ददि सापकोटाले ल्याए ‘जीवगाथा’
लेखक ददि सापकोटाको नयाँ कृति जीवगाथा लोकार्पण गरिएको छ।
काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक सापकोटाले पुस्तक लोकार्पण गरेका हुन्। कार्यक्रममा बोल्दै वन्यजन्तुविद् सुवालले प्रकृति एवं जीवजनावर सम्बन्धी पुस्तक कम लेखिएको र त्यसमा ददि सापकोटाको जीवगाथा विशेष रहेको बताए।
त्यस्तै, पुस्तकमाथि टिप्पणी गर्दै लेखक अमर न्यौपानेले मान्छेको भन्दा वन्यजन्तुको संसारमा रमाउने सापकोटाले वन्यजन्तुबारे रमाइलो गरी लेख्ने गरेको बताए। “ददिजीको लेख्ने तरीका रमाइलो छ। पशुपन्छीका यौनजन्य स्वभावलाई विशेष किसिमले पस्किने उहाँको लेखन मलाई मन पर्छ,” न्यौपानेले भने।
वर्षौंअघि चितवनको सौरहामा बसेर पथप्रदर्शक बन्दा आफू प्रकृतिका विविध पक्षसित मोहित भएको र त्यसले आफूलाई बिस्तारै जीवजनावरतिर आकर्षित गरेको लेखक सापकोटाले बताए। वन्यजन्तुका विविध पक्षबाट आकर्षित भएर जीवगाथा लेखेको उनको भनाइ थियो।
पुस्तकमा जीवजन्तुका फरक आनीबानी, जीवनशैली र विविध क्रियाकलापबारे उल्लेख गरिएको छ। पुस्तकलाई फाइनप्रिन्टले बजारमा ल्याएको हो।