारहरू अन्जानबाबु, सबिर कार्की र ठाकुर सुवेदीले ढकालरचित गीत ‘छैन विश्वास लागेको’ पनि प्रस्तुत गरेका थिए।
घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले घनश्याम ढकाल रचनावलीको पहिलो खण्डका रूपमा उनका सौन्दर्यशास्त्रीय रचनाहरूलाई संकलन गरी प्रकाशित गरेको प्रतिष्ठानका सदस्यसचिव विष्णु भण्डारीले बताए।
यस पुस्तकको सम्पादन निनु चापागाईं र लेखक वन्दना ढकालले गरेका हुन्।