खुला गरिंदै दियालो बंगला, जहाँ राजा महेन्द्रले अन्तिम सास लिए
राजा महेन्द्रले अन्तिम सास लिएको भरतपुरस्थित शीतकालीन दरबार अर्थात् दियालो बंगला अब आमनागरिकका लागि पनि खुला गरिंदै छ।
भरतपुरबाट काठमाडौं र देवघाटधाम जाने मुख्य मार्गको आडैमा छ, दियालो बंगला। राजपरिवारका सदस्यका लागि खास रहँदै आएको यो बंगला राजा महेन्द्रले २०२६ सालमा बनाउन लगाएका थिए।
राजा महेन्द्रले करीब दुई वर्ष बंगलाको प्रयोग गरे। विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ।
शिकारका शौखीन राजा महेन्द्र तराईमा शिकार खेल्न जाँदा दियालोमै बस्थे। उनको २०२८ माघ १७ मा दियालो बंगलामै निधन भएको थियो।
त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्र राजा भए। दुवै राजाले पनि दियालो बंगलाको प्रयोग गरेका थिए। पछिल्लो पटक २०६१ असोजमा तत्कालीन राजा ज्ञानेन्द्र दियालो बंगला आएका थिए।
त्यसयता दियालो बंगला बन्द छ। राजपरिवारका सदस्यको आवतजावत त रोकियो नै, सरकारले पनि वास्ता गरेन। आमनागरिकका लागि त पहिल्यैदेखि निषेध नै थियो।
अब भने सर्वसाधारणले पनि प्रवेश पाउने भएका छन्। भरतपुर महानगरपालिकाले त्यसको तयारी थालेको छ। ‘भरतपुर भ्रमण वर्ष २०२४’ का क्रममा दियालो बंगला खुला गर्न लागिएको मेयर रेनु दाहालले बताइन्। नेपाल ट्रस्टको स्वामित्वमा रहेको शीतकालीन दरबार भरतपुर महानगरको समन्वयमा खुला गर्न लागिएको हो।
नेपाल ट्रस्टको सञ्चालक समितिको ७८औं बैठकले सर्वसाधारणका लागि दियालो बंगला खुला गर्ने निर्णय गरिसकेको छ। त्यसअघि मर्मतसम्भार तथा स्तरोन्नति गर्ने तयारी भइरहेको छ। त्यसका लागि ८१ लाख ८७ हजार रुपैयाँको बोलपत्र आह्वान भएको छ।
दियालो बंगला खुलाएर सञ्चालन गर्ने विषयमा ट्रस्टसँग समन्वय भइरहेको मेयर दाहालले बताइन्। “दियालो बंगला भरतपुर भ्रमण वर्षका लागि नयाँ पर्यटकीय गन्तव्य बन्नेछ,” मेयर दाहालले हिमालखबरसँग भनिन्। “बंगलाको आवश्यक मर्मतसम्भार गरी सञ्चालनको तयारी अघि बढिसकेको छ।”
कस्तो छ दियालो बंगला?
भरतपुर महानगरपालिका-१, आँपटारी छेवैमा निकै भव्य र व्यवस्थित तवरले निर्माण गरिएको दियालो बंगला आमनागरिकले देख्न पाएका छैनन्। राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ।
दियालो बंगला क्षेत्र ५२ बिघाको छ। बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारि थप पाँच बिघा जमीन छ। नेपाल ट्रस्टले व्यवस्थापन गर्दै आएको बंगलाको सुरक्षा नेपाली सेनाले गर्छ।
बंगलाको हेरचाहका लागि हाल चार जना कर्मचारी खटाइएका छन्। यसअघि १५ जनासम्म कार्यरत रहे पनि सेवानिवृत्त हुँदै जाँदा घटेर चार जना रहेको दानबहादुर ढकाल बताउँछन्। उनी २६ वर्षदेखि हेरचाहमा खटिंदै आएका छन्। ढकालसँगै देवीबहादुर कार्की, सीताराम धामी र रामकुमार पोडे कार्यरत छन्। चारै जना बगैंचे हुन्।
उनका बुबा कर्णबहादुर ढकालले पनि लामो समय काम गरे। उनी अहिले सेवानिवृत्त भइसकेका छन्। “बुबाले महेन्द्र सरकारको पालादेखि नै काम गर्नुभयो,” ढकाल भन्छन्, “मैले ज्ञानेन्द्र सरकारका लागि काम गर्न पाएँ।”
राजकाज सम्हालेपछि ज्ञानेन्द्र भने तीन पटक दियालो बंगला पुगेका थिए। उनले बंगलामा वातानुकूलित व्यवस्था मिलाउन लगाएका थिए। त्यस्तै, नयाँ डाइनिङ हल व्यवस्था गर्न लगाएका थिए। बंगलामा नयाँ पूर्वाधार थप्न लगाए पनि उनले प्रयोग भने गर्न भने पाएनन्। २०६२/६३ मा जनआन्दोलन भयो र राजतन्त्रलाई बिदा गरेर गणतन्त्र आयो।
दियालो बंगलामा नयाँ सहित दुई वटा डाइनिङ हल, बार, राजपरिवारका सदस्यले प्रयोग गर्ने छुट्टाछुट्टै कक्ष छन्। त्यस्तै, राजाले प्रयोग गरेका पलङ पनि सुरक्षित नै राखिएका छन्। राजा महेन्द्रको निधन भएको कक्ष, डाइनिङ हल र भान्साका भाँडाकुँडा, शिकार गर्ने सामग्री, क्याम्प गर्ने संरचना पनि जोगाएर राखिएका छन्।
शीतकालीन दरबारको पहिलो तलाको ठूलो बैठक कक्षको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्वीर सजाएर राखिएको कर्मचारी बताउँछन्। राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही पनि राखिएको छ।
दरबारको छेउमै महिला सुसारेका लागि नानीगन्ज, सुरक्षा गार्डका लागि एडीसी क्वार्टर, ग्यारेज र त्यसको छेउमा स्वीमिङ पुल छ। अहिले त्यहाँ ट्रस्टको कार्यालय राखिएको छ।
बंगला परिसरमा आगो ताप्ने ठाउँ पनि बनाइएको छ। परिसरमा एकै पटक चार वटा हेलिकोप्टर अवतरण गराउन सकिन्छ।
राजा महेन्द्रको वार्षिक तिथि पारेर राजा वीरेन्द्र बंगलामा आउने गर्थे। उनी आउँदा अलि लामो समय बस्ने गरेको बंगलामा कार्यरत कार्की बताउँछन्। “एक महीनाजसो बस्दा वार्षिक तिथिमा देवघाट जाने गर्नुहुन्थ्यो,” २०४६ सालदेखि कार्यरत उनी भन्छन्, “मुमा रत्न (महेन्द्रकी पत्नी) भने आइरहनुहुन्थ्यो।”
राजा तथा राजपरिवारका सदस्य आउनुअघि राजदरबारबाटै कर्मचारी आएर सबै तयारी गर्थे। राजपरिवारका सदस्य बस्ने अवधिभरका लागि आवश्यक तयारी गरिन्थ्यो। खाद्यान्न लगायत सामग्री जुटाइन्थ्यो। “एक दिनका लागि मात्र आउँदा खाना तयार गरेर सँगै ल्याइन्थ्यो,” कार्की भन्छन्, “हामी बैठके भएर आफ्नो जिम्मेवारी पूरा गर्थ्यौं।”
राजा वीरेन्द्र र राजपरिवारका सदस्यको निधनपछि भने शीतकालीन दरबारसँगको साइनो पातलिंदै गयो। राजकाज सम्हालेको झन्डै ६ वर्षको अवधिमा ज्ञानेन्द्र भने तीन पटक मात्रै दियालो बंगला पुगे।
गणतन्त्र आएसँगै बंगला बन्द भएको थियो। कर्मचारीले सरसफाइ र बगैंचाको हेरचाह गर्दै आएका थिए। अब फेरि दियालो बंगलाले पुनर्जीवन पाउने भएको छ।